नेपालगन्ज : बाँकेको खजुरामा आधुनिक बसपार्क बन्ने भएको छ ।
अनुमानित कुल लागत १६ करोड ५१ लाख रुपैयामा खजुरा गाउँपालिका वडा नम्बर ३ को क गाउँमा डेढ बिगाह क्षेत्रफलमा बसपार्क बन्ने भएको हो ।
खजुरा क्षेत्रमा दिन प्रतिदिन सवारी साधनहरुको चाप बढ्दै गइरहेको अवस्थामा बसपार्क टड्कारो बनिरहेको आवश्कतालाई महसुस गर्दै गत आवमा खजुरा गाउँपालिकाले बसपार्क निर्माणको लक्ष्य राखेको थियो ।
बिहीवार खजुरामा बन्ने बसपार्क क्षेत्रमा खजुरा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा प्राबिधिकले जग्गा नापजाँच र निरक्षण समेत गरेका छन् ।
खजुराबाट नेपालगन्ज, गुलरीया, राजापुर हुँदै टिकापुर, धनगढि लगाएतका क्षेत्रका लागी छुट्ने साना तथा ठुला सवारी साधन सडक छेउमै राखिने गर्दा दुर्घटना र जाम हुने समस्या बढ्न थालेपछि स्थानिय सरकार खजुरा बसपार्क बनाउन अग्रसर देखिएको हो ।
खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर विकले खजुरालाई बसपार्क अति आवश्यक देखिएकाले यसतर्फ पालिकाले विशेष ध्यान दिएर निर्माण गर्ने गरि प्रारम्भिक कार्यको सुरुवात गरिएको उल्लेख बताएका छन् ।
खजुरा गाउँपालिकाको २०८१-८२ को बजेट मार्फत बसपार्कको लागी २ करोड बजेट बिनियोजन गरेको छ भने उक्त रकमले बसपार्कको क्षेत्रमा माटोपटान, पर्खाल निर्माण र गेट निर्माणको कार्य गरिने पालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानले जानकारी दिएका छन् ।
खजुरामा बन्ने आधुनिक बसपार्कमा ट्याक्सी स्ट्याण्ड, गार्ड हाउस, टिकेट काउन्टर, प्रतीक्षालय, क्यान्टिन र लामो अवधिको पार्किङ लगायत रहेने छन् ।