सुन्दर गुरुङ :

सधैं खुला सिमाना पारीको सानो बजारले नेपालगन्जको ब्यापार चौपट पार्यो भनेर कराउने ब्यापारी साथीहरुका लागि अहिलेको कोरोना महामारीको सन्त्रासले नेपाली ग्राहकहरुमा भएको उनीहरू प्रतिको अविस्वासलाई हटाउने एउटा सुनौलो अवसर ल्याएको छ । यसलाई यहाँका ब्यापारीहरुले कसरी सदुपयोग गर्छन यो कुरा यहि चैत्र महिनाले बताउँछ ।
नेपालगन्ज र रुपैडिहाको भाउमा खासै अन्तर छैन भन्ने ब्यापारी साथीहरूले अबको यो एक महिनामा यो कुरा व्यवहारमा प्रमाणित गर्न सके पछि मात्रै नेपालगन्जका ग्राहकहरुको मन र बिस्वासलाई जित्न सक्छन र यदि यसपटक त्यो मन र बिस्वास जित्न सके फेरि सधैंको लागि खुला सीमा पारीको बजार भाउले यहाँको बजार भाउलाई कहिल्यै पनि असर गर्न सक्तैन।
यो कुरा यहाँका सबै ब्यापारी , ब्यवसायी र उद्योगपति लगायत सिङ्गो उबासङ्घले बेलैमा सोचेर अविलम्ब बजार भाउ स्थीर राख्न , कालाबजारी र जमाखोरीहरुलाई निरुत्साहित पार्न एकजुट भएर लाग्न नितान्त जरुरी छ ।
अन्यथा नेपालगन्जको ब्यापार ब्यवसायले कहिल्यै पनि रुपैडिहा जाने ग्राहकहरुलाई रोक्न सक्तैन । अहिले यो विषम परिस्थितिमा राज्यले अत्यावश्यक सामग्रीहरुको निकासी पैठारीलाई यथावत राखी सर्बसाधरणहरुको खुला आवत – जावतलाई नियन्त्रण गरे पछि दैनिक रुपमा दैनिक उपभोग्यका सामानहरु लिन रुपैडिहा बजार जाने ठुलो संख्या अब रोकिएको छ ।
त्यो संख्या नेपालगन्जले थेग्नु पर्ने हुन्छ, यतिबेला ती ग्राहकहरुलाई यहाँको बजारले साच्चिकै रुपैडिहा र नेपालगन्जको भाउमा खासै अन्तर रहेनछ भन्ने सम्म बिस्वासमा पार्न सफल हुन सके ती ग्राहकहरु फेरि फेरि रुपैडिहाको धुलो , धक्का र त्यहाँका पुलिस र एस एस बी को गाली बेज्जती खान जादैनन यो कुरा पक्का हो ।
तर यहि हो मौका बर्ष दिनको सुकेको ब्यापारको घाटा यहि बेला उकास्नु पर्छ भन्ने मानसिकता बाट यदि यहाँका ब्यापारीहरुले ग्राहकहरुलाई व्यवहार गर्न थाले भने फेरि कहिल्यै पनि यहाँको ब्यापारी माथि यहाँका ग्राहकहरुको बिस्वास टिक्न सक्तैन । यो मेरो नितान्त निजी बिचार हो । सबैलाई चेतना भया । धन्यवाद !
(सुन्दर गुरुङको फेसबुक वालबाट)










