ओलम्पिकमा सोनियाले रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं: आज (शुक्रबार) देखि जापानको टोकियोमा आयोजना हुने ३२औं ग्रीष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

बिहीबार सार्वजनिक भएको खेलतालिकाअनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो । उहाँ ४८ केजी तौलसमूहमा इरिनाको सामना गर्दै हुनुहुन्छ । भट्ट विश्व बरियतामा १२७औं स्थानमा हुनुहुन्छ भने इरिना विश्व बरियतामा नवौं स्थानमा हुनुहुन्छ । भट्ट र इरिनाबीचको खेल साउन ९ गते हुनेछ । पदकको टुंगो पनि सोही दिन लाग्नेछ ।

भट्ट वाइल्ड कार्डमार्फत् ओलम्पिक खेलमा छनोट हुनुभएको हो । उहाँले नेपालमा आयोजना भएको तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जित्नुभएको थियो । उहाँ महिला ४८ केजीमुनि तौलसमूहमा नेपाललाई कास्य पदक दिलाउनुभएको थियो ।

डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको रुस ओलम्पिक खेलमा देशका रूपमा सहभागी छैन । रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झण्डामुनि रहेर प्रतिस्पर्धा गर्नेछन् ।

खेलकुदको महाकुम्भ ओलम्पिक खेलकुद शुक्रबारदेखि जापानमा आयोजना हुँदैछ । टोकियो ओलम्पिकका लागि नेपालसहित विश्वभरका खेलाडी तथा अफिसियलहरू जापानमा भेला भइरहेका छन् ।

जुलाई २१ देखि नै खेलहरू सुरु हुने भए पनि २३ जुलाईमा मात्रै उद्घाटन समारोह हुनेछ । यसपल्ट पनि कुनै पनि खेलाडीले आफ्नै बलबुतामा छनोट हुन नसकेपछि ओलम्पिक आयोजकले दिने युनिर्भस्यालिटी प्लेस र वाइल्ड कार्डमार्फत् सबै खेलाडीले ओलम्पिक खेल्न लागेका हुन् ।

ओलम्पिकले कुनै पनि देश नछुटुन् भनेर यो व्यवस्था गरेको हो । नेपालबाट युनिर्भस्यालिटी प्लेस कोटाअन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यस्तै वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट ओलम्पिकमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । पौडी, सुटिङ र जुडोका खेलाडीहरू जापान पुगिसक्नुभएको छ । एथलेटिक्स टोली २४ जुलाईमा जापान प्रस्थान गर्ने तालिका तय भएको छ ।

टोकियो ओलम्पिक २०२० को उद्घाटन भएको अर्को दिनदेखि नै सुटिङकी कल्पनाले पनि महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नुहुनेछ । उहाँको खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । छनोट चरण पार गरे अन्तिम चरण साँझ नै हुनेछ ।

२७ जुलाईमा नेपाली पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नुहुनेछ । यो इभेन्ट रातको १०ः१५ बजेपछि सुरु हुनेछ । हिट चरण पार गर्न सकेमा २८ जुलाईमा अर्काे खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरणमा २९ जुनमा प्रतिस्पर्धा गर्ने तालिका रहनेछ ।

२८ जुलाईमा जलपरी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्ने खेलतालिका रहेको छ । उहाँको हिट चरण रातको १०ः१५ बजेपछि सुरु हुनेछ । हिट चरणपछि २९ र ३० जुलाईमा यस इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । यस इभेन्ट्समा गौरिकाको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ ।

३० जुलाईमा एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने खेलतालिका तय भएको छ । खेल दिनको ३ बजेपछि सुरु हुनेछ । यो टोकियो ओलम्पिकको नेपालका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ । हिट चरण पार गरे जुलाई ३१ मा यस इभेन्ट्सको सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुनेछ ।

गौरिका सिंह दोस्रोपटक तथा एलेक्स, सरस्वती, कल्पना र सोनियाले पहिलोपटक ओलम्पिक खेल्न लाग्नुभएको हो । गौरिकाले यसअघि रियो ओलम्पिक २०१६ मा समेत सहभागिता जनाउनुभएको थियो । त्यसबेला उहाँ ओलम्पिककी सबैभन्दा कान्छी खेलाडीका रूपमा चर्चित बन्नुभएको थियो । यसपटक नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २४ जनाको टोली जापान पुग्दै हुनुहुन्छ ।

ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंहले बोक्नुहुने भएको छ । नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया