त्रिलोचन सुवेदी
भत्किनै आटेको घरको भित्तामा
शहरको कोचाकोच माईक्रोमा खलासि अडिएझै
अडिएको छ पोहोरसाल लिपेको गोबर र माटोको पाप्रा ।
गाडि भित्र सिटमा बसेको मान्छेले
झ्यालबाट टाउको निकालेर
अगाडिको बाटो हेरेझै
हेरेको छ भित्ताको पाप्राले
शहरबाट फर्किनेको बाटो
पिडिमा फूल्न लागेका फूलका गुथा ।
शहर पसेकाले घर सम्झियुन या बिर्सियुन
एक पटक मज्जाले सम्झदो रैछ घरले
शहर पसेको छोरो आओस
र
उखालोस भनेर बसेको छ
घरवरिपरिको झार
बुहारि आओस
र
लिपोस भनेर
गेरू र कमेरोको छिर्के मिर्के अनुहार लिएर
बसेको छ घरको भित्तो
तर,
छोरो आउछ टिका थाप्ने दिन पारेर
बुहारि आउछे उसैदिन
नातिनातिना आउछन उसैदिन ।
उसैपनि छैन दशै पहिले झै रमाईलो
गाउँमा पिङ छैन,
केटाकेटिको हो हल्ला कम छ
दुर्गा पुजा छैन
रात्रिकालिन चहलपहल पनि कम छ ।
उसैपनि दशै पहिले झै छैन रमाईलो
जमाना अनुसार रमझम
साघुरिदै छ ।
पहिले जस्तो निधार पुरै ढाक्ने गरि
टिकाको क्षेत्रफल हुदैन आजकल
निधारमा हुने टिकाको क्षेत्रफल
साघुरिदै छ ।
जसरि साघुरिदैछ दशैको रमझम ।।










