काठमाडौँ :

आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सेन्टी भाइरस’ ले भिन्न शैलीमा फिल्मको प्रचार प्रसार थालनी गरेको छ ।
हास्यकलाकार सीताराम कट्टेले ‘धुर्मुस’ले आफूले निर्माण गरेको फिल्मको प्रचारका लागी ५० हजार सवारीमा पोस्टर टाँसेर गर्ने भएका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले उपत्यका ट्याक्सी व्यवसायी सङ्घमार्फत ट्याक्सीमा पोस्टर टाँसेर अभियानको सुरुवात समेत गरे ।
ट्याक्सीमा पोस्टर टाँस्नलाई फिल्मका प्रमुख अभिनेता तथा निर्माता धुर्मुस र बुद्दि तामाङ उपस्थित थिए । पोस्टर टाँसेपछि कलाकार कट्टेलले फिल्मको आम्दानीको ५० प्रतिशत गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा खचिर्ने घोषणा पनि गरेका छन् ।
यसअघि फिल्मको आम्दानीको २० प्रतिशत रंगशाला निर्माणमा खर्च गरिने बताइएको थियो ।
धुर्मुसले दर्शकलाई एकपटक फिल्म हेरिदिन आग्रह गर्दै भने ‘तपाईहरुले फिल्म हेर्न खर्चिएको रकम राष्ट्रिय गौरवको आयोजनामा सहयोग हुनेछ ।
त्यसैले फिल्मको बारेमा आम सर्वसाधरणमा जानकारी होस् भन्ने हेतुले नेपाल यातायात व्यवसायी महासंघले देशभरका ५० हजार बढी सवारीमा पोस्टर टाँस्दैछ । यसले फिल्मको प्रचारमा थप सहयोग पुग्ने आशा बोकेका छौँ ।’ फिल्म ‘सेन्टी भाइरस’ रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
फिल्ममा सीताराम र बुद्धि तामाङसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, कमलमणि नेपाल, राजाराम पौडेल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
शङ्कर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको सङ्गीत रहेको फिल्म निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।









