बाघको आक्रमणबाट घाइते श्रीसलाई एक लाख रुपैयाँ सहयोग प्रदान

नेपालगन्ज:

बाघको आक्रमणबाट घाइते श्रीसलाई एक लाख रुपैयाँ सहयोग प्रदान

खजुरा गाउँपालिकाले गत जेठ १३ गते खजुरा–३ धौलागिरीको किरणनालामा अरुको ज्यान बचाउन गएका बेला बाघको आक्रमण परेका दीपबहादुर श्रीसलाई राहत प्रदान गरेको छ ।

लामो समय भईसक्दा पनि पूर्णरुपमा स्वस्थ्य हुन नसकेका श्रीसलाई केही राहत होस् भन्ने हेतुले १ लाख रुपैयाँ गाउँपालिकाले सहयोग गरेको हो ।

खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, नेकपा खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विक, खजुरा गाउँपालिका वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतम, खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार भीम ओली, शिक्षा समिति सदस्य भक्तबहादुर केसीलगायत सोमबार श्रीसको घरमै पुगेर उक्त राहत प्रदान गरेका हुन ।

सो अवसरमा अध्यक्ष कक्षपतिले स्वास्थ्य लाभको कामना गर्दै बाँकी उपचारमा केही राहत पुग्ने भन्दै उक्त सहयोग गरिएको बताए ।

घाँटी छातीमा बाघको नग्राले गहिरो गरी चिर्नुका साथै दायाँ खुट्टाको दुई ठाउँमा गम्भीर चोट लागेका कारण श्रीस ८ महिना हुँदा पनि पूर्णरुपमा स्वस्थ्य हुन सकेका छैनन् ।

उनको दाया खुट्टामा रड राखेर अप्रेशन गरिएको र अझै केही समय लाग्ने बताइएको छ ।

बाघको आक्रमण परेका श्रीस करीब १ महिना नेपालगन्ज शिक्षण अस्पतालको उपचारपछि घर फर्किँदा पुनः जीवन पाएको भन्दै बाजा गाजाले स्वागत गरिएको थियो ।

उनी अहिले चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेका छन् ।

प्रतिक्रिया