देशले तिमीलाई रोजेर पठाएको
माटोको रक्षाका लागि हो
जनताको दुःखमा तिम्रो आडको लागि हो
मेरो अस्मिताको रक्षामा अहोरात्र खट्न हो
तर,
तिमी त घर झगडामा पो अल्झिएर
कहिले यो टार त कहिले उटार
लफङ्काझैं निवास तिर पनि हल्लिँदै छौ रे !
मेरो गाउँको जंङ्के पिलर पल्टिँदा पनि
मेरो आँगनको ढिक गुल्टिँदा पनि
मेरो खेतको कुलोको बाँध फुटेर
खोला भरि मेरा आँसु झल्किँदा पनि
न त कान सुन्यौ तिमीले
न त तिम्रो चश्माले हेर्न दियो तिमीलाई
मेरा घरभरिका जहान थल्लिएर ओछ्यान पर्दा
मलाई एक थोपा ओखती दिएनौं किन?
मेरा गोठ भरिका डिँगा बाच्छा भोकले ड्वाँ ड्वाँ गर्दा पनि
मलाई एक मुठी घाँस काट्न सम्म जान दिएनौ
मेरो नाम्लोको बरियो चुँडिाएर
मेरो झेउवा रित्याएर
मेरो खर्पन घोप्ट्याएर
मलाई घरमा थन्काएर
तिमीले बुनेको मेरो समृद्धिको सपनामा
कति दिनअझै निदाउनु पर्नेहो ?
कहिल्यै पुरा नहुने सपना देख्दै
कति दिनअझै तिम्रो भक्ति गर्नु पर्ने हो ?
मेरै भोटले आर्जेको तिम्रो शक्तिमा
कस्तो मेरो भक्तिको अपेक्षा हो ?










