
ज्ञानु सङ्गम खड्का/नेपालगन्ज : कोरोना कहरले विश्व जगतनै यतिबेला संकटमा छ। नेपाल पनि कोरोना संक्रमणका कारण गुज्रिरहेको छ। कोरोना भाइरस संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेको लकडाउन हाल जारी छ।
कोरोनाको रेड जोनमा रहेको नेपालगन्जमा त झन लकडाउनलाई कडाइ गरिएको छ। अत्यावश्यक सामान खरिदबिक्री गर्नको लागि भने यहाँको प्रशासनले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यावश्यक पसलहरु खोल्न दिएको छ। अरुबेला सुनसान रहने नेपालगन्जमा त्यहीँ ११ देखि ३ बजेको बिचमा नेपालगन्जमा धेरै भिडरहने गर्छ।
यस्तै, आइतबार नेपालगन्जको धम्बोझी स्थित सांग्रीला विकास बैंक अगाडि अत्याधिक भिड थियो वृद्ध आमाहरुको। ती वृद्ध आमाहरू आइतबार विहान ११ बज्ने बित्तिकै वृद्धभत्ता लिनको लागि उक्त बैंकमा पुगेका हुन।
ती आमाहरू मध्ये अधिकांशको मुखमा न त मास्कनै थियो, न त उनीहरूबीच सामाजिक दूरी नै। नेपालगन्जको चर्को गर्मीसंगै भोक, प्यास नभनी भत्ता लिन कुरेर बसेका थिए आमाहरु। उनीहरूलाई कोरोनाको डर भन्दा पनि भत्ता लिन छुट्ने होकि भन्ने पिरोलो थियो।
“लकडाउनका कारण पैँसा आउने ठाउँ नभएपछि यहीँ अलिकति भत्ता लिन पाएनी घर खर्च चलाउन सजिलो होला भनेर आएकी हुँ”, ती आमा मध्ये उमा यादव नाम बताउने एक आमाले भनिन, “कोरोनाले भन्दा पनि खान नपाएर मरिने होकि भन्ने डर छ। अलिअलि पाएको राहत कतिनै दिन धान्ला र। त्यसैले आफ्नो थोरै वृद्धभत्ता भएनी लिएर घरमा दिन्छु भनेर बैंकमा आएकी हुँ। तर धेरै भिड भएर अहिलेसम्म पालो पाएकी छैन।”
यसरी कोरोनाको जोखिम मोलेर भएपनि भिडमा ठेलमठेल बसेका ती आमाहरूको अनुहारमा भत्ता कतिखेर पाइएला भन्ने हतारोपन सजिलै झल्किन्थ्यो। घण्टौँ उभिएर लाइनमा बस्दा पनि पालो नआएपछि ती अधिकांश आमाहरू भुइँमै बसेका थिए। वृद्धभत्ता लिन गएका आमाहरू मात्रै नभएर पैंसा झिक्न गएका अन्य मानिसहरूका कारण पनि बैंक अगाडि एकदम ठूलो भिड देखिन्थ्यो।
नेपालगन्जमा दिनानुदिन कोरोनाका बिरामी भेटिरहेको अवस्थामा पैंसा झिक्न जाने ग्राहकहरुको भिड , त्यही पनि सामाजिक दूरी पालना नभई हुनुले उक्त सांग्रीला बैंकको व्यवस्थापन पक्षमा ठूलो प्रश्न चिन्ह खडा हुन्छ। त्यसरी बैंकका अगाडि सामाजिक दूरी कायम नरही ग्राहकहरुको ठूलो भिड हुनुमा उक्त बैंकको ठूलो कमजोरी हो।
लकडाउनको कारण नराम्रोसंग प्रभावित बनेका नेपालगन्जवासीहरुलाई अहिले लकडाउनका कारण जीवन निर्वाह गर्न एकदम कठिनाइ परिरहेको छ। विशेष गरि दैनिक मजदुरी अनि ज्याला गरि जीवन धान्नेलाई त लकडाउनले नराम्रोसंग पिरोलेको छ।











