के-पी-घिमिरे
म स्वास्थ्यको ख्याल गर्दागर्दै , सावधानी अपनाउदा अपनाउदै कसरी र कहाँ संक्रमित हुन पुगे भन्ने याद नै छैन् । सामाजिक काम र अफिसको काममा व्यक्तिहरुसंग सम्पर्कमा रहदा सायद पोजिटिभ भइयो होला । अहिले कोरोना संक्रमितहरुको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । मान्छेहरुले यो रोगलाई पहिले पहिलेको कुष्ठरोग, एच- आई- भी एड्स रोग भन्दापनि घृणित रुपमा हेर्ने र बुझ्ने गरेको मैले पाए ।
म १४ दिनको होम आइसोलेसन बसाइ विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बसेर पूरा गरे, म कोठाभित्र बसिरहदा हाम्रो समाजका मान्छेहरु बाटोमा हिड्दा पनि यो घरको मान्छेलाई कोरोना लागेको छ भन्दै गफिदै हिड्दै गरेको जब यो कानमा गुन्जयमान हुन्थ्यो म एकछिन सोच्न बाध्य हुन्थे, यिनीहरुलाई के मत्लब भएको हो म कोरोना संक्रमित भएर के भयो आखिर रोग हो कसलाई कतिबेला लाग्छ थाहा नै हुदैन यस्ता यस्तै कुरनहरु मनमा खेल्थे ।
धेरै साथीहरूको फोन आउथ्यो त्यहाँ त भेट्न के आउने है भन्ने प्रतिप्रश्न आफै गर्दथे, केही साथीहरू जो मलाई भेट्न कोरोना रोगभन्दा पनि नजिकको सम्झेर म भएको ठाउँमा धेरै पटक आउनु भयो। केहीले भिडियो कल मार्फत, कसैले सामाजिक सञ्जाल फेसबुक मार्फत त कसैले फोन मार्फत मेरो स्वास्थ्य लाभको कामना निरन्तर गर्नु भयो । यहाँहरुको माया, सद्भाव र हौसलाले मेरो मनमा मलाई केही भएको छैन् म जसरी नि बाच्छु , केही हुदैन भन्ने आत्मविश्वास जागेर आउथ्यो ।
कोरोना रोगलाई सामान्य रुपमा नलिन मैले पनि अनुरोध गर्दछु । सुरुका केही दिनमा मलाई पनि अप्ठ्यारो भएको थियो जस्तै ज्वरो आउने, पखाला लाग्ने, सास फेर्न गाह्राे हुने, छाती चस्किने, खाना मन नलाग्ने अनि मनमा मरिन्छ कि भनेर कुराहरु खेलिरहन्थे । तर मैले यो समस्या घरपरिवामा पनि भनिन उनीहरु आत्तिन्छन् भनेर र सबैलाई म ठिक छु भनेर भन्ने गर्दथे ।
मैले सुरुका केही दिनमा समाचार अपडेट गर्ने र समाचार लेख्ने र हेर्ने काम समेत गरिन् मन आत्तिएको हुन्थ्यो, कम उमेरका मान्छे र खासै लक्षण नभएका मानिसहरु मरेको समाचार पढ्दा र हेर्दा झनै मन आत्तिन्थ्यो । कतिबेला १० दिन पूरा हुन्छ र कोरोना भाइरस निष्क्रिय भएपछि बाचिन्छ भन्ने कुराहरु मनमा खेलिरहेका हुन्थे ।
मैले आदरणीय गुरु कन्चन घिमिरेसित जुममा जब ध्यान, मन्त्र र योग अनलाइन सिक्ने अवसर प्राप्त गरे गुरुले धेरै हौसला दिनु भयो यो गर्नुस, यो नियमित गर्नुस , जाबो कोरोना कहाँ भाग्छ भाग्छ भन्ने शब्द मनमा पस्यो म पनि नियमित त्यसै गर्नलागे पछि मलाई रोग तिर खासै ध्यान गएन मलाई कसरी १४ दिन बिताउने भन्ने मात्र मनमा खेल्न थाल्यो ।
वास्तवमा कसैलाई ज्वरो छैन् भने कोभिड संक्रमित भएकाहरुलाई योगा र ध्यानले धेरै हदसम्म आत्मबल उच्च बनाउन मद्दत गर्ने मैले बुझे, यस्तो बेलामा परिवारका सदस्यहरुको माया, हसाउने र हास्ने, र सकारात्मक कुराहरु गर्न आवश्यक हुने रहेछ । तातोपानी नियमित पिउने, बाफ लिने र खाना मीठो नभए पनि जबर्जस्ती भएपनि खाने गर्नु पर्दछ ।
कोरोना पोजेटिभ भएका चाहे लक्षण भएका होउन् वा लक्षण नभएका मानसिक डर उत्तिकै हुने गर्ने मेरो अनुभवले बताउछ। यस्तो बेलामा मान्छेलाई हौसला प्रदान गर्नु अति नै आवश्यक पर्दो रहेछ । यसलाई नजिकै जादैमा सर्छ, कुराकानी गर्दैमा सर्छ भन्ने होइन कि सावधानी अपनाएर संक्रमित भएकाहरुलाई कुराकानी गरेर, हौसला प्रदान गरेर म छु वा हामी छौं भनेर उसलाई खुसी पार्नु पर्दछ ।
होम आइसोलेसनमा बस्दा मैले घरमै पल्स अक्सिमिटर र थर्मोमिटर किनेर राखेको थिए । दिनमा कम्तीमा पनि ३ पटक अक्सिजन लेभल, पल्स रेट लेभल र ज्वरो नाप्ने गर्दथे र उक्त रिपोर्ट प्रत्येक दिन वडाको हेल्थ फोकल पर्सनलाई जानकारी दिने गर्दथे । यसले गर्दा आफ्नो श्वासप्रश्वास, ज्वरो र धड्कन बारेमा जानकारी पनि हुने र समस्या देखिएमा अस्पतालमा भर्ना हुन सकिन्थ्यो ।
अत्यमा मेरो स्वास्थ्यको बारेमा रातदिन चासो राख्ने चिकित्सकज्युहरु, आफन्तजनहरु, गुरुवर्गहरु, साथीहरु, दाजुभाइ, दिदीबहिनी सबै जसले मलाई सहयोग गर्ने, फोन गर्ने, भेट्ने गर्नुभयो मेरो तर्फबाट हार्दिक नमन गर्न चाहान्छु ।










