कबिता : शीतलहर !

शिशिर सापकोटा

कबिता : शीतलहर !

आकाशबाट बर् बर् खसेका शीतहरु।
गन्दै अनि गुनगुनाउँदै बिरहका गीतहरु।।
आगाेकाे निभ्नै लागेकाे रापलाई
आफ्ना दुई हत्केलाले सेक्दै
अनि छेक्दै चिसाे हावाकाे सिरेटाेलाई
त्रिभुवन चाैक काे किनारै मा
नाम्लाे डाेरी राखेर काधँमा
उमेरले पचास काटेका
बुढा तर मनले अझै जवान
हर्क बहादुर राई
अर्थात भरिया दाइ।

एकाबिहानै झिसमिसेमा
चिसाे पुसकाे महिनामा
बाक्लाे कुहिराे छिचाेलेर
पुगेकाछन् घरमै छाेडि
आफ्ना बालबच्चा, श्रीमति
ढल्नै लागेकाे बुढाे घर
जाे उनकै भरमा बल्लतल्ल
अडिएकाे छ ठडिएकाे छ।

पाेहाेर सालकाे हुरिले
उडाएकाे घरकाे छानाे
त्यहि सालकाे बाढिमा
भत्किएकाे घरकाे गाराे
उनकै आस भराेसामा बसेका छन्
बालबच्चा र श्रीमती पनि
त्यहि गाँस बाँस र कपासकाे लागि
साराे र गाह्राे भारी बाेकि
गुजारा चलाईराछन् बर्षाै देखि
उनकाे त्याे बिवशतामा
उनलाई गिज्याईरहेका छन्


सुनसान शहरका गल्लीहरु
अनि एक हुल कुकुरहरु
बाँकि सबै शहरका ब्वाँसाहरु
ताताे सिरककाे न्यानाे रापमा
मस्त निदाएका छन्
मिठाे सपनामा हराएका छन्
तिताे बास्तविकता भुलाएका छन्

आज शहर नउठ्ने रे

आफ्नाे बिस्तरा नछाेड्ने रे
कारण अत्यधिक चिसाे
अबिरल चलेकाे शीतलहर
कम्मल र दाउरा
सरकारले आज बाड्ने भएछ
तर उनी बेखबर छन् यसबारे
उनी पर्खाईमा छन् कामकाे
जसले मेट्नेछ उनकाे भाेक


तब त उनी
जिम्मेवारीकाे भारी उचाली
धुजा धुजा सपना सँगाली
त्याे बिहानीकाे प्रहरमा
टुक्रुक्क बसेका छन्

चिसाे शीतलहरमा।।
आगाे त निभिसके छ
शीतले भिजिसकेछ
तर निभेकाे छैन उनकाे आत्मबल
भिजेकाे छैन उनकाे आत्मबिश्वास।।

प्रतिक्रिया