जालझेल नै भनौं

मित्रलाल सापकोटा

गज्जब छ यो दुनियाँनयाँनामयसले पाउँछ
धन प्रसाद सधैं भरि छाक टार्न मेला धाउँछ
अमर लालले यो संसारमा मर्न नपर्ने भए
वीर बहादुरहरु नै नेपालमा लाचार हुँदै गए ।
अजम्बरी मायाहरु आज प्रणय दिवसमा नै टुङ्गिए
साँस्कृतिक विरासतका धनीहरु नै नग्न भै बुङ्गिए

सुन्दरी नाम भएकाहरुको कुरुपता पनि देखियो
बैमानहरु बिजय भएका कथाहरु पनि लेखियो ।
विश्वास बहादुरहरुको बैठकमा मदिराको भतेर छ
सेनापतिको अड्डामा पनि सिपाहीको अटेर छ
समृद्धि पनि चिटिक्क परेर त्यस्तै हुन सजेकी
इन्द्रलोकबाट दरबार सजाउन एमसीसी छन् झरेकी ।
कहिले घरबार बिरानो भो आतंकको सायामा
अहिले दरबार बेनामभो त्यै द्रव्यको मायामा
बाँदरको हुल पस्यो बारीमा मकै नरहने भयो
टायरका चप्पल बेचिने पेटीहरु आज बिरानो भयो ।

झुपडीमा बुनेको सपना महल तिर गै पसेछ
उठेको क्रान्तिको ज्वाला झुपडीमा नै खसेछ
देश बनाउने शक्ति भने सातै समुद्र तरेछन्
घर सजाउने बुहारीहरु आज शहरतिर झरेछन् ।
कता गयो त्यो आफ्नोपन सबै बिराना भए
आमाको मुहार फेर्न हिँडेका ठूला घराना भए
समयको चक्र भनौं या फेरि नियतीको खेल भनौं
शब्दको फुर्का जोडेर के भनौं यो त जालझेल नै भनौं ।


प्रतिक्रिया