विद्यालयका पुस्तकमा लापरवाहीः कतै मूल्यसूचीमा कालोपोतो, कतै अनुमति नपाएका पुस्तक पढाइँदै

काठमाडौं :नयाँ शैक्षिक सत्र सुरु भएसँगै केही पुस्तक प्रकाशन गृह र निजी विद्यालयको मिलेमतोमा मनलाग्दी पुस्तक बिक्री वितरण भएको पाइएको छ ।

कतै पुस्तकमा कालो पोतेर मूल्य बढाएको भेटिएको छ भने केही विद्यालयले स्वीकृति नै नपाएका पुस्तक पठनपाठन गराउने गरेका छन् । कतिपयले नेपाली माध्यममा पठाउनुपर्ने पुस्तक अंग्रेजीमा छपाइ गरेरसमेत पढाएका छन् । केहीले कलिला बालबालिकालाई आवश्यकभन्दा धेरै पुस्तकको भारी बोकाएका छन् ।

पाठ्यपुस्तक अनुगमन समितिले गरेको अनुगमनमा पुस्तक छपाइमा विकृति, अभिभावकलाई शुल्कमा भार तथा बालबालिकालाई धेरै पुस्तक पढ्न लगाएर अनावश्यक तनाव थपिएको पाइएको हो । समितिले शनिबार नयाँबानेश्वर र भोटाहिटीका केही पुस्तक पसलमा अनुगमन गर्नेक्रममा यस्तो विकृति भेटिएको हो ।

अनुगमनमा सहभागी समिति सदस्य तथा अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले पुस्तकको मूल्यमा कालो पोतेर नयाँ मूल्य राखेको, कतिपयले पुरानै पुस्तक पढाएको, कतिपयले पुस्तकमा फोर कलरको मूल्य राखेर ‘ब्ल्याक एन्ड ह्वाइट’ तस्बिरसमेत राखेको पाइएको जानकारी दिए । उनका अनुसार अुनगमनका क्रममा रोजबड स्कुलले कक्षा १ मा १० वटा पुस्तक पढ्न लगाउने गरेको पाइएको छ ।

सरकारले कक्षा १ मा चार विषयको पाठ्यक्रम बनाएको छ । अभिषेक पुस्तक पसलमा दिएको किताबको सूचीमा रोजबडमा पढ्ने बालबालिका लागि १० वटा पुस्तक किन्नुपर्ने बाध्यता छ । सोही स्कुलका कक्षा २ का विद्यार्थीले नौवटा पुस्तक किन्नुपर्ने बाध्यता छ । ७–८ वटा पुस्तकको सूची हुने विद्यालयको संख्या धेरै छ ।

ओएसिस पब्लिकेसनको कक्षा ८ को साइन्स एन्ड इन्भाइरोमेन्ट पुस्तकमा कालो पोतेर बिक्री भइरहेको पाइएको छ । अनुगमन समितिका अनुसार बारकोडमा कालो पोतेर नयाँ मूल्य राखिएको छ । भण्डारीका अनुसार तोकिएको मूल्यभन्दा प्रतिपेज १८ पैसा बढी लिइएको छ ।

‘फोर कलर’ पुस्तकमा ‘ब्ल्याक एन्ड ह्वाइट’ तस्बिर
फोर कलर पुस्तकमा पनि ब्ल्याक एन्ड ह्वाइट तस्बिर राखेकोसमेत पाइएको छ । नैतिकता सिकाउने पुस्तकमै यस्तो अनैतिक काम भएको पाइएको समिति सदस्य भण्डारीले बताए ।

सञ्जीवनी मोरल एजुकेसन पुस्तकमा लालिगुराँस, नेपालको राष्ट्रिय झन्डा, नेपालको नक्सा ब्ल्याक एन्ड ह्वाइटमा प्रकाशित गरेको अनुगमनका क्रममा पाइएको हो ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया