एजेन्सी :

इटलीमा कोरोनाभाइरस संक्रमणका कारण एकै दिनमा झन्डै ५०० जनाको मृत्यु भएको छ ।
त्यो सङ्ख्या, चीनमा गत डिसेम्बरमा कोरोनाभाइरसको महामारी सुरु भएपछि देशव्यापी हिसाबले एकै दिनमा मृत्यु हुने बिरामीको उच्चतम सङख्या हो ।
इटलीमा थप ४ सय ७५ जनाको ज्यान गएपछि कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या करिब ३,००० पुगेको छ । केही साताअघिदेखि आवतजावतमा प्रतिबन्ध लगाइएको छ तर केही इटालेलीहरूले प्रतिबन्धको बेवास्ता गरिरहेका छन् । आन्तरिक मन्त्रालयका अनुसार मङ्गलवार जरुरी कामबिना बाहिर रहेका ८ हजार मानिस समातिएका थिए ।
पहिलो दिनको तुलनामा त्यो सङ्ख्या चार गुणाले बढी हो । त्यहाँ निषेधाज्ञा अटेर गर्नेलाई जरिवाना वा तीन महिनाको कैद सजायको व्यवस्था छ । कोरोनाभाइरसको त्रासबीच युरोप र अन्यत्र पनि उच्च सतर्कता अपनाइएको छ । विभिन्न देशमा स्वास्थ्य सङ्कटकाल लगाइएका छन् ।
छिमेकी जर्मनीमा चान्सलर एन्गेला मर्केलले आफ्नो देशले अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेको बताउँदै मानिसहरूलाई भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धहरूको पालना गर्न आग्रह गरेकी छन् ।
फ्रान्समा मङ्गलवारदेखि सबै मानिसलाई अत्यन्त जरुरी काम नभएसम्म आफ्नो घरमै बस्न आदेश दिइसकिएको छ ।










