पारिवारिक नीजि वन किसानका सवालहरु

किरण ढकाल

संसारमा मानव जीवनको अस्त्तीत्व माथि चुनौती दिने २ वटा सबैभन्दा ठूला सवालहरु छन् । एक, जलवायु परिवर्तन दुई, असमानता । प्रकृतिलाई गरिएको दोहनले भौतिक सुविधा मात्र दियो । प्राकृतिक विपद्को सर्जक अहिले मानिस भएको छ ।

यसैको परिणाम प्रकृतिमा रहेका भाइरसहरुले मानव जीवनमा प्रवेश गर्दैछन् । र अहिले यसैको परिणाम स्वरुप संसार नै कोरोनाको महामारी भोग्न बाध्य छ । विपद्ले निम्त्याउने जोखिमलाई न्यून गर्न तथा प्रकृतिलाई उसकै बाटोमा हिडाउनु समकालिन विश्वको सबैभन्दा ठूलो चुनौती हो । यो लेख यो चुनौतीलाई समाधान गर्न कम्मर कसेर लागिरहेका बन किसानहरु र तिनका सवालहरुमा केन्द्रित भएर लेखिएको छ ।

किसानले परम्परागत खेती प्रणालीलाई चुनौती दिए । आफ्नो नीजि जग्गामा रुख रोपे । ती रुख हुर्किन दशक भन्दा बढि लाग्यो । जब ति रुख काट्न खोजे । बन कार्यालय तगारो बन्यो । खबरदार तिमीले हामीलाई नसोधि काट्न मिल्दैन उसले भन्यो । परिणाम आफैंले लगाएका आफ्ना रुखहरु काटेर काठमा आधारित उद्योगहरुलाई बेच्ने र आयआर्जन गर्ने किसानको सपनामा तगारो बन्यो हाम्रो बन कानून । उसले के बुझेन भने निजी तथा पारिवारिक किसानहरुले रोपेर हुर्काएका बनहरुले संरक्षित बनको कटानी हुन रोकिएको छ ।

बन किसानहरुले रोपेका रुखहरुका कारण गाउँ तथा शहरहरुको वातावरणमा स्वच्छता ल्याउन सहयोग पुगेको छ । नीति निर्माण तहले यो बुझ्नु आवश्यक छ ।

पारिवारिक तथा नीजि वन संघको स्थापना यिनै सवालहरुमा रहेर नीजि वन किसानहरुलाई संगठित गर्ने अभिप्रायले भएको हो ।

डुडुवा गाउँपालिकाको पशुपति सामूदायिक बन भित्र किसानहरुले तुलसी लगाए । तुलसी हुर्कियो । तर बेच्न सारै समस्या भयो । काठमाडौंको सिंहदरबार बैद्य खानाले समेत किन्न मोलमोलाइ गर्यो । किसानले बाध्य भएर विचौलियालाई बेच्नुपर्यो त्यो पनि अत्यन्त कमसल दाममा । यो मात्र प्रतिनिधि उदाहरण हो । यस्ता समस्याहरु सबै ठाउँमा कुनै न कुनै रुपमा रहेका छन् ।

चिनको फुजि स्याउ नेपालगन्जका बजारमा छ्याप्छ्याप्ती पाइन्छ । हजारौं किलोमिटरको महिनौं दिनको यात्रा गरेर आउने ति स्याउहरुको चमक बजारका ठेलाहरुमा हप्तौं राख्दा पनि हराउदैन । तर हाम्रा किसानले २५ मिनेटको हवाइ दुरीमा रहेको कर्णालीबाट ल्याउने गोल्डेन स्याउ दाग लागेको, मैलो हुन्छ । देख्दा अनाकर्षक देखिने ति स्याउलाई ग्रेडिंग गरेर चिन लगायतका देशहरुमा निर्यात गर्ने सपना अब हामीले देख्ने समृद्धि चाहिएको छ । विडम्बना ति स्याउले नेपालगन्ज मै गाली खानुपर्छ, दागिलो र चोट लागेको फोहरी स्याउ नै कर्णालीका स्याउ हुन् भन्ने परिचय बदल्नु आवश्यक छ ।

आज २३ प्रकारका रुख प्रजातीहरुको विक्रि वितरणमा सहजता ल्याउने गरी कानून बनेको छ । तर यसको प्रचार हुन सकिरहेको छैन ।
किसानहरु नेपालका सबैभन्दा ठूला असंगठित क्षेत्रमा रहेका त्यस्ता आर्थिक सूचालक हुन् जस्को योगदान नेपालको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढि रहेको छ ।

जमीन खोस्रेर प्रकृतिलाई प्रेम गर्दै मानव जीवनको अस्त्तीत्वलाई बचाउने अग्रदस्ताका वारियर्स किसानहरुले आफ्ना व्यक्तिगत परिश्रम र पसिनाको मिहिनेतलाई प्राप्त गर्न अनेकन समस्यासंग जुध्नुपरिरहेको छ ।

यहि सवालमा गम्भिर हुदै नीजि तथा पारिवारिक वन किसानहरुको हकहितलाई संरक्षण गर्दै विभेदकारी, किसान अमैत्री कानून, नियमावलीहरुको परिवर्तन र किसानहरुको अवस्थामा खुसहाली नै नीजि तथा पारिवारिक बन संघ एफोनको कार्यदिशा हो ।

नेपालको बन तथ्यांक अनुसार, ५५ लाख हेक्टर क्षेत्रमा बन रहेको छ । यस मध्ये करिब ११ प्रतिशत बन किसानहरुले हुर्काएका छन् आफ्ना पाखा र बारीहरुमा ।

किसानहरुको मिहिनेतको प्रतिफल नै राज्यका संरक्षित निकुन्जहरुमा अतिक्रमण रोकिएको छ । बन किसानहरुको परिश्रमले नै हो अहिले निकुन्जहरुका बनहरु काटिएका छैनन् ।

रुख रोपेर जंगल बनाएका किसानहरुलाई उनीहरुको मिहिनेतको प्रतिफल प्राप्त गर्नका लागि रोक्ने हैन, राज्यले उचित र महत्व दिनु पर्दछ । नीजि तथा पारिवारिक बन संघ एफोन यसैमा अगाडि बढेको छ । एफोनका केन्द्रिय अध्यक्ष जोगराज गिरी भन्छन्, पारिवारिक नीजि बनको विकासमा प्रदेश र स्थानीय सरकारहरुको भूमिकाले उचित परिणाम हासिल गर्न सकिनेछ ।

जनस्तर र सरोकारवालाहरुको व्यापक छलफलले यो विषयमा प्रगती हुनसक्ने सम्भावना देखिएको छ ।

बर्षौको मिहिनेतको परिणामले नीजि बन किसानहरुले जसरी देशको समृद्धिमा योगदान दिइरहेका छन्, अब समय आएको छ, विकासको बहुआयामिक धारणालाई अगाडि बढाउदै बन किसानहरुको क्षमता अभिवृद्धि र शसक्तिकरण गर्दै बन उद्यमलाई अगाडि बढाउन सरकारको ध्यान जान अति आवश्यक छ ।

शैशव अवस्थामा रहेको पारिवारिक नीजि बन संघको एकिकृत अभियानले किसानहरुको अवस्थामा सुधार ल्याउनका लागि अग्रगामी भूमिका निर्वाह हुन सक्ने प्रशस्त आधारहरु देखिन थालेका छन् । नीजि तथा पारिवारिक बनलाई सरकारले अहिले पहिचान गरेको छ । स्विकारेको छ । अब यसको विकासमा किसानहरुको मिहिनेतमा सहयोग गर्दै अगाडि बढ्नु आवश्यक छ ।

(लेखक पारिवारिक नीजि बन संघ प्रदेश ५ कमिटिका सचिव हुन् ।)

प्रतिक्रिया