तपाईँहरुले नसक्ने हो भने नयाँ कम्पनी आउँछ- अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बीमा कम्पनीहरुले आफ्नो दायरा र सेवा विस्तार गर्न नसकेको आरोप लगाएका छन् । 

बिहीबार बीमा समितिको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खतिवडाले अहिले सञ्चालनमा रहेका कम्पनीहरुले बीमाको पहुँच, दायरा र सेवा विस्तारमा ध्यान दिन नलाग्ने हो भने बजारमा नयाँ कम्पनी आउने चेतावनी समेत दिएका छन् ।

खतिवडाले बीमा कम्पनीहरुलाई लघुबीमा, कृषिबीमा, बाली तथा पशुपंक्षी बीमा लगायत बीमाका नयाँ क्षेत्रहरुमा केन्द्रित हुनुपर्ने बताए ।

‘बीमाको भएका संस्थाहरुले लघुबीमाको सेवा दिनुस्, सक्नुहुन्न अर्को संस्था खोलेर जानुस् । पुनर्बीमा कम्पनीले आफ्नो दायरा बढाउनुस् । सक्नुहुन्न, अरु संस्थाहरु खोलेर जानुस् । हामी सीमित संस्थालाई बीमाको दायरा बिस्तार गर्न लामो समय कुर्न सक्दैनौं । यति लामो सुविधा हामीलाई छैन’ उनले भने । बीमा समितिले बीमाको पुहँच २७ प्रतिशत पुर्याउने लक्ष्य लिएर अघि बढेको भए पनि बीमा कम्पनीहरु आवश्यक क्षेत्रमा पुग्न नसकेको उनको भनाइ थियो ।

बीमा सेवालाई भौगोलिक रुपमा र संस्थागत रुपमा विविधरण गर्दै जानुपर्ने उनको भनाइ थियो । विविधिकरण गर्दै जाँदा विदेशी बीमा कम्पनीसँग समेत पुनर्बीमा गर्न सकिने भए पनि बीमा कम्पनीहरुलाई सकेसम्म आफ्नै देशमा भएको पुनर्बीमा सेवालाई बढीभन्दा बढी उपयोग गर्न समेत उनले आग्रह गरे । ‘हामी हाम्रो पुनर्बीमा क्षमता बढाऔं, आवश्यक भए निजी क्षेत्रबाट नयाँ कम्पनी आउन पनि सक्नुहुन्छ । त्यसतिर हामी लागौं ।’

खतिवडाले पुनर्बीमा कम्पनीलाई विदेशी बजारबाट व्यवसाय ल्याउनेतर्फ लाग्नुपर्ने समेत बताए । ‘पुनर्बीमा कम्पनीका साथीहरुलाई मेरो आग्रह छ, हामी पसल खोल्न बसेका होइनौं । को सेवा दिन आउला र हामी बुकमा एकाउन्ट गरौंला भनेर बस्ने होइन, हामी आफैंले मार्केटिङ गर्नुपर्छ । हाम्रा सेवा प्रतिस्पर्धी र विश्वस्तरीय छन् भनेर हामीले कन्भिन्स गर्नुपर्छ । यसलाई सरकारले मूल्यांकन गर्छ, बीमा समितिले पनि यसको मूल्यांकन गरोस् ।’ 

उनले आफू अर्थमन्त्री भएर आएपछि बीमा समितिलाई दिएका सुझावहरु अहिले प्रगति विवरणमा समावेश भएकोमा खुसी लागेको भन्दै समितिको कामप्रति सन्तोष मान्न सकिने प्रशस्त ठाउँ रहेको समेत बताए । उनले बीमा समितिलाई समितिको रुपमा नभई नियामक निकायको रुपमा बीमा प्राधिकरणको रुपमा हेर्न चाहेको भन्दै त्यसका लागि बीमा विधेयकलाई छिट्टै निष्कर्षमा पुर्याउने आश्वासन समेत दिए । 

वेभिनारमार्फत् सञ्चालित भर्चुअल कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इँले नेपालमा अहिले बीमाको पुहँच २७ प्रतिशत पुगेको जानकारी दिँदै पछिल्लो समयमा बीमा बजारलाई प्रतिस्पर्धी बनाउन समितिले बीमा कम्पनीलाई सहजीकरण गर्दै र मार्गदर्शनहरु दिँदै आएको दाबी गरे । 

उनले बीमाको पहुँच विस्तार गर्न नयाँ नयाँ बीमा कार्यक्रम ल्याएको, घुम्ती कार्यक्रम सञ्चालन गरेको, नयाँ नियम र कानूनहरु तर्जुमा गर्दै गएको भन्दै अबका दिनमा अर्थमन्त्रीले भनेजस्तै बीमाको विविधिकरण गर्न र अन्तराष्ट्रिय जगतमा पुनर्बीमाको बजार खोज्नुपर्ने बताए । ‘

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र नियामकीय निकायहरुको क्षमता र सहयोग विस्तारका लागि आपसी समन्वय आवश्यक पर्ने भन्दै सबै नियामकहरुबीच बैठकको मिति तय समेत भएको भन्दै खुसी व्यक्त गरे । 

त्यस्तै, नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बीमा कम्पनीहरुले पुँजीबजारमा राम्रो हिस्सा ओगटेको र नयाँ बीमा कम्पनी समेत पुँजीबजारमा सुचीकृत हुने क्रममा रहेको भन्दै यसले पुँजी बजारको विकासमा सहयोग गर्ने अपेक्षा लिएको बताए । 

नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले कोभिड–१९ का कारण बीमा क्षेत्रमा ठूलो असर परिसकेको बताए । चैत मसान्तसम्म निर्जीबन बीमा कम्पनीहरुले २० अर्ब प्रिमियम संकलन गरेको भए पनि लकडाउनपछि यो ठप्पप्राय रहेको भन्दै अब सरकारले बीमा कम्पनीलाई आयकर र भ्याटमा छुट दिनुपर्ने बताए । उनले बीमा पुलबाट गरिएको कोरोना बीमामा ६६ हजार ८ सय ६० जनाको कोरोना बीमा भएको र ३ करोड ६३ लाख रुपैंया बीमाशूल्क संकलन भएको उनले बताए । उनले यो महामारीलाई डिजिटल बीमाको अवसरको रुपमा प्रयोग गर्न सकिने सम्भावना समेत व्यक्त गरे । 

जीबन बीमक संघका अध्यक्ष शिबनाथ पाण्डेले जीवनबीमा क्षेत्रले अहिलेसम्म करिब ३५० अर्बको बीमाशुल्क संकलन गरिसकेको बताए । उनले कोरोनाका कारण बीमाशुल्क घटेको, संस्थागत निक्षेपको ब्याजदर घटेका कारण बीमा कम्पनीहरुको बोनसदर घट्ने जोखिम रहेको र यी कारणले बीमा क्षेत्रले दिने प्रतिफल समेत घट्नसक्ने भन्दै सरकारबाट बीमा क्षेत्रले राहतको अपेक्षा गरेको बताए । उनले बैंकिङ ब्याजदर अल्पकालका लागि घटे पनि दीर्घकालका लागि घट्न नहुने उनको भनाइ थियो । 

२०२५ साल बैशाख ३० गते स्थापना भएको बीमा समितिले ५१ औं वर्ष पूरा गरी ५२ औं वर्षमा प्रवेश गरेको छ । 

प्रतिक्रिया