कोरोना भाइरसका कारण अमेरिकामा पनि एकको मृत्यु

काठमाडौं :

कोरोनाभाइरस अर्थात कोभिड १९ का कारण अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ । 

अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसका कारण विविध किसिमको स्वास्थ्य समस्या रहेका एक ५० वर्षिय पुरुषको वासिङ्टनस्थित उत्तर-पश्चिम राज्यमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेका छन् ।

अमेरिकाका स्वास्थ्य अधिकारीहरूले मृत्यु भएका व्यक्तिले संक्रमणको जोखिम रहेका कुनै पनि क्षेत्रमा भ्रमण नगरेको बताए ।

डिसेम्बर अन्तिमदेखि चीनको हुबेई प्रान्तको वुहानबाट महामारीको रुप लिएको कोभिड १९ का कारण अमेरिकामा मृत्यु भएको यो पहिलो घटना हो ।

सो घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै अन्य मामिलाको सम्भावना भएको भएपनि अमेरिका कुनै पनि परिस्थितिका लागि तयार भइसकेको बताएका छन् ।

अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसको प्रकोपमा रहेका दक्षिण कोरिया, इरान र इटालीका भूभागहरूमा भ्रमण नगर्न भनेको छ ।

हालसम्म संसारका ५७ देशमा कोरोनाभाइरसबाट ८५ हजार मानिसहरू संक्रमित भएका छन् भने यसबाट करिब ३ हजार जनाले आफ्नो ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया