संस्था नै नरहने अवस्था आए जागिर कसरी रहने ?

मित्रलाल सापकोटा

कोरोना भाइरसको महामारी फैलिएपछि संसारको स्वास्थ्य नै खलबलिएको छ । संसारभरी नै उद्योग व्यवसाय होटल व्यवसाय, पर्यटन व्यवसाय, हवाईसेवा देखि यातायातका सबै खाले व्यवसायहरुमा यसको प्रत्यक्ष असर परेको छ । एकातिर मान्छेलाई कसरी आफ्नो ज्यान सुरक्षित राख्ने भन्ने चिन्ता छ भने अर्कोतिर जिन्दगीका ठूलाठूला सपना बोकेर उद्योग व्यवसायको दुनियाँमा बादशाह बन्ने दौडमा पावरबे्रक नै लागेको छ ।

उद्योग व्यवसायका प्राथमिकताहरु फेरिएका छन् भने हिजो जो यस क्षेत्रको बेताज बादशाह बन्छ भन्ने थियो उसको मार्ग परिवर्तन भैसकेको छ र अर्कोले यो दौडमा मौका पनि पाएको छ । यो कोभिड–१९ को प्रभावले विश्व व्यवसायका धेरै मार्गहरुलाई डाइभर्सन गराएको छ । अर्कोतिर यसैलाई आफ्नो जिन्दगीको मुख्य लक्ष्य बनाएकाहरु र यसको भरोसामा आफ्नो चुलो बालेकाहरुको पीडा यो भन्दा पनि दर्दनाक रहेको छ ।

कोभिड–१९ का कारण अथाह सम्पति आर्जन गरेका विश्वका कम्पनीहरुले समेत भटाभट आफ्ना कर्मचारीहरु निकालेका खबरहरु दिनहुँ आइरहेका छन् । इण्डियामा मारुतीले कम्पनीले महामारीको शुरु मै दशौं हजार कर्मचारी निकाल्यो । एटलस कम्पनीले कम्पनी नै ताला लगायो । विश्वको पाँचतारे हवाई जहाज कम्पनी इमरेट्स एयरलाइनले नौ हजार कर्मचारी कटौती गरिरहेको र अमेरिकाको यूनाइटेड एयरलाइन्सले ३६ हजार कर्मचारी कटौती गर्ने खबर केहि प्रतिनिधी घटना मात्रै हुन । यस्ता नलेखिएका धेरै छन् जहाँ जागिर गुमेको छ ।

विश्व श्रमसंगठनको एउटा भनाइ अनुसार संसारमा यो कोरोनाका कारण झण्डै डेढ देखि दुई अर्ब कामदारहरु प्रभावित हुने प्रक्षेपण रहेको छ । विश्वका अति विकसित देशहरुको संगठन जी ७ का देशहरु मध्ये एक्लै अमेरिकामा मात्रै २ करोडले जागिर गुमाएका छन् भने जापानमा १७ लाख बढिले जागिर गुमाएका छन् । छिमेकी देश इण्डियामा बैसाखसम्मको एउटा तथ्यांक अनुसार १ करोड २० लाख मानिसको जागिर गएको छ ।

कोभिड–१९ को शुरुआती समयमा चीनको बुहानबाट शुरु भएको रोजगारी कटौतीको शिलशिला पछिल्लो समयमा आएर नेपालमा पनि देखियो । यहाँका होटलहरु बन्द भएपछि कर्मचारी कटौती गरिए । कतिपय साना र मझौला होटल रेष्टेरेन्टहरुमा त दोकान बन्दसँगै आफै स्वतह रोजगार गुम्यो यसमा कसैले न कटौती गर्न पर्यो न कामबाट निकाल्न । यातायात र नीजि विद्यालयहरुमा कार्यरत कर्मचारीहरु शत पैतिशत नै बेरोजगार भएका छन् ।

यहाँ भएका सानातिना उद्योगहरु पनि कर्मचारी कटौती गर्ने अवस्था आयो र त्यस्ता अस्थायी प्रकृतिका धेरै कर्मचारीहरु कामविहीन त भए भए केहि ठूला उद्योगहरु जो बन्दाबन्दीका समयमा पनि चलेका थिए तिनीहरुमा समेत आधा तलब दिएको भन्ने थुप्रै कुराहरु सुनिए । उता यातायात क्षेत्रमा रहेका झण्डै १० लाख बढि मजदूरहरुको सडकमा मोटरको चक्काजाम भएको अवस्थामा सबथोक जाम नै भएको छ । यसमा कहिँ कसैको र राज्य सञ्चालक, सरकार राजनीतिक पार्टी कसैको पनि न त चिन्ता छ न चासो । अर्कोतिर झण्डै करोडको गाडी किनेर महिनामा पाँच पालो खाएर ती गाडीवालाले कति कमाए ? कति बचाए र कति लूटे ? यसको हिसाब कहिल्यै कसैले खोज्दैन । तर मजासँग गाडीवालाले लुटे भन्ने बाहेक अर्को कुनै शब्द आजसम्म सुन्न मिलेको छैन । आज तिनै गाडीवालाहरुको गाडी त के सम्पत्ति नै लिलाम हुने अवस्था नजिकै छ ।

नीजि विद्यालयमा रहेका झण्डै ३ लाखशिक्षक र कर्मचारीहरुको जागिर पनि आज पर्यन्त कुनै टुंगो नै छैन । विद्यालयहरु बन्द छन् । कहिले खुल्ने कुनै ठेगान छैन । नीजि विद्यालयको आम्दानीको श्रोत भनेका अभिभावकहरु ह्ुन जो आफ्ना बालबालिकालाई विद्यालय नठाएको बेलाको शुल्क तिर्न जो जसले (प्याब्सन, एनप्याब्सन, सरकार, संघसंगठन ) जतिसुकै घोषणा र सहमति गरेपनि अभिभावक शुल्क तिर्न बाध्य छैनन् । यस्तो अवस्थामा उनीहरुको आम्दानीको कुनै श्रोत नभएपछि त्यहाँ कार्यरत कर्मचारीहरुको निरन्तरता रहनसक्ने कुनै आधार रहँदैन । आज जसरी समाजिक सञ्जालहरुमा हिजो लूटेको कमाएकोबाट आज तलब दिनुपर्छ भन्नेजस्ता तल्लो स्तरका शब्दहरु प्रयोगपनि प्रसस्त भएका छन् ।

यो पनि नीजि विद्यालयहरु माथि रिस फेर्ने पुरानै प्रवृतिको निरन्तरता बाहेक केहि होइन । हिजो कुन संस्थाले कति कमाए ? कति बोनस खाए ? कति घरजग्गा गाडी जोडे त्यसको लेखाजोखा गर्ने भनेको त्यो संस्थाको हरेक आर्थिक बर्षमा तयार हुने आर्थिक प्रतिवेदनले, नाफानोक्सान हिसाब र वासलातले बताउँछ । उसले सरकारलाई तिरेको संस्थागत करले बताउँछ । अर्कोतिर कुनैपनि लगानीकर्ताले लगानी लगाएपछि त्यसको न्यूनतम प्रतिफल पाएन भने व्यवसायमा उ टिकिरहन पनि सक्दैन भन्ने सम्मको झिनो कुराको पनि हेक्का नराख्नेहरुबाट यस्ता बेतुकी कुराहरु आउनु कुनै अनौठो पनि होइन ।

बिशेष गरेर नीजि क्षेत्र कै व्यवसायको विज्ञापनको भरमा बढि निर्भर रहेको मिडिया जगतका पत्रकार र कर्मचारीहरुले पनि तलब नखाएको महिनौं भएका खबर छन् । कतिपय एफ एम हरु बन्द नै हुने अवस्थामा छन् । कतिपय प्रिन्ट मिडियाका ठूला पत्रपत्रिकाहरु समेत आफ्ना पृष्ठसंख्या घटाएर या बिशेषांकहरु काटेर चलेका छन् । कतिपय मोफसलका साना साना पत्रपत्रिकाहरु त अस्तित्वका लागि सूचना बिभागमा उपस्थिती देखाउनका लागि मात्रै छापिने गरेका छन् । यहाँ पनि त्यति राम्रो रजगज छैन । अब मिडिया क्षेत्रले पनि यस नीजि क्षेत्रको योगदानको मूल्याकंन गर्दै यसलाई टिकाइ रहन काम गर्नुपर्ने बेला आएको छ जस्तो लाग्छ ।

कतिपय होटल, रेष्टुरेन्ट या कटेजले रक्सी, मासुमा ४०० प्रतिशतसम्म मूल्यबृद्धि गर्छन् तरपनि उनीहरु आज लौन नि म त सकिएँ भन्दै छन् । एकपटकको मात्रै लगानी गरेर कमाउनेहरु आज लौन नि सकिएँ भन्दै छन् । कतिपय खाद्यन्नमा तीस पैंतिस रुपैँयाको खरिद गरेर ७० रुपैँयामा बिक्रि गर्दा कति प्रतिशत मूल्यबृद्धि भयो भनेर खोजिँदैन तैपनि उनीहरु सक्किने भएँ भन्दैछन् ।

मरिमरी उत्पादन गर्ने किसानबाट दश रुपैंया किलो खरिद गरेर ६० रुपैंयामा बेच्नेहरुलाई कति मूल्यबृद्धि गरियो भनेर खोजबीन हुँदैन तर घाँटीको क्यान्सर हुनेगरि खाइनखाइ गरेर समाजमा विद्याको ज्योति छर्न लागेको पेशा र एउटा ऐना झैं देखिने गरि भएको कारोबारलाई नेपालमा राजनीतिको प्रमुख ऐजेण्डा बनाइन्छ किन ? यसैमा माथि मनग्य पैसा असुल गर्ने केहि सय विद्यालयहरुको कर्तूतलाई लिएर सिँगो नीजि विद्यालयहरुलाई लुटेराको दर्जामा राख्ने जुन परिपाटी बसेको छ त्यसले यो समाजमा शिक्षामा नीजि लगानी गर्ने कुनै पनि किसिमको वातावरण बनाउँदैन ।

जागिर कतिका गए भन्ने कुरा तपसीलको कुरा हो भन्नै पर्ने हुन्छ । किनपनि भने जागिर बचिरहनका लागि त त्यो जागिर सृजना गर्ने जुनकुनै संस्था बच्नुपर्दछ । नेपालमा यसको कसैलाई पनि न चिन्ता छ न कुनै चासो ? यहाँ विगत ४० बर्ष देखिको राजनीतिक प्रशिक्षण नै गलत भएको छ । यहाँ आफ्नो पुख्र्यौली सम्पत्ति लगाएर या आफ्नो जिन्दगी भरी देश विदेशबाट कमाएको लगानी लगाएर स्वरोजगारीको रुपमा काम गरेका लाखौं व्यक्तिहरुको व्यवसायलाई सामन्तको अड्डाको रुपमा जसरी व्याख्या गर्दै यसलाई छलबल डरधम्की जसरी हुन्छ चन्दा असुल गर्ने ठाउँ बनाइयो त्यो प्रशिक्षण नै गलत थियो ।

अर्को तर्फ यसरी गरिखानेहरु समाजका सामन्त हुन यिनीहरुसँग त लिने हो यिनलाई दिने होइन, यिनीहरुसँग लिए पछि मात्रै समाजमा अर्थतन्त्रको समान वितरण हुन्छ, समाजवाद र साम्यवाद आउँछ भन्ने मानसिकताबाट जसरी कार्यकर्ताहरुलाई र गरिखाने वर्गलाई प्रशिक्षण दिइयो यसको परिणति हो कि आज कोहि पनि उद्यमीलाई र उसको यो समाजमा भएको लगानीलाई सम्मान र संरक्षण गर्नै चाहँदैन । अझ यतिसम्म कि यसै मानसिकताबाट हुर्केका सत्ता सञ्चालकहरु समेतले करतिर्ने यी उद्यमीहरुलाई सधैं अपराधीको दृष्टिकोणबाट हेरेको पाइन्छ । यो भन्दा दुर्भाग्य नीजि क्षेत्रको लागि के हुनसक्छ ?

अब यो समाजको चिन्तन फेरिन जरुरी छ कि छैन भन्ने प्रश्न ज्वलन्त रहेको छ । हो सबै इमान्दार पनि छैनन् र सबै बैमान पनि छैनन् । यसलाई पृथकीकरण गरेर हेर्ने र व्यवहार गर्ने गर्नै पर्छ । केहि बैमानको भँगालोमा हालेर सबैको एकमुष्ट उछितो काढ्दै जाने हो भने यहाँ बिस्तारै सबै बैमानीको मार्गमा नै जानेछन् । किनकि लगानीको प्रतिफल छिटो छिटो उठाउने र त्यो व्यवसायबाट पलायन भै हाल्ने मानसिकताले काम गरेमा यदि कुनै कारण छ भने पहिलो यस्तै रवैयाको कारण नै हो ।

रोजगार दिने संस्था र प्रतिष्ठान बचाउनु पर्छ भन्ने मानसिकता आजको मितिमा हेर्ने हो भने न त्यहाँ काम गर्ने कर्मचारीको छ न त सरकारको नै । संस्था त एउटा बन्द भए अर्कोले खोलि हाल्छ नि कि कसो ? यो रहे रहोस न रहे नरहोस जागिर भने रहनै पर्छ यसका लागि अघि बढौं । कम्पनीहरुको ईँटाईँटा उक्काएर नबिकुन्जेल झण्डा गाड्न नछोडौं भन्ने प्रशिक्षणले खुब काम गरेको छ नेपालमा ।

यसैको परिणाम त हो नेपालमा रहेका ठूलाठूला सार्वजनिक संस्थानहरु, सरकारी र नीजि कम्पनीहरु बन्द भएर गए र आज पर्यन्त यो जारी छ । तिनीहरुका सम्पत्ति लिलाम भए । अब पनि हाम्रो समाज, हाम्रो कामदार बर्ग, हाम्रो सरकार निरन्तर यहि बाटोमा छ जुन बाटोबाट पुगिने भनेको संस्थाको अस्तित्व समाप्ति नै हो । नीजि क्षेत्रले थेगेको यो देशको अर्थतन्त्रमा यसैलार्इृ विस्थापन गराएर ल्याउन खोजेको समृद्धिको कथा एकादेशको कथा पनि नबानोस यहि सबै सरोकारवालालाई शुभकामना ।

प्रतिक्रिया