नरैनापुरबाट २ सय ६३ जनाको स्वाब संकलन

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा कोरोना पुष्टि भएका ८ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा आज २ सय ६३ जनाको स्वाब संकलन गरिएको छ ।

हिजो कोरोना संक्रमण पुष्टि भएका ८ जना सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाले त्यहाँका ४ वटा क्वारेन्टाइनबाट स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

त्यस क्षेत्रबाट अरु थप स्वाब पनि लिइने श्रेष्ठले जानकारी दिनुभयो । वडा नम्बर २ आदर्श मावि लक्ष्मणपुरबाट ८७, वडा नम्बर ५ नेरा कृष्णा प्रावि हुलासपुर्वा ७२, वडा नम्बर ५ कै दिपेन्द्र प्रावि भगवानपुर ३९ र वडा नम्बर ६ को जय किसान मावि भोजपुरमा बनाइएको क्वारेन्टाइनबाट ६५ जनाको स्वाब लिइएको गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।

भारतबाट आउनेको संख्या बढ्दै गएपछि नरैनापुरमा अहिले ११ वटा क्वारेन्टाइन बनाइएको छ । ती ११ क्वारेन्टाइनमा ६ सय २६ जना रहेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

भारतबाट आउनेहरु बढ्दै जाँदा क्वारेन्टाइन ब्यवस्थापन गर्न चुनौति भएपनि गाउँपालिकाले सक्दो प्रयास गरिरहेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो ।

प्रतिक्रिया