सात समुन्द्र वारिबाट उद्धारका लागि सरकारलाई खुला पत्र

रामबहादुर पुन

प्रिय मेरो सरकार,
सात समुन्द्र वारिको पिडा, आँशु, रोदन, बिलौना र आक्रोशका भावनाहरु पोखिएको खुला पत्र कोर्दैछु । रोग, भोक र शोकको आगोमा जल्दै गरेको एक अलपत्र बिदेशी श्रमिकको उद्धार पक्कै हुनेछ भन्ने विश्वासले बाँचिरहेको छु ।

म गरिबी, अभाव र भोकमारीको पिडाले रन्थनिदै बिदेशी भूमिमा रगत र पसिना बगाउन आएको हुँ । यो मेरो रहर होईन बाध्यता हो । कोरोना महामारीले मेरो रोजीरोटी खोसिदियो । न म सात समुन्द्र पार गरि हिडेर आफ्नो भूमिमा पुग्न सक्छु, न हाँसीखुशी पराई भूमिमा बाँच्न सक्छु । आँशु चुवाईरहेको छु दिनरात । मनभरि सजिएका सपनाहरु चकनाचुर भएका छन् ।

सरकार, मेरो आँखा अगाडी र पछाडी कोरोना उभिएको भान भैरहेको छ । कोरोना महामारीको आगोको बिचमा उभिएको छु । मलाई जलाई जलाई खाँदैछ । यो निष्ठुरी स्वभावको छ । कसैलाई पनि दयामाया गर्दैन । मलाई चपाउनका लागि पालो कुरेर बसेको छ । सपनीमा सयौं पटक बोलाई सक्यो । लामा लामा दाह्राले चपाएर खाईसक्यो । कोरानाको डरले ऐँठन पर्दा धन्नै धन्नै सास रोकिन्छ । मुटुको धट्कन बन्द भईदिन्छ ।

सरकार, कहालीलाग्दो कालकोठरीमा निसास्सिएको छु । मेरै आँखा अगाडी एक एक गरि चपाईरहेको छ मानवहरुलाई । भाग्दा भाग्दै, कराउदा कराउदै र अनुय विनय गर्दागर्दै पनि केहि लागेन । खडेरीमा सल्केको आगोले सारा बन सखाप पारे जसरि मानव बस्तीलाई सखाप पारिरहेको छ । र, पनि म आजसम्म बाँकी छु । पागल सरि बाँचिरहेको छु । मेरो सरकारले बचाउँला भनेर बाटो कुरेर बसिरहेको छु । मेरो सरकारले उद्धारमा अझैं बेवास्ता ग¥यो भने शोक र भोकले लिने पक्का छ ।

सरकार, मेरो मन असाध्यै अत्तालिएको छ ।भक्कानिएर रोईरहेको छ । जन्मभूमिको माटो छुने मन छ । आफ्नै पाखा पखेरो, पानी पँधेरो र सालनाल गाडेको माटोमा मर्न मन लागेको छ । डाँडामाथीकोघाम सरिका बाआमाको काखमा लुरीबुरी गर्न मन छ । सम्भावित मृत्युबाट छुट्कारा पाउन सरकारलाई बिन्ती पत्र कोर्दै छु, मध्यरातमा ।

सरकार, मैले महिनाको दुई दुई पटक उद्धारका लागि अनुरोध पत्र, बिन्ती पत्र, ज्ञापन पत्र र सुझाबहरु पठाउदै आएको छु । आशा र भरोसाका भावनाहरुले कोरिएका पत्रहरु कुन रद्धीको टोकरी मिल्काईए मलाई थाहा छैन । सजिलोमा त मैले रगत र पसिना बगाईराखेँ, पराई भूमिमा । दिनरात बगाएको रगत र पसिनाको मुल्यले मेरो घर मात्र चलेन, मैले दिएको रेमिट्यान्सले मन्त्री र कर्मचारीको पारिश्रमिक र भत्ता पनि पाकेको छ । किन ख्याल नगरेको ?
सरकार, आफ्नो देशका नागरिकहरु पराई भूमिमा फस्दा उद्धार गर्ने जिम्मेवारी सरकारको होईन र ? आफ्ना नागरिकलाई काम दिन नसकेर बिदेशमा पठाउने सरकारले नागरिकको रगत र पसिनाबाट आर्जित रेमिट्यान्स लिन मात्र जान्ने अनि उद्धार र सुरक्षा नगर्ने किन? कि मेरो देशको नागरिक होईन भन्नु प¥यो कि सास छँदै उद्धार गर्नुप¥यो । नत्र भने म बिदेशी भूमिमा मर्ने पक्का छ ।

नागरिक भोकै बस्दा खाना दिने सरकारको जिम्मेवारी हो । विरामी पर्दा औषधि उपचार गर्ने दायित्व सरकारको नै हो । विपतमा फस्दा उद्धार गर्ने जिम्मेवारी सरकारकै हो । खै त जिम्मेवारी निभाएको ?

सरकार, सुखी नेपाली समृद्ध नेपालको नारा लगाउदैमा जिम्मेवारी पुरा कसरि हुन्छ र ? म जस्तै लाखौं नेपालीहरु उद्धारको प्रतिक्षामा ब्याकुल बन्दैछन् । शोक, भोक र प्यासले छट्पटाईरहेकाछन् । उद्धारको प्रतिक्षामा महिनौं विताउदा पनि कानमा तेल हालेर बस्ने सरकार बिरुद्ध चर्का चर्का नाराहरु लगाउनेछन् प्राण छोड्नु अघि । जनस्तरमा सरकारको व्यापक आलोचना हुनेछ । देशको बेईज्जत हुनेछ । केहि बेईज्जतबाट जोगिन र केहि ईज्जत कमाउन त सकोस् मेरो सरकारले । मेरो अपेक्षा छ ।

सरकार, नागरिकले सँधैं माग्दैनबरु राज्यलाई केहि दिने प्रयास गर्छ। मेरो सरकारले मलाई नागरिकता दियो । त्यसपछि बिदेशमा गएर काम गर्नलाई राहदानी दियो । त्यो पनि सित्तैमा होईन, दश हजारमा । खाना पुग्ने खेत किन्ने सपनामा हल गोरु बेचेर राहदानी लिएको हुँ सरकारबाट । मैले मात्र बिदेशी भूमिमा तीन वर्ष रगत र पसिना बगाएको छु । मेरो नामबाट जम्मा भएको रेमिट्यान्सको हिसाव सरकारलाई जानकारी छ कि छैन ?जुन सरकारको वार्षिक बजेटमा मिसिएको छ । बिदेशीएका लाखौं नेपालीको रगत र पसिनाको मुल्य मिसिएको छ ।

कसैले पनि कल्पना नगरेको कोराना भाईरसको महामारीफैलियो विश्वभरि । मैले आज सरकारसँग केहि मागेको छैन । खाली आफ्नो माटोमा आउने अनुमति मागेको छु । खाडीको चर्को घाममा पसिना बगाउदै नेपाली दुतावासमा गुहार माग्न थालेको पाँच महिना भईसक्यो । दुतावासको गेटमा उद्धारका लागि नाम टिपाउने काम पनि सगरमाथा चढ्नु जत्तिकै मुस्किल छ । हजारौंको लाईनमा म कता कता हराउछु । अनि सबैको गुनासो, पिडा, आँशु देख्दा मन भक्कानिएर रुन्छ ।

सरकार, चार्टर्ड उडानको भाडा आफै तिर्छु । कोरोना नेगेटिभ प्रमाणपत्र पेश गर्छु । कोरेनटाईनमा र आईसोलेशनमा आफै बस्छु । उपचार पनि आफै गर्छु । म यो बिदेशी भूमिमा मर्दै मर्दिनँ । मरेँ भने मेरो आत्माले जुनी जुनीसम्म सराप्नेछ । मेरो मात्र आत्माले सराप्नेछैन, लाखौं नेपाली दाजुभाई दिदिबहिनीको आत्माले सराप्नेछ । बृद्ध बाआमाको आँशुले सराप्नेछ । श्रीमतिको सिन्दुर पातेले सराप्नेछ । बालबच्चाको रोदनले सराप्नेछ । सत्य मनहरुले सरापेको सरकार कसरि दिगो होला ?लाखौं जनहरुले सरापेको सरकार कसरि चल्ला ?

साँगुरो कोठामा हात खुट्टा फिजाएर सुत्नु त के बस्न समेत मुस्किल छ । मेरो मातृभूमि जस्तो शितल हावापानीकहाँ छ र खाडीको तापक्रम ? रगत र पसिना बगाउदा मात्र कामदारलाई एसि र कुलरको व्यवस्था गथ्र्यो कम्पनीले । त्यो सुविधा कामसँगै कटौती भएको छ ।

खाडीको उम्लिदो तापक्रम र उकुसमुकस कोठा भित्र कोरोनाबाट तर्सिएको मनलाई सम्हाल्न असाध्यै कठिन भएको छ । सजिलोमा बिदेश पठाउने र अप्ठेरोमा फिर्ता लिन हेलचेक्रयाई गर्ने सरकारको रबैया देखेर शरीरमा बग्ने रगत भकभकी उम्लिरहेको छ । रगत र पसिना बगाएर खाँदै आएको गास खोसिदा भोकले निर्ममतापूर्वक पेट र मस्तिष्कलाई निमोठिरहेको छ । भोकले पेट पोल्दा, अनि सरकारले उद्धार गर्छौं गर्छौं भन्दै झुट बोल्दा निराशता बाहेक केहि मिलेको छैन ।
सरकार, नेपालमा कोराना भाईरसले प्रबेश गरेको पनि सात महिना भईसक्यो । नेपालमा भन्दा पहिला युरोप र अमेरिकामा आतंक मच्चाईरहेको थियो । यो महामारीले नेपाललाई पनि अछुतो राख्दैन भन्ने पक्का जस्तै थियो । तर पूर्वतयारीको प्रशस्त समय हुदाहुदै पनि किन तयारी भएन ? बैदेशिक रोजगारीमा गएर अपलत्र परेका नागरिकलाई सुरक्षित तरिकाले कसरि उद्धार गर्ने भन्ने योजना किन बनेन ?

केटाकेटीले भाँडाकुटी खेले झैं उद्धार गर्ने काममा खेलबाड भैरहेको छ किन ? एक दिन अलपत्र परेका नागरिकलाई उद्धार गर्ने निर्णय गर्ने अर्को दिन क्वारेनटिनको व्यवस्था भएको छैन भन्दै उद्धार कार्य बन्द गर्ने सरकारको मनसायलाई के भन्ने ? टिकट काटेर घर पुग्ने आशामा एयरपोर्टमा लाईन लागेका नागरिकलाई उद्धार कार्य बन्द भयो भनेर सूचना सुनाउँदा पोलिरहेको घाउमा नुनचुक हालेर यातना दिए सरि पिडा भएको छ । मर्नु न बाँच्नुको दोसाँधमा पागल सरि भौतारिनु परेको छ ।
सरकारको यस प्रकारको रबैयालाई के भनेर सम्बोधन गरुँ । गाली गरुँ कुन शब्दले गाली गरुँ । ताली बजाऊँ के देखेर ताली बजाऊँ ? पिडाले पोलेको आलो घाउमा नुन चुक चर्केर बेहोस बनेको बेहोसीले न केहि भन्न सक्छ न केहि गर्न सक्छ?

सरकार, तीन वर्षसम्म खाडीमा रगत र पसिना बगाउदा कहिले पनि सरकारलाई यसरि बिन्ती पत्र पेश गरिनँ । किनकि यस्तो महाबिपत्ति कहिलै आएन । सजिलोमा सबै नागरिकले आफ्नो क्षमता अनुसारको मिहिनेत गरेर जीवन चलाउन सक्छन् ।

जव महाबिपत्ति आईपर्छ, तव आफ्नो घर परिवारको सम्झना आउदो रहेछ । आफ्नो देशको माटो र सरकारको याद आउदो रहेछ । यस्तो अवस्थामा मेरो अभिभावक नै मेरो सरकार त हो नि । कसलाई पोखुँ मनका दर्दहरु, कसलाई सुनाऊँ बिचल्लीका चित्कारहरु र कसलाई लेख्नु बिन्ती पत्र ?महाबिपत्तिको भुमरीमा फसेको छु । कति दिन धैर्य गरुँ ? धैर्यताको बाँध भत्किदैछ । जतिसक्दो चाँडो मेरो उद्धारको योजना बनोस् ।

सरकार, एक हल गोरुले जोत्ने पाखो खेत बन्दकी राखेर खाडीमा आएको हुँ । गरिबी र भोकमारीको पिडाले थिचेको जीन्दगी सपार्न आएको हुँ । हजार ठाउँमा हन्डर ठक्कर खाएर बिदेशिएको हुँ । पेटभरि खान र जीउमा सुकिलो एकसरो थाङना फेर्नका लागि बिदेशीएको हुँ । यो मेरो विवशता हो । रहर होईन ।

पेटभरि खान पाएको भए, लाज छोप्ने कपडाको व्यवस्था गर्न सक्ने हैसियत भएको भए बृद्ध बाआमा, जुनी जुनी सँगै जीउने कसम खाएर अन्माएकी जीवन संगीनी र अबोध बालबच्चालाई छोडेर यो पराईको गुलामी बन्ने रहर किन पो उम्रिन्थ्यो र ?

असी लागेका बाआमाले सन्तान जन्माउदाहुर्काउदापेटभरि खान पाएनन् । बाआमाले थाँती राखेको गरिबी र भोकमारी मेरो काँधमा आउँदा जीवनलाई रुपान्तरण गर्ने आँट गरेर नै सात समुन्द्र वारी आएको हुँ । माटोले उभिएको घरमा खरले तोरेको छानो चुहिदा मन कुँडिएर आउथ्यो । त्यहि घरको छानो फेर्नलाई पराई भूमिमा आएको हुँ ।

सरकार, आमाको जीउले नयाँ फरिया कहिलै पाएन । बाको जीउले नयाँ भोटो कहिलै फेरेन । दश ठाउँमा च्यात्तिएको चोलो सियोले सिलाएर जीउमा झुन्डाईन् आमाले । सात ठाउँमा च्यातिएको गुन्युँलाई सात गाँठो पारेर लाज ढाकिन् । मैलिएको धोतीलाई सम्हालेर धेरै वर्षहरु धकेले बाले ।
बाह्रै महिना हातखुट्टा बजार्दा पनि पेटभरि खान पुगेन । मेरो जीवनमा गरिबी, भोकमारी र बेराजगारीको सनि ग्रह नलागेको भए न म बिदेशी भूमिमा छट्पटिनु पथ्र्यो न सरकारलाई बिन्ती पत्र लेख्नुपथ्र्यो ।

सरकार, मेरी जीवन संगीनी म विना पानी विनाको माछो सरि छट्पटिएकी छे, बिकट पहाडी गाउँमा । म ऊ विना तड्पिएको छु, खाडीको आलीसान शहरको बन्द कोठामा । म विना उसको जीवन अधुरो भईदिएको छ । ऊ विना मेरो जीवन उजाड मरुभूमि भईदिएको छ । अधुरो र उजाड जीवनलाई हरियाली र पूर्णबनाउन सरकारको सहयोग चाहिएको छ, समयमा उद्धार गरेर ।
म अलपत्र परेको खवर पाएर श्रीमतिलाई आरामले निद्रा परेको छैन । सोध्छे, कस्ता छौ ? कहिले आउछौ ?दुईचार बाक्य बोलेपछि उसको बोली रोकिन्छ । उसलाई कसरि भनुँ ? खान पाएको छैन भनेर । कसरि भनुँ ? छट्पटिदैछु भनेर । कसरि सुनाउँ ?यतै प्राण जान्छ कि भनेर । उसले भन्छे, मलाई अरु केहि चाहिदैन तिम्रो ज्यान भए पुग्छ । उसको आँखाको आँशु, मनको रोदन र मुटुको पिडा देखेर आफैले आफैलाई धिक्कार्छु । पुर्पुरोमा हात राखेर विवशतामा दिन धकेल्दैछु ।
म परदेश हानिदा श्रमितिले मनमनै कल्पना गरिहोली,नयाँ साडी लगाएको । नाक, कान, घाँटीमा गरगहना झुन्डाएको । झरीको पानी नछिर्ने घरमा आरामसँग सुतेको । भान्सामा मिठोमिठो परिकार पकाएर छोराछारीलाई खुवाएको । गर्जो परेका छिमेकीलाई दुईचार हजार दिएर गर्विलो रवाफ देखाएको । अनि मनमनै भनी होली, आज पो दुख छ भोली त सुख आउछ नि । तर आज उसले आफ्नो कल्पनालाई बिर्सेकी छे । मेरो सास मात्र चाहेकी छे । त्यसैले सरकार, मलाई कुनै शर्त विना उद्धार गर ।

सामान्य दिनहरुमा त भविश्य उज्ज्वल छ भन्ने अपेक्षा हुन्थ्यो । महिना महिनामा घर खर्च पठाउथेँ । तर अहिले आम्दानी मात्र कटौती भएको छैन, भविश्य अनिश्चित भईदिएको छ ।अलपत्र परेका नागरिकको सुरक्षा र उद्धारमा भएको ढिलासुस्तीले आफ्नो देशको माटो छुने आशा अपेक्षामा ग्रहण लाग्दैछ ।

सरकार, मृत्युको मुखमा उभिएको छु । सम्भावित मृत्युको रापले भतभती पोलिरहेको छ । चारैतिरबाट कोरोनाको रापले घेरेको छ । भागुँ त कसरि र कहाँ भागुँ ? बाँचु त कसरि बाँचुँ ?मन भरंग भईदिन्छ आँखाबाट आँशुका धारा खस्छन् । यहाँ न खाना छ न पानी, न कोठा न शौचालय, न उद्धार न सुरक्षा । हे मेरो सरकार उद्धार गर, मातृभूमिको माटो छुनु छ । त्यहि माटोमा मिसिनु छ ।
सरकारको भाषण र बाचन दिनदिदै सुन्छु । अलपत्र परेका नागरिकलाई भोकै मर्न दिदैनौं । जुन देशमा छन् त्यो देशको सरकारसँग समन्वय गरेर सुरक्षा गर्छौं । उद्धार गरेर ल्याउछौं । खै त भाषण अनुसारको शासन गरेको ?शासन त भयो तर सुशासन खै ?अलपत्र परेकाहरु आफ्नै दुतावासमा त गुनासो राख्नलाई छिर्न पाउन कठिन छ भने अर्काको देशलाई गुनासो सुनाउने हैसियत कहाँ छ र ?
आफ्ना नागरिकलाई आफूले नलिने अरुले पाल्नुपर्ने किन ? कोरोना महामारीले कसैलाई पनि अछुतो राखेको छैन । नेपालीलाई काम दिने देशहरुमा पनि आर्थिक मन्दी सृजना भएको छ । बेरोजगारी सृजना भएको छ । भोकमारी बढ्दैछ । यस्तो अवस्थामा कसले पाल्छ मलाई ? कसले उपचार र सुरक्षा गर्छ मलाई ?

सरकार, के बिगारेको छु र मैले ? के अपराध गरेको छु र मेरो देशमा ? मेरो मातृभूमिलाई के हानी पु¥याएको छु र ? मेरो देशको गरिबीले म परदेशमा श्रम गर्न बाध्य भएको हुँ । रोजीरोटीका लागि दिनरात हातखुट्टा बजार्नु परेको हो । के यहि हो मेरो अपराध ? नत्र भने किन मलाई यत्रो सजाय भोग्नु परेको छ ?

अरवको खाडीमा पाँच महिनादेखि छोरो अलपत्र परेको खबरले बृद्ध बाआमाको आँशु झरिरहेको छ । श्रीमति डाको छोडेर बिलौना गर्दैछे । छोराछोरीहरु मलिन अनुहार बनाएर झोक्राएका छन् ।
घरपरिवारको याद र सरकारको लाचारीपना देखेर मुटु भतभती पोलिरहेको छ । बाआमाको काखमा टाउको राखेर मनकोबह पोख्न मन लागेको छ । श्रीमतिलाई अंगालो हालेर छातीमा टाँसेर माया साट्न मन लागेको छ । छोराछोरीलाई काखमा राखेर गाला मुसार्दै आर्शिवाद दिन मन लागेको छ । अनि आफ्नो माटोमा लम्पसार भएर सुत्न रहर लागेको छ । त्यसैले त भन्दैछु सरकार, मेरो उद्धार गर ।

सरकार, म सुन्दैछु मेरो देशको समाचार । पद र कुर्सीका लागि युद्ध भैरहेको छ रे । कोरोनाको महामारीले हजारौं ज्यानहरु आइसोलेशनमा छन् रे । मर्नेको संख्या सय कटिसक्यो रे । अस्पतालका बेडहरु खाली छैनन् रे । पिसिआर टेस्ट किट सकियो रे । भेन्टिलेटर, पिपिई लगायतमा सुरक्षा सामग्रीहरुको अभाव छ रे । सुत्केरीको प्रशव पिडामा अस्पताल पुग्दा अस्पतालले भर्ना गर्दैनन् रे ।
त्यतिमात्र होईन, कोरोना रोकथामको नाममा करोडौं भ्रष्टाचार भएको छ रे । राहतको दाल चामल वितरणमा भ्रष्टाचार, मास्क सेनिटाईजर खरिदमा भ्रष्टाचार, भेन्टिलेटर जडानमा भ्रष्टाचार, क्वारेनटाईन र आईसोलेशन व्यवस्थापनमा भ्रष्टाचार । कति भ्रष्टाचार ? गन्ती गर्न नै सकिदैन ।
अनि बिदेशमा अलपत्र परेकाहरुलाई उद्धार गर्ने नाममा पनि तीन चार गुणा बढि भाडा असुलेर गरिबलाई शोषण भैरहेको छ रे । सरकार, मसँग केहि छैन । मसँग भएको सबै लुटियो । अव मसँग केहि बाँकी छैन । एक पटक मलाई उद्धार गर ।

सरकार, यहि हो सुशासन ? यहि हो न्याय ? तीन वर्ष पहिले भोट दिएर कुर्सीमा पठाएको एक व्यक्ति म पनि हुँ । पद र कुर्सीका लागि लडाई गर्न र भ्रष्टाचार गर्नका लागि भोट दिईको थिईनँ । देशमा कानूनी शासन र सामाजिक न्याय स्थापना होस् । भोका नाङना तथा सर्वहारा वर्गले काम र माम पाऊन् । भ्रष्टाचारको अन्त्य भई सुशासन कायम होस् । उत्पादनमा बृद्धि र रोजागारीको सृजना भई आर्थिक संमृद्धि हाँसिल होस् भन्ने अभिलाषाले प्रचण्ड बहुमतको सरकार बनाउनमा सहयोग गरेको हुँ । मेरो अभिलाषामा कुठराघात भयो किन ?

यति धेरै हारगुहार गर्दा पनि नचिने झैं गरि मुन्टो बटारेर कुर्सीको खेलमा ब्यस्त किन ?यस्तो महामारीको कहालीलाग्दो अवस्थामा भ्रष्टाचारमा लालायित किन ?सामान्य अवस्थामा भन्दा महाबिपत्तिको समयमा भ्रष्टाचार गर्न सजिलो भएर हो ? भ्रष्टाचार, नातावाद र कृपावादको संस्कार नमौलाएको भए लाखौं नेपालीहरु बिदेशमा बेचिएर पसिना बगाउनु पर्ने थिएन ।सरकारले गरिबीका कारणहरु विश्लेषण गर्छकि गर्दैन, रणनैतिक योजना वनाउदा ?

सरकार, मेरो विनम्र अनुरोध छ । यो महामारीको आगोमा देश जल्दै गर्दा भ्रष्टाचारलाई विश्राम दिनु । विभिन्न देशहरुमा फसेकाहरुको समयमा उद्धार गर्नु । संक्रमितको उपचार गर्नु । सास फेर्न कठिन भएका विरामीका लागि अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्नु । विपन्न र सिमात्कृत समुदायमा कोरोनाको वारेमा सचेतीकरण गर्नु । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सुरक्षा गर्नु । खान नपाएकालाई खाना र पानी दिनु । यो नै सबैभन्दा ठुलो धर्म हो । यसो गरेमा स्वर्गमा बास हुनेछ । यस्तै महामारी र महाबिपत्तिको समयमा नै हो धर्म र पापको ख्याल गरेर काम गर्ने । भेन्टिलेटरको सुविधा पाउदा सिकिस्त विरामी मध्ये धेरैको ज्यान बचाउन सकिन्छ । बचाऊ बचाऊ भन्दै छन्, सास फेर्न अप्ठेरो भएका कोरोना संक्रमितहरुले ।

सरकार, पराई भूमिले पसिना बगाएको साटो खान दियो, बस्न दियो र पैसा पनि दियो । जसले मेरो घर चल्यो । आज संसारका धेरैजसो रोजगारका ढोकाहरु बन्द भएकाछन् । कामदारहरुलाई आफ्नो देशमा फर्कन सूचना जारी गरेका छन् । उनीहरुले कामका लागि कामदार राखेका हुन् । काम बन्द भएपछि कामदार राख्ने कुरा पनि भएन । अन्य देशका सरकारले आफ्ना नागरिकलाई पहिलै लिईसके । तर मेरो देशको बिचरो नागरिक म, पाँच महिनादेखि सरकारसँग दुई हात जोडेर देश फिर्तीका लागि रुदै छु । मातृभूमिका लागि आँशु बगाउदैछु ।

सरकार, सबैका सरकार यस्तै हुन त ? नागरिकप्रति गर्ने व्यवहार यस्तै हो त ? नागरिकको अधिकार सुनिश्चित गर्ने, न्याय दिलाउने, सुरक्षा गर्ने जिम्मेवारी सरकारको होईन ? सरकार र जनताको सम्बन्ध अभिभावक र सन्तान बिचको जस्तै हुनुपर्ने हो । समस्या पर्दा सन्तानले सहयोग माग्ने र अभिभावकले सहयोग गर्ने संस्कारको विकास किन हुन सकेन ? सन्तानको पिडामा हाँस्ने अभिभावक अभिभावक हुन सक्दैन । सन्तान जस्तोसुकै होस् अभिभावक भनेको अभिभावक नै हो । यस खालको निष्ठुरी मन नहुनु पर्ने हो । सरकारको हेलचेक्रयाईले पराई भूमिमा प्राण जान्छ कि भन्ने अर्को चिन्ताले सताएको छ । पागल सरि बर्बराउदैछु ।

सरकार, कुर्सीमा बसेर शासन चलाउनेका सन्तानहरु यसरि मजस्तै बिदेशी भूमिमा अलपत्र परेको भए, सरकारलाई एक रात पनि निद्रा पर्दैन्थ्यो होला । सरकारको सम्पूर्ण खर्चमा फुलमाला लगाएर फिर्ता जाँदा हुन् । तर म त देशमा काम नलागेर बेचिएको श्रमिक न परेँ । यस्तै सोचेर हो, मलाई उद्धार गर्न नचाहेको ?होईन भने के हो ?

नेपाललाई कोरोनाबाट बचाउछौं भन्दै भाषण गरेको सुनियो, शुरुशुरुमा । यो भनियो कि बिदेशमा रहेका श्रमिकहरुलाई उद्धार गरेर ल्याएमा कोराना फैलिन्छ । लाखौं श्रमिकहरु बिदेशमा अलपत्र परेका छन् । नेपालमा किन कोरोना संक्रमण बढिरहेको छ ? किन नियन्त्रण भन्दा बाहिर जाँदैछ अवस्था ? कोराना जसरि फैलिरहेको छ त्यो सबै सरकारको ढिलासुस्ती र दिर्घकालीन सोचको कमीका कारण भएको छ ।

सरकार, उद्धारको बाटो कुर्दाकुर्दै मेरो मरण भयो भने प्राण विनाको मेरो भौतिक शरिरलाई लिने प्रयास नगर्नु । जसलाई सरकारलाई धिक्कार्नेछ, गिज्याउनेछ र तर्साउनेछ ।

सरकार, क्वारेनटिनको व्यवस्था नभएको बहानामा र कोरोना सर्ने भ्रममा गैर जिम्मेवार निर्णय नगर्न हुन हार्दिक अनुरोध गर्दछु । म जस्ता लाखौं नेपालीको जीवन रक्षाको लागि तत्काल उद्धार कार्यलाई प्राथमिकता दिन हुन अनुरोध गर्दछु । यति लामो समयदेखि रोग, भोक र शोकमा तड्पिएको मनमा कठोर निर्णय गरेर पराई भूमिमा मर्न विवश नहुन परोस् । अलपत्र परेका नागरिकलाई उद्धार गर्ने सद्बुद्धि जागोस् । जय मातृभूमि नेपाल !

 

प्रतिक्रिया

रिपोर्टिङ गर्दागर्दै कोरोना संक्रमित बन्न पुगेका पत्रकार यस्तो भन्छन