रूसमा एकैदिन १० हजार बढीलाई कोरोना संक्रमण

रूसमा एकैदिन १० हजार बढीलाई कोरोना संक्रमण

रुसमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै साढे १० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गएको २४ घण्टामा रुसमा १० हजार ६ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।

योसँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३४ हजार ६ सय ८६ पुगेको छ । हालसम्म रुसमा कोरोनाबाट १ हजार २ सय ८० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र राजधानी मस्को हो । त्यहाँ मार्च ३० देखि अत्यावश्यक नभई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । आमनागरिकलाई मात्र होइन रूसी प्रधानमन्त्री मिखाइल मिसुस्तिन पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले अवस्था अति गम्भीर रहेको बताएका छन् । कोरोनाको संक्रमण बढेको बढ्यै भएपछि पुटिनले देशभरि मे ११ सम्मका लागि काम गर्न नपाइने समय बढाएका छन् । 

प्रतिक्रिया