रामु ओली
बुधबार बिहान करिब ११ बजे फोन आयो ।
फोन उठाए पछिको पहिलो शब्द थियो – “रामु भाई आज बैंक जाम है, वृद्धबृद्दाहरुको त्यो कष्ट छ भत्ता बुझ्न, बैंकले केही गर्दिन्छ कि कुरा गरौंला”
फोन सामाजिक अभियन्ता तथा साइकलिस्ट तेज बिक्रम शाह दाइको थियो । एक दिन अगाडी उहाँले आफ्नो फेसबुकमा हालेको पोष्ट सम्झिए ।
वृद्ध भत्ता बुझ्न नेपालगन्जको यो चर्को गर्मीमा घन्टौं सडक पेटिको बसाई अनि त्यो भिड । दृश्य कम्ती कष्टकर थिएन । लगातार ५-१० मिनेटको सिधा घामको बसाई नेपालगन्जमा कुनै सजाए भन्दा कम होईन त्यस्तोमा वृद्धबृद्दाहरु घण्टौ पालो कुरेर वृद्ध भत्ताको लागी त्यसरी दुख पाउनु वा दुख दिनु उत्तम होईन ।
बैंकका आफ्नै बाध्यता होलान् । सरकारको आफ्नै कानुन होला । भत्ता बुझ्ने वृद्ध बा-आमाका पनि आफ्नै दुख छन् र त उमेरको ख्याल नगरी चर्को घाम सहेकै छन् । तर एउटै भवनमा बस्ने नगरका जनप्रतिनिधिको मन दुखेन होला ! यो दृश्यले ?
दृश्य नेपालगन्ज उपमहानगरपालिकाको भवनको सटर छेउको हो । त्यो त्यही भवन हो जहाँ नेपालगन्ज नगरका मेयर र उपमेयर बस्छन् । त्यो त्यही भवन हो जहाँ कार्यपालिका सदस्य, वडापालिका र वडाका जनप्रतिनिधि आउजाउ गर्छन् । बैठक गर्छन् र जनताको काम गर्ने वा गरेको भनेर सेवा सुबिधा लिन्छन् ।
तर त्यो दृश्य देख्दैनन् । वा देखे पनि त्यो दृश्यको दुख महसुस गर्दैनन् । यात उनिहरु संग त्यो दृश्यमा भएको समस्या समाधान गर्ने ल्याकत नै छैन ।
मैले सोचे साच्चिकै ल्याकत नै छैन । एकै छिन सोचे शब्द कडा त भएन ?
फेरि सोचेर मैले निर्णय गरे साच्चिकै त्यो नगरपालिकाको भवनमा बस्ने वा आउजाउ गर्ने जनप्रतिनिधिको ल्याकत नै छैन समस्या समाधानको । र संग संगै त्यो दृश्यले जनप्रतिनिधिलाई पोल्दैन रैछ । मैले मेरो शब्द गाठो पारे ।
यो किन भन्दै छु ? पढ्दै गर्नुहोला । बुझ्नु हुनेछ ।
तेज बिक्रम शाह दाइले सामाजिक संजालमा फोटो मात्रै हालेनन् । भोलिपल्ट बैंकमा गएर अनुरोध गरे समस्या समाधानको लागि । जसको साक्षी म स्वयम छु ।
ठुलै पहाड फोड्नु पर्ने केही रैनछ । अनुरोध पछि बैंकका शाखा प्रबन्धक पाण्डे सरले तत्कालै भित्र जस्तै बाहिर पनि स्वास्थ पिउने पानीको ब्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरे । वृद्ध भत्ता बुझ्नको लागी वडा देखी नै टोकन सिस्टममा लगेर भिड कम गर्न सकिने उपाय सुनाउनु भयो र सोको लागी वडा संग समन्वय गर्ने बचन दिनुभयो ।
जनताको काम । वडा वा पालिकाको समन्वय आवश्यक पर्ने काम । बैंकले भन्दा पनि यहि कुरा वडा वा पालिका स्वयमले महसुस गरेर समन्वय गरेको भए के जान्थ्यो होला र ? मेरो मनमा उब्जेको प्रश्न ।
तिनै बुवा आमाको भोटले जितेका । उनैका भोटले जनप्रतिनिधि कहलिएका । सेतो घरमा बस्ने ठुला मान्छेले पहल गरेको भए कति उत्तम हुन्थ्यो होला ?
तेज बिक्रम शाहको मन पोल्ने दृश्यले किन सेतो घरमा बस्ने ठुला मान्छेको मन पोलेन ? सानो दुई शब्दको प्रश्न अनुत्तरित छ ।
नोट : यी जस्तै दृश्य प्राय नेपालगन्जका कयौं बैंकको अगाडी लगभग देखि रहन्छन् । सामाजिक सुरक्षा भत्ताको समयमा देखिने यो दृश्यमा बुढा तपाईं हाम्रै बुवा आमाका अनुहार हुन्छन् । नभए छिमेकी ।