हामीले खासगरी हरेक अवस्थाका छ्लफल,बहस तथा राजनैतिक घटनाक्रमहरु अध्ययन गर्दा अहिले को पुस्ता जो आफैमा एउटा उर्जावान शक्ति तथा राष्ट्र निर्माणको एउटा हिस्सेदार शक्ति हो,त्यो शक्ति नै कमजोर देखिन्छ। मानौ राज्यका सबै निकायहरु बाट धेरै टाढा पुगेको यही एउटा शक्तिको बारेमा चर्चा गर्दै छु। हामीले धेरै नै बोल्ने र भन्ने गरेको कुरा अन्तर्गत यो पनि पर्दछ। त्यसकारण पनि यो विषयमा केही लेख्नु सान्दर्भिक छ। युवा शक्ति अहिले असंगठित तथा दोधार मानसिकताको चपेटामा छ,जसले गर्दा राष्ट्रभित्र हुने अनेकौं घटनाक्रम लाई खबरदारी को कमि भएको छ्।
आजको समयमा अहिलेको पुस्ता दुई धारमा बाडिएको छ। एउटा अहिलेको सबै घटनाक्रमहरु बाट टाढा रहन चाहन्छ,र कोरा कल्पनामा डुबेर सुन्दर भविस्य निर्माणमो बाटोमा अगाडि बढ्न रुचाउछ भने,अर्को अहिलेका घटनाक्रमहरु सम्बन्धि राम्रो जानकारी राख्दछ,तर खासै महत्त्व दिएर गम्भीरता देखाउदैन। यी बाहेक एउटा अर्को समुह छ,जो आफ्नो अमुल्य समय चाकडीमा बिताइरहेको। भविस्य संग नै अनविज्ञ छ। सायद यो समुह अलि बढी क्रियाशील छ। आफ्नो पुस्ता हुदै भविस्यमा नयाँ पुस्ताको लागि के कोसेली छोडेर जाने सम्मको सोच निर्माण गर्न नसक्नु अहिले को पुस्तामा देखिएको प्रमुख समस्या हो।
हुनत यो विषयमा आ-आफ्नै तर्कहरु होलान् ,तर पनि देशको महत्त्वपूर्ण शक्ति यसरी लथालिङ्ग हुदा को परिणाम सायद भावी पुस्ता को लागि समस्या बन्न सक्छ। यसरी तिन धुर्वमा जारी सामरिक सित युद्धको परिणाम र त्यसले पारेको असर अहिले नै देखिन सुरु भएको छ। खासगरी अहिले अधिकतम युवा शक्ति सुन्दर भविस्य निर्माणको निम्ति भन्दै देश बाहिर अथवा प्रदेशमा छ। प्रदेशमा बस्नेहरु को समस्या तथा भोगाइहरु पनि पहाड झै अग्ला छ्न,तर पनि एउटा आशा जिवित छ। जुन आशाले मनोबैज्ञानिक रूपमा जीवन जिउनुको सार्थकतालाई सत्य साबित गर्न खोजेको जस्तो अनुभुती हुन्छ। तर त्यो पनि एउटा कल्पना मात्र हुन जान्छ। अर्को तिर एउटा समुह छ,जुन देश भित्र हुने सबै खाले गतिविधिको राम्रो जानकारी हुँदा हुदै पनि जिवनलाई चाकडी मै बिताउन चाहन्छ। केही सामान्य अवस्थाका अवसरहरु प्राप्त गर्नु बाहेक अरु कुनै सिर्जनात्मक काम बाट पलायन छ। केहि आफ्ना कर्महरु बाट प्राप्त गर्नु भन्दा,अरुकै माध्यमबाट पाउनु र त्यो बाटोमा हिंड्नु यो समुहको विशेषता पनि हो। भने अर्को समूह जून सबै तिर बाट अलग छ। यीमध्ये सबै समुहका युवाहरु रास्ट्र निर्माण तथा देश भित्र हुने सबै असमानताको विरुद्ध आवाज उठाउन सक्दैन।
खासगरी यतिखेर युवा शक्तिको सामुन्ने केहि महत्त्वपूर्ण जिम्मेवारीहरु छ्न। सर्वप्रथम त हामीले पुरानो पुस्ताबाट के सिक्यौ,भन्ने कुराको समिक्षा गर्नु जरुरी छ। हामीले पुरानो पुस्तालाई धन्यवाद दिन जरुरी छ। अघिल्लो पुस्ताले सिकाएर गएका नैतिकता तथा इमानदारिता हाम्रो पुस्ताको लागि एउटा उर्जा हो। त्यस बाहेक संस्कार,स्वतन्त्रता,स्वाधीनता,सामाजिक न्याय,राजनैतिक दर्शन,आर्थिक नीति देखि सांस्कृतिक बिबिधता हाम्रो अग्रज पुस्ताले हामीलाई हस्तान्तरण गरेका साझा सम्पत्ति हुन। त्यसैले अग्रज पुस्ताबाट सिकेका कुराहरु को संरक्षण गर्नु आजको आवश्यकता हो। दोस्रो हामीले के गर्ने भन्ने कुराको योजना निर्माण र कार्यनयन को दिशामा जानू पर्छ। अहिले हामी अग्रज पुस्ताले हामीलाई सुम्पेर गएका सम्पत्तिको जगेर्ना गर्नु को साथै केही नयाँपन दिनपनि जरुरी छ। हामीले माथी उल्लेखित विषयवस्तु हरुको संरक्षण मात्रै पनि गर्न सक्यौ भने पनि हाम्रो पुस्ताको लागि ठुलो अवसर हो। तेस्रो अब हामीले भावी पुस्ताको लागि हस्तान्तरण गर्नु पर्ने विषयवस्तुको बारेमा एउटा साझा धारणा बनाएर जानू पर्ने देखिन्छ। ताकि भावी पुस्ताले हामीलाई नधिक्कारोस। त्यसकारण इतिहासमा हामी एउटा गम्भीर मोडमा छौ।
यो त एउटा धरातल मात्र हो। वास्तविकता भित्र लुकेको तितो तर सत्य। सायद हामी यो कुरा स्विकार्न जरुरत ठान्दैनौ। किनकि हामीलाई यस्ता कुराहरु ले खासै असर पार्दैन। हामी पनि त्यही मानसिकता र सोचाइबाट ग्रसित छौ। केहि पाउने झिनो आशामा हामी पनि त्यतै तिर भुल्छौ। हुनत इतिहासले धेरै कुराहरुको जानकारी गराएको हुन्छ। त्यसकारण हामीले अनौठो मान्नुपर्ने कारण पनि खासै देखिन्न। यति सबै हुदाहुदै पनि सचेत युवाले यस्ता खालका गलत तथा एउटा पुस्ताको नै अस्तित्व समाप्त पार्ने गरि गरिएका कामहरु लाई निस्त्रिय पारेर,एउटा असल मार्ग सहित पुस्ता हस्तान्तरण सम्मको अवस्था सम्म जानू पर्दछ।










