रामु ओली / नेपालगन्ज :

बिक्रम सम्वत २००२ सालमा निस्किएको नेपालको मोरु पाँच र दशको नोट देखाउदै उनी भन्दै थिए त्यसबेला गभर्नर हुदैन थ्यो त्यतिबेला गभर्नरलाई खजान्जी भनिन्थ्यो । उनी अर्थात नेपाल लगायत बिश्वका कयौं देशका पैसा (नोट र सिक्का) संग्रह गर्दै आएका सुदिप मल्ल ।
मल्लले देखाउदै गरेको नेपालको पुरानो नोटमा ‘श्री नेपाल सरकार यसको रुपैयाँ भुक्तान माग्न आएमा सदर मुलुकी खाना बाट मोरु दस तुरुन्त पाइने छ’ लेखिएको छ ,जसमा खजान्जी नरेन्द्र राज पाण्डेको नाम उल्लेख छ ।
हरेक मानिसका एकै जसो धारणा हुदैन , त्यसैले हरेक मानिसका इच्छा र रहर फरक हुन्छन् । मल्लको पनि पनि आफ्नै किसिमको इच्छाले पुराना नोट संग्रह गर्न प्रेरित गर्यो । उनले बिश्वका १८५ भन्दा बढी देशको नोट संग्रह गरेर राखेका छन् भने २८ वटा नेपालको पुरानो नोटहरु समेत सामेल छन् ।

नेपालको विभिन्न कालखण्डमामा निस्किएका नोटहरु संग्रह गरेर राखेका मल्लसंग २००२ मा निस्किएको मोरु पाँच , दस , २००८ को मोरु एक, २०१३ मा निस्किएको रुपैयाँ एक र मोरु एक , तथा त्यसपछिका एक , दुई , पाँच , दस , प्लास्टिकको दस , बीस , पचास , एक सय , पाँच सय , एक हजार , पच्चीस रुपैयाँ तथा दुई सय पचास रुपैयाँको नोट संग्रहित छन् भने उतिकैकै मात्रामा विभिन्न कालखण्डमा निस्किएका नेपालका सिक्काहरु समेत संग्रह गरेका छन् ।
कक्षा ६ मा पढ्दा हजुरआमाको पुरानो सिक्काहरु लुकाएर पैसा संग्रह सुरु गरेका मल्ल कालान्तरमा भने बिश्वका अधिकाशं देशका नोटहरु संग्रह गर्दै गएको बताउछन् मल्ल ।
नेपालगन्जमा रहेको भिन्टेज कलेज अफ होटेल एण्ड टुरिज्मका प्रीन्सिपल समेत रहेका सुदिप मल्लले कलेजको आफ्नो कार्याकक्ष तथा घरमानै ती नोट तथा सिक्काहरु संग्रह गर्दै आएका छन् ।

मल्लको संग्रह गर्ने इच्छा नेपाल लगायत बिश्वका नोटहरुमा मात्रै सिमित भने छैन । उनले चिट्ठीका स्ट्याम्पहरु (हुलाक टिकट) समेत संग्रह गरेर राखेका छन् । बिश्वका १५०० बढी चिठिका स्ट्याम्पहरु उनि कहाँ संग्रहित छन् भने जसमध्ये ५०० बढी नेपालका रहेका छन् ।
मल्लले चिठिका स्ट्याम्प जम्मा गर्ने क्रममा फोहोरका भाडाहरु , होलाकका फालेका फोहोरहरु समेत कोट्याउने गरेको अतित सम्झिदै भन्छन् , – ‘त्यस समय मैले त्यस्ता फोहोरमा फालिएका चिट्ठीका स्ट्याम्पहरु जम्म गर्थे त्यो फोहोरबाट स्ट्याम्प खोज्दै गर्दा शिव डोटेल दाइले भेटेपछि भने दाइले मलाई स्ट्याम्पहरु खोज्नमा सहयोग गर्नुभयो’
त्यस्तै उनलाई संग्रह गरिएका सामाग्रीहरुलाई क्यानभासमा राख्दा अनु खत्रीले सहयोग गरेको हो बताउछन् । भने अझ धेरै त्यस्ता पुराना तर इतिहास बोकेका बहुमुखी सामाग्रीहरु ब्यवस्थापन गर्नै बाकी रहेको बताउछन् मल्ल ।

पुराना तर महत्त्वपुर्ण इतिहासका हिस्साहरु समेटिएका बस्तु , मुद्रा , सिक्का होस वा अन्य डकुमेन्टनै किन नहोस त्यस्ता सामाग्री संग्रह गर्ने बानी र इच्छा बोकेका मल्लले २०३६ सालमा भएको जनमतसंग्रहको समेत मतपत्र राखेका छन् । जसमा पहेँलो र निलो दुई किसिमको मतपत्र थिए पहेँलो अर्थात पन्चायत ब्यवस्था र निलो बहुदलीय साशन ब्यवस्था ।
उमेरले ३६ औं बसन्त पार गर्दै गरेका मल्लले बाल्यकाल याद दिलाउने बाल्यकाल तथा स्कुले अवस्थामा प्रयोगमा आएका पोस्टकार्डहरुको समेत संग्रह गरेका छन् ।

एक दशक अगाडी सम्म नयाँ बर्ष , दशै , तिहार जस्ता पर्वमा वा जन्मदिनमा शुभकामना आदानप्रदान गर्ने महत्त्वपूर्ण कडिको रुपमा रहेको पोस्टकार्ड आजका दिनमा लोप भैसकेको छ , त्यही लोप भैसकेका पोस्टकार्ड देखाउदै मल्ल भन्छन् – यी सबै हाम्रा इतिहास हुन् , हाम्रो अतितमा महत्त्वपुर्ण हिस्सा ओगटेको यी बस्तुहरु हामी माझ छैनन् , समय संगै प्रबिधि संगै हामिले हाम्री अतितलाई भुलिसकेका छौ तर यी बस्तुहरुको महत्त्व उतिकै छ जतिबेला हामिले प्रयोगमा ल्याएका थियौं । साथै यी बस्तु संग हाम्रो आत्मीयता जोडिएको छ , मन गासिएको छ , अनि अतितका महत्त्वपूर्ण समय बितेका छन् त्यसैले ओअनि महत्त्वपूर्ण लाग्छ , आफ्नो रहर इच्छाले यी चिजहरु संग्रह गरे पनि अहिले यिनै सामाग्री बहुमुल्य बनेका छन् , मल्ल बताउछन् ।

















