नेपालगन्ज : केहिदिन यता नेपालगन्जको लकडाउन केही खुकुलो पारिएको छ । बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्मको लागि बाँके प्रशासनले लकडाउनलाई अत्यावश्यक सामान खरिदबिक्रीका लागि खुकुलो पार्ने निर्णय गरे संगै केही दिन यता बजारमा चहलपहल बढी रहेको छ ।
कपडा पसल तथा फेन्सी पसल, होटेल व्यवसाय बाहेकका अन्य ब्यवसाय पुर्ण वा आंशिक रुपमा खुलिरहेका छन् । नेपालगन्जको न्युरोड बागेश्वरी मन्दिर नजिक रहेको कपडा बजार हङकङ मार्केट पनि ब्यपारीहरुले बिस्तारै खुल्ने मनस्थितिमा पुगेका छन् ।

त्यहाका केही पसल आंशिक तथा केही पूरा नै खोल्दै गरेका दृश्य नागरिक समाजकर्मीको क्यामेरामा कैद भएको छ । केही दिन यता सबैजसो ब्यवसाय लकडाउन खुकुलो भए संगै खुल्ने क्रम बढे पछि न्युरोड स्थित हङकङ मार्केट समेत खुल्ने तरखरमा छन् । प्रशासनले अत्यावश्यक भनेकै कारण उनीहरु ब्यवसायलाई बन्द गर्नु परेको बताउछन् ।
तर सबैले आफ्नो ब्यवसाय सुचारु गर्दै आएको बेला उनिहरुले समेत ब्यवसाय खोल्ने जमर्को गरेका छन् । देशमा कोरोना संक्रमणको संख्या दैनिक रुपमा उकालो लाग्दै गएको छ भने संक्रमणको खतरा समेत उच्च बन्दै गएको छ ।











