नेपालगन्ज :

बाँकेको खजुरा–३ मा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय प्राकृतिक स्रोत व्यवस्थापन कलेजको लागि मूख्यमन्त्री पोख्रेलले पूर्वाधार निर्माणको चुनौती रहेको उक्त क्याम्पसलाई विश्वविद्यालय अनुसन्धान आयोगमा प्रस्ताव गर्न आग्रह गरे गर्दै उनले आगोगबाट आउने सहयोग बराबरै प्रदेशले थपेर दोब्बर बनाउने र उपहारका रुपमा एउटा भवन निर्माण गरिदिने प्रतिवद्धता जनाएका छन् ।
बाँकेको खजुरा–३ मा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय प्राकृतिक स्रोत व्यवस्थापन कलेजको आज शनिवार उद्घाटन तथा भवन शिलान्यास गर्दै मूख्यमन्त्री पोख्रेलले सो कुरा बताएका हुन् ।
संचालनमा आएको स्नातकतह कृषि विज्ञान एउटा मोडेलको रुपमा अगाडि बढाउन क्याम्पस प्रशासनलाई मूख्यमन्त्री पोख्रेलले सुझाव दिए ।
मूख्यमन्त्री पोख्रेलले नमूना क्याम्पसका लागि नमूना विद्यार्थी उत्पादन हुनु पर्ने बताउँदै ५४ विद्यार्थीको कोटा रहेकोमा हरेक विद्यार्थी किसानको जीवनस्तर परिवर्तन ल्याउनेमा प्रयत्नशील हुनु पर्ने बताए ।
खजुरा क्षेत्र बाहिरका विद्यार्थीलाई डेरा लिनु पर्ने होइन डेरामा बसाल्नका लागि किसानले खोज्ने गरी विद्यार्थीलाई क्याम्पसले ज्ञान सीप सिकाउनु पर्ने मूख्यमन्त्री पोख्रेलको भनाई थियो ।

मूख्यमन्त्री पोख्रलले जनता इलम र उत्पादनमा जोडिनु पर्नेमा जोड दिए । उनले मूख्य काम उत्पादन भएको उल्लेख गर्दै सरकारले ज्ञान, सीप, चेतना र प्रविधि दिनु पर्ने र जनता उत्पादनमा जोडिनु पर्ने बताएका हुन् ।
मूख्यमन्त्री पोख्रेलले योजनावद्ध विकासबाटै प्रदेशको समृद्धि हासिल हुने भन्दै प्रदेश नं. ५ सरकार प्रदेश समृद्धिको आधार तय गरेर अगाडि बढेको बताए ।
कार्यक्रममा प्रदेश सांसद आइपी खरेलले साझा प्रयत्नबाट मात्र विकास सम्भव भएको भन्दै विकासको दायित्व र जिम्मेवारी लिन सबैलाई आग्रह गरे ।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली लगायतले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा क्याम्पसलाई नमूना बनाउन अगाडि बढाउनु पर्ने बताए ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका डिन जयप्रकाश दत्तले प्रदेश र स्थानीय सरकारको सहयोगमा कृषि क्याम्पसलाई नमूना बनाउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा क्याम्पस स्थापनाका लागि निरन्तर पहल गर्ने सांसद आइपी खरेललाई सम्मान गरिएको थियो । गत फागुन ११ गतेदेखि स्नातक तह प्रथम वर्ष कृषि विज्ञानको पठनपाठन शुरु भएको बताउँदै क्पाम्पस प्रमुख डा. कृष्णहरि ढकालले अध्यापन, अनुसन्धान र कृषि प्रसार मूख्य उद्देश्य भएको बताए ।











