बाबा

शुभेक्षा नेपाल
मैले यो धर्तीमा पाइला टेक्दा एउटा नयाँ नाताको जिम्मेवारी बहन गरेका मेरा बाबा,
आमा प्रसव बेदनाले र म यो नौलो वातावरणमा आउँदा रोएको बेला,

अस्पतालको इमर्जेन्सी वार्ड बाहिर १/२घन्टा पछि मेरो चिच्याहट सुनेर खुसीले तीन हात माथि उफ्रेका अरे मेरा बाबा।

म जन्मेको मिति देखि आजको दिन सम्म मैले गरेका हरेक कुरालाई डायरीमा नोट गरेर राख्ने बाबा,
दुनियाँले मलाई छोरी देखेपनि छोरा भनेरै बोलाउने र छोरा भन्दा एक मत फरक नदेख्ने मेरा बाबा।

दिनभरिको थकाइले गर्दा आएको मिठो निन्द्रा बिर्सेर म जिद्दी बच्चालाई सधैं कथा सुनाएर मात्र सुताउने मेरा बाबा,

मनमा जति पीडा भएनी मेरा अघि सधैं बत्तिसै ओटा दन्त मिलाएर मुस्कुराउने मेरा बाबा। सामान्य परिवारमा जन्मिएर अभावै अभावमा पढेपनि छोरीलाई कुनै कमी नहोस् भनी ,

१२५ सिसीको पुरानो स्पेलेनडर बाइक घसेट्दै विद्यालयमा घाँटी सुकाउँदै, चक को धूलो खाँदै पढाउने मेरा बाबा।

मलाई चाहिएको कुरा मुखबाट भुइँमा झार्न नपाउँदै तुरुन्तै अगाडि हाजिर गर्ने मेरा बाबा।चाहे आमाले कहिलेकाहीं रिसाएर म माथि हात उठाउँदा होस् या अरूले नाना थरी सुनाउँदा,

मेरो अगाडि सधैं ढाल बनेर खडा हुने मेरा बाबा।
मेरो सपना पूरा गर्नका लागि आफ्ना सपना, ईच्छा, आकांक्षा र खुसी त्यागेर दिनरात नभनी सबै कुरा मलाई समर्पित गर्ने मेरा बाबा।

इमान्दरिता र मेहनतले आफ्नो कार्यमा लागिरहँदा आफ्नै खुट्टा तान्न लागिपर्ने हरुका अगाडि पनि मन्द मुस्कान दिएर समस्या समाधान गरिदिने मेरा बाबा,

सादा जीवन उच्च विचारको गतिलो उदाहरण मेरा बाबा।
कहिलेकाहीं मनमुटाव भयोहोला,चित्त पनि दुःखएँहोला तर सधैं हजुरको लागि माया र सम्मान सबै भन्दा माथि छ मेरा बाबा,

सधैं हजुरले भनेको नमाने पनि यति कुरामा विश्वास दिलाउन सक्छु की गलत बाटो कदापि लाग्ने छैन मेरा बाबा।

सधैं भरी पूजा गरेपनि कम लाग्ने देउता सरहका पितालाई सम्झिने भनी छुट्याइएको विशेष दिन, बाबाको मुख हेर्ने दिन र कुशे औंशीको करोडौं करोडौं शुभकामना मेरो बाबा ।
(ठाकुरबाबा-१,भुरिगाउँ,बर्दिया)

प्रतिक्रिया