
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा सहभागी भएका हुन् ।
शुक्रबार राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित भएको उक्त उद्घाटन समारोहमा नेता किम आफ्नी बहिनी किम यो जोङसहित अन्य वरिष्ठ अधिकारीसँगै सहभागी भएको उत्तर कोरियाली समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ ।
नेता किमले मल कारखानको उद्घाटन गरेपछि उनको सम्मानमा सबैले ताली बजाएको पनि केसीएनएले उल्लेख गरेको छ ।
समाचारसहित नेता किमले रिबन काटिरहेको र आफूनजिकका मान्छेसँग हाँसिरहेको र बोलिरहेको तस्बिर पनि सार्वजनिक गरिएको छ । उनले फ्याक्ट्रीको अनुगमन गरेको तस्बिर पनि प्रकाशित गरिएको छ ।
उत्तर कोरियाको आधिकारिक रोदोङ सिनमन पत्रिकाको वेबसाइटमा प्रकाशित ती तस्बिरको स्वतन्त्र पुष्टि भने भएका छैनन् । यसअघि उनी १२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका थिए ।
लामो समयसम्म उनी कार्यक्रमहरुमा नदेखिएपछि गम्भीर बिरामी भएको अड्कलबाजीसहित समाचारहरु सार्वजनिक भएका थिए ।
खासगरी अमेरिकी अधिकारीहरुले उनी कोमामा गएको दाबी गरेका थिए । तर, दक्षिण कोरियाली नेताहरुले भने किम जोङ उन गम्भीर रुपमा बिरामी भएको कुरा सत्य नभएको बताउँदै आएका थिए ।
अप्रिल १५ मा आफ्ना दिवंगत हजुरबुवा एवं उत्तर कोरियाका संस्थापक नेता किम इल सङको जन्मजयन्ती समारोहमा सरिक नभएपछि किम जोङ उन उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी भएका थिए ।
त्यस्तै अप्रिल २५ को कोरियाली सेना स्थापना दिवसमा पनि उनी सहभागी भएका थिएनन् ।











