तरकारी बिस्कुट खल्तीमा राखौं लकडाउन खोलौं

मित्रलाल सापकोटा

कोभिड–१९ को प्रंभाव पर्न थालेपछि पछिल्लो चैत्र महिनाको ११ गतेबाट शुरु भएको लकडाउन बिभिन्न रुप र रंगमा आज पर्यन्त झन भन्दा झन कडा बन्दै सेनाको बन्दुक देखाएरै लागू गराउने सम्म आइ पुगेको छ । जनताहरु डर त्रासको वातावरणमा बाँचेको महसूस गरेका छन् भने सरकार लकडाउनबाट रोग नियन्त्रित भएको हुँकार भर्दै जनताले आफ्नो मति सुधार्न भन्दै छ । स्थानीय जनप्रतिनिधीहरुले पाइलै पिच्छे कोरोनाको व्यवस्थापन गरेको, कोरोन्टाइन बनाएर मान्छेहरुलाइ थन्काएको भन्दै उनीहरुले विश्व नै जितेको र उनीहरुले भन्दा गतिलो काम कुनै माइका लाल आएको भए पनि गर्न सक्दैनथ्यो भन्दै झण्डै आगामी चुनावको लागि अहिले नै माहोल बनाए झैं पनि गर्दैछन् ।

प्रहरी आफै संक्रमित हुँदै अझै पनि लौरो तेर्साउँदै छ सडकमा । डाक्टर र स्वाथ्यकर्मीहरु निन्याउरो मुख लगाएर जागीर पकाउँदै छन् । शिक्षकहरु पढाउन नपाएकोमा चिन्तित छन् । कोही कोही फूर्तीफार्ती गरेर दुइचार जनालाइ भच्र्यूअल विधीबाट पढाएकोलाई हामी त अप टु डेट छौं भन्दै सञ्जालमा गफिँदै छन् । नीजि विद्यालयहरु पेशाबाट नै अब कुलेलाम ठोक्ने सुरसारमा छन् । यातायात व्यवसायका सवारी साधनहरु त कबाडमा बिक्रि गर्न पर्ने अवस्थामा आइ सकेका छन् ।
यो सिँगो लकडाउनमा रातो प्लेटका गाडीहरुलाई पनि लकडाउन लागेन । किन कि यिनीहरुसँग त लकडाउन डरायो । नीजि प्रयोजनको् लागि दर्ता भएको गाडी मज्जाले मनपरी भाडा असुलेर दनदनादन गुडेर देशैभरि पुगे तर उनीहरुसँग जानेहरु र स्वंयम गाडीवालाहरुको छेउछाऊ कोरोना परेन ।

यहाँ सबैका बडो अज्जब गज्जबको पीडा छ । काला गोरा भएका छन् । कतिपयका श्रीमतीहरु श्रीमानहरुलाई आफ्नो वैवाहिक जीवन भरीको सजायँमा राख्न पाएकोमा दंग छन् । कोही कसैका घरमा अनेकौं किचलो परेर अब उप्रान्त जीवन सँगै जाने नजानेमा बिचार गर्नेमा पुगेका छन् । छोराछोरीहरु बा आमा लाई एकसाथ यसरी सँगै बसेको देखेर अचम्म मान्दै छन् । बाआमाको मोबाइल छानी छानी चलाउन पाएकोमा पनि केटाकेटीहरु खुशी छन् । कतिपय आमाहरुलाई सररर घुम्न नपाएकोमा पीडा छ भने कतिपय बा हरुलाई साँझ कटेजतिर जान नपाएकोमा पीडा छ । सबैका आ आफ्ना पीडा र खुशीका बीचमा यो दुनियाँ कभी खुशी कभी गम बनेको छ । किराना पसल चलाउने, तरकारी र फलफूल कारोबारीहरु आफ्नो व्यापार चकाचक भएकोमा दंग छन् । बेला बेलामा मन्दिरमा नरिवल पनि चढाएर मनमनै यो धन्दा अझै छ आठ महिना चले त मेरो यति कर्जा मिलाउने थिएँ या यति काम गर्ने थिँए भनेर कल्पना पनि छर्दै छन् होला । कतिले घरका तला थप्ने मौका यो भन्दा अर्को आउँदै भन्दै होलान् ।

कोरोनाको रोकथाम कसरी हुनसक्छ र मान्छेहरु कसरी बचाउन सकिन्छ भनेर सरकार पनि चिन्तित नै छ भने प्रशासन पनि लागेकै छ । यसैले त आज पनि लकडाउन जारी छ । यो कुरा हामीले बुझ्न गार्हो छैन । तर एउटा कुरा बडो अचम्म लागेको छ र त्यो कुरा आजसम्म पनि अरुले बुझेको भए भन्नुहोला तर मैले भने बुझेको छैन । त्यो कुरा यो हो कि सारा लकडाउनको यो लामो समयसम्म पनि देशमा दुइटा क्षेत्रमा कहिल्यै लकडाउन लागेन । त्यो हो किराना पसल र तरकारी फलफूलको व्यापार । किसानको खेतमा लकडाउन लाग्यो । दुधको ठेकीमा पनि लकडाउन लाग्यो । हलो कुटो, बीउ मल सबैलाई कोरोनाको लकडाउन लाग्यो । तर त्यहि चिज गाडी गाडी भरेर पारीबाट आउन लकडाउन लागेन । औषधी र अस्पताल बाहेक यी दुईटा क्षेत्रमा कहिल्यै लकडाउन लागेन । के रहेछ त भनेको यो त खानेपीने समानको ब्यापार रे । यो अत्यावश्यक वस्तु भित्र पर्ने भएकोले यसमा लकडाउन नलाग्ने ।

सरकारको ऐन, सरकारको कानून होइन पनि कसरी भन्ने ? कानूनले भनेपछि होइन भनेर भो र ? हो नि त है । तातोपानी, बेसारका चर्चा पनि खुब भयो । कतै त गुर्जो पानी खाने चर्चा पनि भयो । मास्क, सेनिटाइजर हातधुने कुरा त बिहान उठेदेखि नसुन्जेल रेडियो, टीभी, पत्रपत्रिका, छर छिमेक कहिँ कतै चर्चा नभएको पाइएन । सञ्जालका कुरा गर्ने हो भने त कोरोनाका वैधहरुको लर्को बिशेषज्ञहरु कति हो कति ? यसैमा मलाई पनि यी कोरोना बिशेषज्ञहरुको बीचमा मलाई पनि त्यस्तै एउटा विशेषज्ञ बनूँ बनूँ लागिरहेको थियो । अचानक आज विशेषज्ञ बन्ने शुत्र फुर्यो । यतिका दिनसम्म हामीले किन नबुझेको ? सरकारले किन नबुझेको कि यो तरकारीफलफूल र किराना पसलमा के छ यस्तो ताकत कि त्यहाँ कोरोना भन्ने भाइरस छिर्दैन ? सरकारले हामीलाई किन ढाँट्यो ? पहिला नै किन बताएन कि यी पसलहरुमा यो आउँदैन भनेर । यदि त्यहाँ आउँदो हो त हरेक पसल देखि भाटभटेनीसम्म भीडभाड त गज्जब छ । म पनि त त्यस्तै भीडमा गएर आएको । बेला बेलामा अरु मेरा छिमेकी पनि आनन्दसँग गएका छन् । कोही कोही त दिनहूँजसो जान्छन् । दोकानदार समान किन्न पनि गएका हुन्छन् । अनि पसलमा आउने सयौं ग्राहकसँग पैसा लिएकै छन् । समानपनि दिएकै छन् ।

त्यहाँ यो कोरोना भन्ने भाइरस नछिर्ने शक्ति कस्तो रहेछ ? यीनीहरुसँग कोरोना त डराउँदो पो रहेछ त जस्तो पो लाग्यो । त्यहीँ एक्कादुक्का मान्छे आउने हार्डवेयर, कपडा फैन्सी पसलसँग यो भाइरस किन नडराएको रहेछ ? त्यसैले त यी दोकान त बन्द छन् । खोल्यो कि सरकारी डण्डा बर्सिहाल्छ । अनि कोरोना त सरकारलाई कर बुझाउन घामपानी नभनेर धकेलाधकेल गरेर लाम लाग्दा पनि नलाग्ने रहेछ । लकडाउन नलागेको भनेको त किराना पसल, तरकारी फलफूल भो रहेछ भनेपछि केहि न केहि छ यसमा कोरोनाको ओखती छ । किन सबैथोक बन्द गरेर घर बस्ने बरु तरकारी र बिस्कुट खल्तीमा हालौं किनकि कोरोना त यति भएपछि हामीबाट टाढा भै हाल्छ नि । दोकानमा जान डराउने कोरोना हाम्रो खल्तीको तरकारी र बिस्कुट देखेपछि कसरी आउँछ ल भन्नुस त । यो छैन त गज्जबको कोरोना नुस्का ? म भएन त कोरोना बिशेषज्ञ ?

सरकार तिमीले पनि सुन अब तरकारी बिस्कुट खल्तीमा राखौं लकडाउन खोलौं ।

प्रतिक्रिया