काठमाडौं :

![rLgaf6 g]kfnL kmsf{pg ;/sf/sf] tof/L](https://i0.wp.com/nagariksamaj.com/wp-content/uploads/2020/02/PicsArt_02-02-07.58.56.jpg?resize=2289%2C1202&ssl=1)
प्राणघातक कोरोना भाइरसको महामारी फैलिएसँग विश्व स्वास्थ्य संगठनले विश्वव्यापी संकटकाल घोषाणा गरेको छ ।

छिमेकी मुलुक चीनमा करिब तीन सयजनाले ज्यान गुमाइसकेको र १२ हजार हाराहारीमा संक्रमित भएको तथ्यांक सार्वजनिक भएपछि नेपाल सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न प्रयास थालेको हो ।

कोरोनाको महामारी फैलिएको चीनको हुबेमा रहेका नेपालीलाई घर फर्काउन नेपाल सरकारले तयारी थालेको हो ।
सरकारले भाइरसको महामारी फैलिएको हुबे प्रान्तसहित अन्य भूभागमा रहेका नेपालीलाई लक्षित गरी चार्टर विमान तयारी हालतमा राखेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनबाट नेपालीलाई फिर्ता ल्याउन नेपाल वायुसेवा निगमका दुई जहाज तयारी हालतमा राखिएको बताए ।
बेइजिङस्थित नेपाली दूतावासले पनि हुबेमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन विमानको व्यवस्था गरिने जनाएको छ । दूतावासले शनिबार सार्वजनिक सूचनामार्फत विमानबाट नेपाल फर्कन इच्छुक व्यक्तिलाई फारम भर्न अनुरोध गरेको छ ।
दूतावासले आइतबार बिहान ९ बजेसम्म फारम भर्ने म्याद तोकेको छ । नेपाल फर्कन चाहनेहरुको आवेदनका आधारमा विशेष उडानको विवरण तय हुने दूतावासले जनाएको छ ।














