तथ्य खोजौ तर राजनीति नगरौं

मित्रलाल सापकोटा

भगवान रामको राज्य र जन्मस्थल ठोरी आसपास नै हुनसक्छ भन्ने बारेमा मेरा केही विश्लेषणात्मक तथ्यहरु :

१) वाल्मीकि रामायणको उत्तर काण्डमा जब भगवान रामले माता सीतालाई अयोध्याबाट बेदखल गरेर जङ्गलमा लगेर छोड्न भने पछि माता सीता वाल्मीकि आश्रममा आश्रय लिएर बसेको कुरामा कहिँ कतै विवाद छैन यो सबैमा प्रष्ट छ ।

२) त्यही आश्रममा लव र कुशको जन्म भएकोमा पनि विवाद छैन यो पनि प्रष्ट छ ।

३) वाल्मीकि आश्रम नेपालको त्रिवेणि नजिक भएको कुरामा इन्डियाले समेत कुनै बिमती जनाएको छैन ।

४) राजा रामले अश्वमेध यज्ञ गरेर छोडेको घोडालाई त्यही वाल्मीकि आश्रम नजिकमा लवकुशले समातेर राखेको र त्यहीँ अयोध्याका महारथिहरुको लवकुशसङ्ग युद्ध भएको पनि वाल्मीकि रामायणले नै पुष्टि गरेको छ ।

५) लवकुशहरु कुनै राज्यको योद्धा नभएको र धेरै ठाउँमा उनीहरुले आफ्ना राजा रामलाई सीतालाई छोड्नुको कारण सोध्ने मनसा राखेको भनिएको छ ।

६) युद्धको अन्तिममा जब राजा राम स्वयं युद्धमा आए त्यसपछि ऋषि वाल्मीकि आएर लवकुश र राजा राम बिचको युद्ध रोक्दै गर्दा लवकुशलाई भनेको कुरामा मुख्य चुरो कुरो रहेको छ जहाँ ऋषि वाल्मीकि द्वारा लवकुशलाई उनिहरु राजा रामको राज्यमा रहेको र राम लवकुशहरुको समेत राजा भएकोले राजाले आफ्नै बालक प्रजालाई प्रहार होइन रक्षा गर्नुपर्ने र बालकहरुले पनि आफ्ना राजासँग युद्ध गर्न नहुने बताइएको छ । यो सम्वाद रामानन्दकृत उत्तर रामायण टि भि सिरियलमा समेत स्पष्ट बताइएको छ ।

७)अब यो कुराबाट के स्पस्ट हुन्छ भने राम इण्डियाको वर्तमान अयोध्याका राजा थिए र उनको जन्मस्थल अयोध्या नै थियो भने उनी वाल्मीकि आश्रमको पनि राजा कसरी भए ?

८)रामायणको बालकाण्डमा जनकपुर आउँदा त्यही वाल्मीकि आश्रममा आएको प्रसङ्गले यो राज्य अयोध्याको हिस्सा होइन भन्ने प्रष्ट हुन्छ ।

९) यदि राजा रामले राज्य विस्तार गरेर त्यो आश्रम भएको क्षेत्रमा पनि कब्जा गरेको कुनै प्रसङ्ग रामायणमा छैन ।

१०) राजा रामको घोडा पहिलो पटक नै त्यो आश्रम नजिक पुगेको र लवकुशले समाएकोले त्यो राजा रामको राज्य पहिले देखि नै रहेकोे पुष्टि हुन्छ । यसको अर्थ राजा रामको राज्य वाल्मीकि आश्रम र ठोरिको अयोध्यापुरी मै हुनुपर्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । हरेक युगमा इतिहास विजेताको नै लेखिनु स्वभाविक नै हो । मुगलहरुको इन्डियामा अधिपत्य र हिन्दुहरु प्रतिको ज्यादतिको कारण इन्डियनहरु र त्यहाँका हिन्दुहरुले आफ्नो अस्तित्वको लडाइँ लामो समय लडेर आफुलाई स्थापित गराएका हुन ।

यो क्रममा राजा रामको जन्मस्थल र उनको राज्य संचालक विधिलाई इन्डियाको भविस्यको कल्पना गरिएको हुनुपर्छ र राजा रामको जन्मस्थल इन्डियामा भएको स्थापित गराएर रामराज्यको सैद्धान्तिक परिकल्पना गरिएको हुनसक्छ । यहाँ भगवान रामको जन्मस्थल यहीँ नै हो भनेर किटान गर्न नखोजेर यो बिषयमा अनुसन्धानको मार्ग तरल छ भनेको मात्रै हो । भगवान रामको जन्म जहाँ भएपनी आस्थावानहरुको आस्था र विश्वासमा कुनै कमि हुँदैन यो भने सत्य हो कि नास्तिकहरु जो रामको अस्तित्व नै मान्दैनन उनीहरुको लागि राम जन्मस्थल एउटा मुद्दा या एजेन्डा हुन सक्छ ।

एउटा लामो झण्डै ५०० बर्षको संघर्शपछी इन्डियन जुडिसरिबाट अनुमोदित रामजन्मभूमी अयोध्यामा अगस्ट ५ तारिख अर्थात यहि श्रावण २१ गते भव्य राम मन्दिरको उद्घाटन हुँदै छ जसमा अर्बौं खर्च मात्रै हुनेछैन यो स्थानलाई सिधै अन्तर्राष्ट्रिय बिन्दुमा जोडेर त्यहाँको इतिहास सधैंका लागि स्थापित गराइदै छ । यो निर्माण हुन लागेको इतिहासलाई सानोतिनो प्रमाणले उल्ट्याउन सक्ने छैन । यहाँ पनि बिजेताको इतिहास लेखिने पक्का छ । त्यसैले अनुसन्धान गरौं प्रमाण जुटाऔ तर त्यसलाई नै सत्य भनेर राजनिती गर्ने र अमूक कसैलाई देवत्वकरण नगरौ ।


प्रतिक्रिया