शिक्षामा सबैले चासो दिन अध्यक्ष यादवको आग्रह

जानकी :

शिक्षामा सबैले चासो दिन आग्रह

बाँकेको जानकी गाउँपालिकाले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षासम्बन्धि पदाधिकारीका लागि क्षमता विकास कार्यशाला आयोजना गरेको छ ।

तीनदिनसम्म सञ्चालन हुने कार्यशालाको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बिहीवार उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा बोल्दै अध्यक्ष यादवले गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर गाउँपालिकाले काम गरिरहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष यादवले जनप्रतिनिधिले चाहेरमात्रै शिक्षामा सुधार नआउने भएकोले गाउँपालिकामा शिक्षक, अभिभावक, विद्यार्थी, कर्मचारी सबैले चासो दिन समेत आग्रह गर्नुभयो ।

गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षक अभिभावक संघका पदाधिकारी सहभागि कार्यक्रममा अध्यक्ष यादवले भन्नुभयो,‘गाउँपालिकामा शिक्षाको अवस्था सुधार्ने जिम्मा तपाईको हो, के गर्दा राम्रो हुन्छ तपाईले सुझाव दिनुहोस् ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले शिक्षाका समस्या शिक्षकहरुलाईनै थाह हुने भएकोले गुणस्तरीय शिक्षाको लागि कमी कम्जोरी पहिचान गरी सुधार गर्न आग्रह गर्नुभयो । उहाँले शिक्षाको गुणस्तर वृद्धिका लागि गाउँपालिकका अग्रसर भएको बताउनुभयो ।

कार्यक्रमको उद्घाटन समारोहमा गाउँपालिकाका अधिकृत भलाराम पङ्गालीले सबै क्षेत्रलाई डोहो¥याउने शिक्षा क्षेत्र भएकोले यसमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनुभयो । जानकी गाउँपालिकामा ३ मावि, ६ आधारभूत गरी ४५ सामुदायिक विद्यालय रहेका छन् ।

प्रतिक्रिया