बीउमा आत्मनिर्भर बन्ने कहिले र कसरी ?

रामबहादुर पुन

किसानका लागि मानो छरेर मुरी फलाउने महिना हो, जेठ र असार । पहाडी क्षेत्रका भीर पाखाहरु घाँसले हरिया भएका छन् । किसानको पाखो बारीमा धान र मकै हुर्किरहेको छ । गाउँ नै हरियाली बनेको छ । सिमी, बोडी, काक्रो, फर्सीका मुन्ठाहरु माथी माथी आकाश उक्लिरहेका छन्, मकैका बोटमा सहारा लिएर । खोला र नदीछेउको खेतमा रोपाई गर्दैछन् किसानहरु ।

तराईका किसानहरु भने धान रोप्नका लागि ब्याड (नर्सरी) राख्ने तयारी गर्दैछन् । सिचाईको व्यवस्था भएकाहरुले धानको नर्सरी राखि सकेका छन् र आकाशे पानीको भरमा खेती गर्नेहरुले बीउको जोहो गर्दैछन् । बीउ पाउन सहज छैन, किसानहरुका लागि ।

२०७६ चैत्र ११ गतेदेखि नेपालमा लकडाउन जारी छ । कोरोना भाईरसको महामारीले उद्योग, व्यापार, विद्यालय, यातायात सबै बन्द छन् । कोरोना भाईरसको महामारीले जनजीवनलाई बन्दी बनाएको छ । यो अवस्थामा कृषिप्रधान देशका सबै किसानहरुले कृषिकर्म प्रभावकारी रुपमा गर्न सकेका छैनन् ।

कृषिकार्य गर्नका लागि लकडाउनले बाधानपार्ने भने पनि ठुलो असर कृषि कार्यमा परेको छ । बाटो पार गरेर खेती गर्नेहरुलाई पुलिसले कुटेको छ । सामाजिक दुरी कायम नराखेको भन्दै गहुँ काट्ने किसानहरुलाई लखेटेको छ । बीउ बोकेका साधनहरु जिल्ला सिल हुदा अलपत्र परेका छन् ।

अन्न फलाउनका लागि चाहिने गुणस्तरिय बीउको उत्पादन, प्रशोधन, ढुवानी र वितरण प्रणालीमा बाधापुगेको छ । त्यसैगरि खेती गर्नका लागि आवश्यक कृषि औजारहरुको अभाव भएको छ । मल आपूर्तिमा अवरोध भएको छ ।

नेपालमा प्रजातन्त्र स्थापना भएदेखि कृषि उपजको आयातनिर्यातको तथ्यांकलाई अध्ययन गर्दा आयात उकालो लागिरहेको देखिन्छ र निर्यात ओरालो । तरकारी, अन्नबाली र फलफूलमा बीउमा आत्मनिर्भर हुनुपर्ने कृषिप्रधान देशको अनिवार्य सूचक हो । तर हामी बीउमा परनिर्भर भएर कृषिकर्म गरिरहेका छौं । बीउमा आत्मनिर्भर कहिले हुने? नेपाल बीउमा परनिर्भर भयो कसरि? यो अवस्था हुनुमा कसको जिम्मेवारी हो? यसको विश्लेषण गर्न जरुरी छ ।

कारण र समाधानः
१)अहिले स्थानीय जातका तरकारी र अन्नका बीउहरु किसानको हातबाट हराएका छन् । किसानहरुले हजारौं वर्षदेखि लगाउदै आएका रैथाने तरकारी र अन्नबालीका जातहरु लोप भएका छन् । रैथाने बालीलाई अपहेलना गर्ने प्रबृत्तिको विकास भएको छ । ती रैथाने बालीमा हजारौं वर्षसम्म प्रजनन (बीउबन्ने) क्षमता रहिरहने गुण छ तर त्यसको सट्टा एक पटक फलेपछि अर्कोपटक बीउबन्ने क्षमता नभएका हाईब्रिड तरकारी र अन्न बालीहरुको प्रयोग गर्ने संस्कारको विकास भएको छ । जसले बीउमा परनिर्भता बढ्दै गएको छ ।

२) कृषिको आधुनिकीकरणको नाममा भनौं या कृषिक्रान्तीको नाममा सरकारले आयातित हाईब्रिड बीउलाई प्राथमिकता दिएको छ । आफ्नो देशमा विभिन्न जातका बीउहरुको अनुसन्धान तथा विकास गर्नमा ध्यान दिएको पाईदैन । यतिबेला कोरोरा भाईरसको महामारीले लकडाउन हुदा किसानहरुले बीउपाएनन् । हाईब्रिड बीउप्रयोग गर्न बानी परेका किसानहरुले घरमा स्थानीय जातको बीउराख्ने कुरो पनि भएन । हाईब्रिड बीउ आयात भएन । बीउका लागि छट्पटिनु परेको छ । तरकारी तथा अन्नबाली भनेको उत्पादन गर्न सक्ने क्षमताको हुनुपर्छ । आफ्नो लागि आवश्यक पर्ने बीउहरु आफ्नै घरमा राख्नु पर्छ भन्ने ज्ञान हराएको छ । बीउ छनौट गर्ने सिप भएका किसानहरुले आफ्नो लागि मात्र होईन छिमेकीका लागि समेत बीउको संरक्षण गर्न आवश्यक भएको छ । बीउदेखि मलसम्म र पानीदेखि खाद्यन्नसम्म सबै बजारले खरिद गरिसकेको छ । किसानको पहुँचमा केहि छैन ।

३) हाईब्रिड बीउ असाध्यै महंगो छ । रोग किरा धेरै लाग्छ । सिचाई धेरै चाहिन्छ । उत्पादनमा हुनेमा ग्यारेन्टी हुदैन । फले पनि बीउ बन्दैन । हरेकवर्ष महंगोमा बीउ किन्नुपर्ने आर्थिक बोझथपिन्छ । अरुको भर पर्नुपर्छ । एउटा उदाहरण सम्झिए पुग्छ, पोहोर साल(२०७६ सालमा) भारतको हैदरावादबाट आयातित गरिमा धान तराईका किसानहरुले खेतमा त रोपे तर फलेन । हजारौं किसानहरुको करोडौं नोक्सानी भयो । बीउ उत्पादन गर्ने कम्पनी, बजारीकरण गर्ने एजेन्ट र स्थानीय सरकारलाई क्षतिपूर्तिका लागि निवेदन दिए तर क्षेतिपूर्ति पाएनन् । किसानहरुले स्थानीय बीउ देखि उत्पादनसम्मको लागत र हाईब्रिड बीउको उत्पादनसम्मको लागतलाई अध्ययन र विश्लेषण गर्न पनि आवश्यक छ ।

४) हुलमुलमा जीउ जोगाउनु अनिकालमा बीउ जोगाउनु भन्ने नेपाली उखानको महत्व धेरैले बुझेनौं । बुझ्ने प्रयास भएन ।भुकुम्प, बाढी, खडेरीले बीउको संकट परेको यथार्य हामीले भुलेका छौं । यो वर्ष कोरोना भाईरसको महामारीले बीउको संकट सृजना गरेको छ । जसले गर्दा यस वर्ष उत्पादनमाकमीआई खाद्य संकट पर्ने पक्का छ । किसानहरुले जुनपायो त्यहि बीउ लगाउन बाध्य छन् । हामीले आफ्नै ज्ञान, सिप र अनुभवले उत्पादनगर्दै आएका

स्थानीय जातका बीउहरुलाई सुधार गरि बढि उत्पादन दिन सक्ने बनाउने प्रयास गर्न जरुरी छ । सरकारले रणनिती बनाउन आवश्यक छ ।त्यसैगरि सामुदायिक बीउ बैंक प्रत्येक स्थानीय तहहरुमा स्थापना गरि बीउको अनुसन्धान, भण्डारण, प्रशोधन र वितरण प्रणालीको विकास गर्न आवश्यक छ ।

५) केहि कृषक समूह र सहकारीहरुको एकल प्रयासमा स्थापना भएका सामुदायिक बीउ बैंकहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन जरुरी छ । दिगो कृषि विकासका लागि स्थानीय, ज्ञान, सिप र अनुभवबाट स्थानीय जातको बीउहरु संरक्षण गर्ने उद्देश्यले स्थापना गरेका सामुदायिक बीउ बैंकहरुको क्षमता विकास गरि बीउ उत्पादन, प्रशोधन र बजारीकरणमा सहयोग गर्न आवश्यक छ । यतिबेलाको बीउको संकटलाई यी सामुदायिक बीउ बैंकहरुले केहि किसानहरुलाई बीउ उपलव्ध गराएर ठुलो योगदान पु¥याएका छन् । यसको विकासमा सबैको साथ अपरिहार्य छ ।

६) विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) महामारीले बैदेशिक रोजगारीमा गएका मध्ये करिव आधामात्रै जनसंख्या नेपालमा आयो भने पनिकरिव पन्ध्र लाख हुन्छ । बीउको अभावमाउत्पादन घट्ने त पक्का नै छ । र,खाद्यन्नको मागमा बृद्धि हुनेछ किनकि रोजगारी गुमाएर नेपाल फर्किने संख्या बढ्नेछ । मतलव भुडीको संख्या बढ्नेछ । संविधानले प्रदान गरेको सबैले खानपाउने खाद्य अधिकार संकटमा पर्नेछ । बीउ प्रतिको परनिर्भरतालाई कम गर्दै आत्मनिर्भर हुने योजना बनाई प्रभावकारी रुपमा कार्यान्वन गर्न आवश्यक छ ।

यो ख्याल गर्न जरुरी छ कि बीउमा पूर्ण रुपमा परनिर्भर भएको दिनकुनै कारणवश यस्तै खाले महाबिपत्ति आयो भने बीउ आयतपनि पूर्ण रुपमा रोकिन्छ । त्यति बेलाकृषिका सम्पूर्ण कर्म काण्डहरु ठप्प हुनेछन् ।उत्पादन गर्ने कम्पनीहरुले अत्याधिक मुल्य निर्धारण गरेर हामीलाई शोषण गर्नेछन् । कृषि क्षेत्र बिस्थापित हुनेछ ।

कृषिका लागि उर्बर भूमि बाँझै रहनेछन् । त्यसकारण बीउमा आत्मनिर्भर हुने योजना बनाई कार्यान्वयनमा लाग्नु आजको आवश्यकता हो । बीउमा आत्मनिर्भर भएपछि मात्र खाद्यन्नमा आत्म निर्भर हुन सकिन्छ अनि मात्र खाद्य सुरक्षा कायम हुन सक्छ । सबैको ध्यान जाओस् । जय कृषि ।

प्रतिक्रिया