बङ्गालको खाडीलाई प्रभावित तुल्याउने एक दशकयताकै शक्तिशाली चक्रवातका कारण बाङ्ग्लादेश र म्यान्मारको तटीय क्षेत्रमा भीषण बाढी निम्तनसक्ने चेतावनीहरू दिइएका छन्।
केही घण्टामै जमिन क्षेत्रमा प्रवेश गर्ने मोखा चक्रवातलाई अहिले क्याटेगोरी पाँचको आँधीका रूपमा व्याख्या गरिएको छ।
भीषण वर्षासहितको उक्त आँधीको वेग प्रतिघण्टा २५० किलोमिटर रहेको जनाइएको छ।
बाङ्ग्लादेशका विभिन्न ठाउँबाट करिब पाँच लाख मानिसहरू सुरक्षित स्थानमा सारिएको भए तापनि कोक्स बजारस्थित शरणार्थी शिविरमा बस्ने रोहिन्ज्या शरणार्थीहरूको सुरक्षालाई लिएर भने चिन्ताहरू व्यक्त भएका छन्।
कति खतरनाक
एकदमै खतरनाक हुनसक्ने ठानिएको उक्त चक्रवातअघि दक्षिणपूर्वी बाङ्ग्लादेशमा झन्डै ५ लाख मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।
सो चक्रवात १७० किलोमिटर प्रतिघण्टाको वेगले मध्यदिनमा जमिनमा बज्रिने र हावाहुरी र आँधीले १२ फिटसम्म उचाइ लिनसक्ने भनिएको छ। मानिसहरूले विद्यालय भवनभित्र आश्रय लिइरहेका छन् ।
कोक्स बजारमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि त्यसको प्रभाव पर्नसक्ने चिन्ताहरू व्यक्त भएका छन्।
उक्त अस्थायी शिविरमा करिब १० लाख मानिसहरूको बसोबास छ। शिविर क्षेत्रमा पानी पर्न थालेको छ र त्यहाँ चेतावनी स्वरूप रातो झन्डा उठाइएको छ ।
नेपालमा के प्रभाव
नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उक्त शक्तिशाली चक्रवात उत्तरपूर्वी दिशातर्फ उन्मुख हुँदै बाङ्ग्लादेश तथा म्यान्मारको तटीय क्षेत्रतर्फ प्रवेश गरिरहेकाले नेपालमा उल्लेखनीय प्रभाव नदेखिने जनाएको छ।
तर आगामी २४ घण्टामा देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन विभागले भनेको छ।
विभागकी सूचना अधिकारी विभूति पोखरेलले बीबीसीसँग भनिन्, “यो शक्तिशाली चक्रवातको नेपालमा खासै प्रभाव देखिँदैन। पश्चिमी वायु बलियो भएर त्यसले धकेलेको कारण यो म्यानमारतर्फ गइरहेको छ। तर स्थानीय एवं पश्चिमी वायुको कारण हाम्रोमा पनि आंशिक वा सामान्य बदली भने हुनसक्छ।”
पूर्व तयारी
मोखा चक्रवात बांङ्ग्लादेशले करिब दुई दशकयता सामना गरेको सर्वाधिक शक्तिशाली आँधी बन्नसक्ने ठानिएको छ।
मौसम प्रणाली बाङ्ग्लादेश-म्यानमार तटतर्फ अघि बढ्दै जाँदा नजिकैका विमानस्थलहरू बन्द गरिएका थिए।
माझीहरूलाई माछा मार्ने काम रोक्न निर्देशन दिइएको थियो भने असुरक्षित स्थानमा रहेका मानिसहरूका लागि १,५०० अस्थायी आवास व्यवस्था गरिएको थियो।
“हामी विपद् सामना गर्न तयार छौँ… हामी एउटा पनि जीवन गुमाउन चाहँदैनौँ,” कोक्स बजारका अतिरिक्त डेप्यूटी कमिशनर विभुशन कान्ति दासले बीबीसीसँग भने।
सयौँको सङ्ख्यामा परिवारहरू तोकिएका सुरक्षित आवास क्षेत्रमा आएका छन्। कैयौँ कोक्स बजारका कक्षा कोठाहरूमा बसिरहेका छन्।
केहीले प्लास्टिक झोलाहरूमा आफ्ना सामानहरू पनि ल्याएका छन् भने कतिपयले पशु चौपाया र कुखुरासमेत लिएर आएका छन्।
कक्षा कोठामा आफ्नी दुई महिनाको सन्तानसँग बसिरहेकी १७ वर्षकी जन्नतले अघिल्लो वर्षको चक्रवातले आफ्नो घरमा क्षति पुर्याएको भन्दै अहिले पनि आफू चिन्तामा रहेको सुनाइन्।
उनले केही लुगाहरू झोलामा हालेर ल्याएकी छन् भने उनका श्रीमान् उनलाई साथ दिन आउनुअघि तटीय क्षेत्रमा रहको घरमा रहेका सामानहरूलाई सुरक्षित पार्न लागिपरेका छन्।
जन्नतले भनिन्, “अब के हुन्छ भन्नेमा म चिन्तित छु। मेरो घर फेरि डुब्छ कि भन्ने चिन्ता लागिरहेको छ।”
शरणार्थी शिविरमा विशेष चिन्ता
बाँस र त्रिपालले बनेका अस्थायी शिविरहरूमा बसिरहेका म्यानमारबाट आएका रोहिन्ज्या शरणार्थीहरू पनि चक्रवातका कारण जोखिममा छन्। राष्ट्रसङ्घले आफूले सकेसम्म उक्त क्षेत्रलाई सुरक्षित बनाउन काम गरिरहेको जनाएको छ।
बाङ्ग्लादेश सरकारले शरणार्थीहरूलाई शिविरबाट बाहिर जान दिँदैन। त्यही भएर धेरैजना आफ्नो छाप्राहरूमा आँधीको प्रभाव देखियो भने के गर्ने भन्ने विषयलाई लिएर अत्तालिएका छन्।
त्यस्तो अस्थायी शिविरमा बस्नेमा ४० वर्षका मोहम्मद रफिक र उनको परिवार पनि हो। ठूलो झरी र आँधीबेहरीलाई उनको छाप्रोले थेग्न सक्दैन।
उनले भने, “हामीले गर्न सक्ने भनेको प्रार्थना मात्रै हो। हामीलाई सुरक्षित हुनका लागि जाने ठाउँ पनि छैन र सहयोगका लागि मुख ताक्ने ठाउँ पनि छैन।
रफिक र उनको परिवारले प्रार्थनाबाहेक केही गर्न नसक्ने बताएका छन् । न्चक्रवातले भीषण वर्षा पनि निम्त्याउने ठानिएको छ।
त्यसबाट पहाडको छेउमा बनाइएका शिविरका मानिसहरूलाई पहिरोको गम्भीर जोखिम हुनसक्ने आकलन गरिएको छ।
तर शरणार्थी र शिविर हेर्ने बाङ्ग्लादेशी सरकारको कार्यालयका मोहमद समसुल डोउजाले शिविरहरू चक्रवातसँग जुध्न तयार हुन भन्नका लागि आफूहरूले गैरसरकारी संस्थाहरूसँग काम गरिरहेको बताए।
उनले शरणार्थीहरूलाई शिविरबाट अन्यत्र लैजानु सहज काम नभएको बताए।
आँधी आउने दरमा जलवायु परिवर्तनले कतिको प्रभाव पारेको छ भन्ने प्रस्ट छैन।
तर हामीलाई के थाहा छ भने समुद्रको सतहको बढ्दो तापक्रमले माथिको हावालाई तातो बताउँछ र त्यसले आँधीबेहरी र चक्रवातलाई तेज बनाउन थप शक्ति प्रदान गर्छ।
त्यसको परिणाम स्वरूप ती भीषण वर्षासहित अझ शक्तिशाली हुने ठानिएको छ।
औद्योगिक युग सुरु भए यता विश्व १.१ सेल्सियसले तातो भइसकेको छ र संसारभरका सरकारहरूले उत्सर्जन कटौती नगरेसम्म तापक्रम बढिरहनेछ। -बिबिसी नेपाली