कोरोनाका कारण चलचित्र क्षेत्र ठप्प भएपछि कलाकारहरुको एउटै सहारा बनेको छ, म्युजिक भिडियो । दयाहाङ राईदेखि पल शाहसम्मका फिल्म स्टारहरु म्युजिक भिडियोमै रमाइरहेका छन् । हुँदा–हुँदा ‘महानायक’ राजेश हमाल पनि यसबाट टाढा रहन सकेनन् ।
त्यसो त कोरोना सुरु हुनु अगाडि पनि हमाल चलचित्रमा खासै व्यस्त थिएनन् । देश–विदेशका स्टेज शो तथा टिभी रियालिटी शोहरुमा उपस्थिति जनाइरहेका उनी निर्देशक बन्ने सुरसार गर्दै थिए । तर, कोरोनाले गर्दा उनको सो योजना भने पछि धकेलियो । अहिले उनी भटाभट म्युजिक भिडियोमा देखिन थालेका छन् ।
दुई महिना यता हमालले अभिनय गरेका चारवटा भिडियो यूट्यूवमा आए । यी भिडियोहरु हेर्दा उनले आफूलाई प्राप्त ‘महानायक’ पदवीको ओज र आफ्नो ‘लिजेन्ड’ छवि भुलेको प्रतित हुन्छ । उनले छोरी–नातिनी उमेरका सुन्दरीहरुसँग जोडी बाँधेर कम्मर मर्काएको सहज लाग्दैन । न उनले गीतको छनोटमा ध्यान दिएका छन्, न सहकर्मी कलाकारको स्तर हेरेका छन् । मागेको पैसा पाएपछि हमालले जेमा पनि खेल्छन् भन्ने आरोप लगाउनेहरुलाई बल मिलिरहेको छ । फिल्ममा अभिनय गर्दा पनि उनलाई यही आरोप थियो ।
हमालले खेलेका भिडियोहरुको भ्यूज पनि सन्तोषजनक छैन । महानायकलाई खेलाएपछि भिडियोमा बबाल भ्यूज आउनुपर्ने हो । भिडियो निर्माताहरुले पनि उनको अनुहार देखाएपछि गीत भाइरल हुने सोचेका थिए होलान् । तर, त्यस्तो भएको छैन । चारवटामध्ये एउटा गीत औसत चलेको छ भने अरु तीनवटा ‘फ्लप’ छन् ।









