जानकी :

जानकी गाउँपालिका शिक्षा शाखाको आयोजनामा १२ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा दोस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मानपुरको खेलमैदानमा मंगलबार देखि सुरु भएको छ ।
मंगलबार प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य बाबुराम गौतमले गरेका छन् । खेलको उद्घाटन समारोहमा बोल्दै प्रदेशसभा सदस्य गौतमले गाउँपालिकास्तरबाटै खेलकुदलाई प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ । गौतमले विद्यार्थीको क्षमता बृद्धिका लागि खेलकुद प्रतियोगिता अति आवश्यक रहेको समेत जिकिर गर्नुभयो ।
मानव सभ्यताको सर्वोपरी शिक्षा भएको प्रसंग निकाल्दै गौतमले समाजलाई अगाडि बढाउन सक्ने व्यवहारिक र गुणस्तरिय शिक्षा प्रदान गर्नतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ । शिक्षा देश विकासको पहिलो खुड्किलो पनि भएकोले स्थानीय सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड गौतमले दिएका छन् ।
त्यस्तै , गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकी गाउँपालिकाले भौतिक पूर्वाधार सँगसँगै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा पनि ध्यान दिएर काम गरेको बताउनुभयो । उहाँले शिक्षाको अवस्था सुधार्न योजनावद्ध रुपमा अभियान सञ्चालन गरिएको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भूमिसरा धिताल, जिल्ला शिक्षा विकास समन्वय इकाईका प्रमुख रामसुरेश यादव, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतङ्क बस्नेत लगायतले बोल्नु भएको थियो ।
स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा बोकेर सुरु भएको रनिङ सिल्ड प्रतियोगिता तथा दोस्रो अध्यक्ष कप खेलकुद प्रतियोगितामा २० वटा खेल समावेश छन् भने २५३ वटा पुरस्कारको लागि प्रतिस्पर्धा हुँदै छ ।
प्रतियोगितामा जानकी गाउँपालिका अन्तरगतका प्रा.वि. तह , नि.मा.वि तह र माध्यमिक तह गरेर जम्मा ४६ वटा विद्यालय १२३४ विद्यार्थीले भाग लिएका छन् भने प्रतियोगिता राष्ट्रिय रनिङ शिल्डको छनौट पनि रहेको र प्राथमिक तहको विद्यार्थीको लागि समेत खेल समावेश गरेको गाउँपालिकाका शिक्षा अधिकृत भलाराम पंगालीले बताएका छन् ।
प्रतियोगितामा प्रावीमा १०० मीटर दौड , कुर्ची दौड तथा निमावी तहमा २०० मिटर दौड , ५०० मिटर दौड , रिलेदौड खेल सहभागी छन् भने माबी तर्फ दौड , रिले दौड संगै हाइ जम्प , लङ जम्प , टिपल जम्प र सटफुट खेल सहभागी रहेको शिक्षा शाखा प्रमुख भलाराम रिजाल पंगालीले बताउनुभयो । आज देखि सुरु हुने खेलको समापन ८ गते समापन हुनेछ ।











