
साउदी अरबका अर्थमन्त्री मोहम्मद अल–जदानले कोरोनाभाइरसको संक्रमणले अर्थव्यवस्थामाथि जुन चोट पुगेको छ त्यससँग जुध्नका लागि कडा र पीडादायी निर्णय लिइने जानकारी दिए ।
शनिबार अल अरेबिया टिभीलाई दिएको अन्तरवार्तामा अल–अदानले साउदी अरबले बजेट खर्चमा भारी कटौती गर्ने जानकारी दिएको छ ।
उनले कोरोनाभाइरसको असर यसै वर्षको दोस्रो त्रैमासिकमा अर्थव्यवस्थामा स्पष्ट रुपमा देखिने बताएका छन् । अल–जदानले सबै कुरा अनुशासित ढङ्गले अघि बढाउन साउदी अरबले अब आर्थिक पाटो थप कडा बढाउने जानकारी दिए ।
साउदीका अर्थमन्त्रीले मुलुकभित्र मेगा प्रोजेक्टको खर्चमा भारी कटौली गर्ने पनि जानकारी दिए । संसारको सबैभन्दा ठूलो तेल निर्यातक देश साउदी अरब ऐतिहासिक रुपमा तेलको कमीसँग जुधिरहेको छ ।
साउदी अरबको केन्द्रीय बैंकमा विदेशी मुद्रा भण्डार मार्च महिनामा पछिल्लो २० वर्षमा सबैभन्दा तीब्र रुपमा खस्किएको छ । सन् २०११ पछि सबैभन्दा तल्लो स्तरमा आइपुगेको छ ।
तेलको मूल्य खस्किएपछि पहिलो त्रैमासिकमा ९ अर्ब डलरको बजेट घाटा भएको छ । जदानले पछिल्लो महिना नै साउदी अरबले विदेशी मुद्रा भण्डारलाई सन्तुलित बनाउन यस वर्ष २६ अर्ब डलरको ऋण लिन सकिने बताएका थिए ।











