कर्णालीबासीको सपना साकार :’अब अर्णाली आफैले डाक्टर उत्पादन गर्छ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो ।

बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ । यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा स्नातक तहको एमबिबिएस कार्यक्रम शुरुआत गर्न स्वीकृति दिने निर्णय गरेसँगै अब कर्णालीमा डाक्टरी पढाइको वैधानिक ढोका खुलेको हो ।

आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम शुरु गर्ने निर्णय भइसकेको जानकारी दिँदै चालु आर्थिक वर्षको शैक्षिक सत्रभित्र नै कार्यक्रम सञ्चालन हुने जानकारी दिए । ‘कोभिड–१९ का कारण निर्णयसहितका प्रक्रियामा ढिलो भए पनि यही शैक्षिक सत्रमा एमबिबिएस कार्यक्रम सञ्चालन हुन्छ’, उनले भने, ‘हाललाई एमबिबिएस सञ्चालन गर्न प्रतिष्ठानलाई करीब २५ सिट दिने गरी निर्णय भएको छ ।’

आधिकारिकरुपमा एक÷दुई दिनभित्रै आयोगका बैठकका निर्णय सार्वजनिक गरिने उहाँको भनाइ थियो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरेश थापाले घरआगनमा डाक्टर बन्ने कर्णालीमा मेघावी छात्रछात्राको सपना पुरा भएको बताए । उनले भने– ‘कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ । प्रतिष्ठानमा एमबिबिएस र एमडी कार्यक्रम सञ्चालनले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुनिश्चित गर्न थप कोशेढुङ्गाको गर्नेछ ।’

प्रतिष्ठानमा चिकित्सा शिक्षाको स्नातकोत्तर तहको अध्यापन शुरुआत भइसकेको छ । प्रतिष्ठानमा स्नातोकत्तर तहमा भक्तपुरका डा रहिस कोजु, काठमाडौँ निवासी डा प्रशंसा ताम्राकार र कपिलवस्तुका डा वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत छन् । यसैगरी दार्चुला (हाल धनगढी) निवासी डा ललितसिंह धामी एनेस्थेसिया र बारा कलैयाका मुन्ना केशरी पेडियाट्रिक्समा स्नाकोत्तर तहमा अध्ययनरत छन् ।

शिक्षाध्यक्ष प्राडा थापाले कर्णालीको समग्र स्वास्थ्य सुधारमा बहुप्रतिक्षित एमबिबिएस कार्यक्रमले सहयोग गर्ने जनाउँदै यसका लागि सरकारलई धन्यवाद दिए । ‘स्नातक तहको डाक्टरी पढाइ कर्णालीको विकासको कोशेढुङ्गा हो’, उनले भने, ‘अब हामी अब्बल चिकित्सक उत्पादनमा हाम्रो ध्यान जानेछ ।’

एमबिबिएस कार्यक्रम शुरु हुने भएपछि ‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’ भन्ने कर्णालीबासीको सपना अब पुरा हुने निश्चित भएको कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए ।

प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारी प्रतिष्ठानमा चिकित्सा शास्त्रका थप नयाँ कार्यक्रम सञ्चालनका तयारी भइरहेको जानकारी दिँदै एमबिबिएस र एमडी कार्यक्रमले चिकित्सा शिक्षामा नयाँ ढोका खुला गरेको जानकारी दिए ।

प्रतिक्रिया