महाकालीमा हाम फालेर बाँच्दैछन मजदुर

बिष्णु पोखरेल

कोरोनाले नेपालबाट भारत र भारतबाट नेपाल अाई मजदुरी गर्ने तप्कालाई अति पिरोलेको छ । दुख माथि दुख थपेको छ र अझ अमानवीय व्यवहारमा पिसलिएको अवस्था देखाएको छ । संसारमा प्रतिहजार १ जनामा १ जनालाई कोरोना भाईरस संक्रमण पुष्टि भईसकेको छ, संसारका २०० देशमा सबैमा संक्रमण देखिई सकेको छ, नेपाल र भारत पनि समस्यामा परिसकेका छन । समस्याको घडिमा दुनियाँका मान्छेले अर्को कुनै मान्छेलाई सहजता पुर्वक बाँच्न सहयोग गर्नु नैतिकता देखाउनु, सम्मान गर्नु नै समाजसेवा र मानवअधिकार हो ।

भारतमा लकडाउनले श्रमजीवी बर्ग र आफ्नै घर नहुने भाडावालाई निकै कठिनाइ पुगेको खबर आईरहेको छ । नेपालमा जस्तै भारतमा पनि संकटको अवस्थामा खाद्य अधिकार र श्रम अधिकारका बहसकर्ता, एनजीओ कर्मी, लंगरदाता, भोजनदाता दुलोभित्र छिरेका छन । तिनीहरूको हैसियत उदाङ्गो भैसकेको छ । बाक्लो बस्ती, फ्लाई अोभर, सडक किनारा र बस अड्डामा बेसहारा र बिपन्न नागरिकको भिड छ । खानेकुरा र आराम छैन, नगन्य व्यक्ति बाहेक स्वतः फुर्तरुपमा हातेमालो गर्नेको पहलकदमी निकै कम देखिएको लेखनहरु अाएका छन । मन्दिर, धार्मिक यात्रा तथा पुजाअाजामा संभ्रान्त देखिन र देखाउन मन खोलेर खर्च गर्नेहरु संकटका अवस्थामा सहयोगमा रुचि घटाउदै छन, मन मुटु र आँखा चिम्लिदै छन ।

उसो त लकडाउनले भारतमा निकै सकारात्मक परिणाम दिएको छ, यो अति जरुरी पनि छ । भारत जस्तो बिशाल जनसंख्या भएको मुलुकमा अन्यत्रको तुलनामा निकै कम संक्रमित त थोरै मृत्यु हुनु त्यहाँको स्वास्थ्य सुबिधा मजबुत भएर हैन । हात नमिलाउने, अंकमाल नगर्ने, किस नगर्ने परम्परागत चलन र हालको कठोर लकडाउन नै हो । तर लकडाउनमा मानवीय समस्या र आधारभुत वश्यकताका सामाग्री र बाँच्नकै लागि चाहिने बन्दोबस्ती छ छैन यता ध्यान दिन भारत चुकेको छ ! भारतका युपि, उत्तराखण्ड र बिहारका सडक, बस-अड्डा र सिमावर्ती नाकामा यस्ता समस्या चुलिएको पाईएको छ ।

हालै नेपालको पश्चिमी सिमानाका धार्चुलामा छेकिएका नेपाली केही नागरिक हातमुख जोर्न नसकेर सडकको लकडाउन र बन्द छलेर महाकालीको छालमा हाम फालेर वारि आएको कठोर र मुटु चिर्ने खबर छ । सहजतामा श्रमजीवीको पसिना र समय उपयोग गर्ने मुलुकका प्रशासकले संकटमा न्युनतम सेवा दिन नसकेर अपार खोलामा हाम फाल्नुपर्ने अवस्था सिर्जिनु पर्ने न त भारत नेपाल मुलुकको मानवीय विवेक हो, न त अन्तर्राष्ट्रिय श्रम अभिसन्धीको पालना नै हो ! उसो त नेपालका अरु सिमाक्षेत्रमा पनि नागरिक र मजदुरले अमानवीय यातना र दुख नपाएका हैनन, तर महाकाली पारी त बाँच्नकै लागि नदीमा हाम फाल्ने अवस्था निकै कहालीलाग्दो हो ।

नेपाल भारत मैत्रीपूर्ण सम्बन्ध मात्रै हैन युगौंदेखि संकटमा साथसाथै छन, पदविपदमा हातेमालो छ, मर्दा पर्दा समवेदनशील छन र समवेदना बाँडछन । तर किन महाकालीको छालमा हामफाल्ने परिस्थिति सिर्जना भयो सोच्दै मन मुटु छियाछिया हुन्छ ।

नेपाल-भारत असल छिमेकी हुन, हाम्रो सिमारेखाको भन्दा बलियो रगतको नाता छ । हाम्रा युवाले भारतको रक्षा गर्न ज्यान फालेका छन, रगतकै नाताले हजारौं लाखौं परिवारलाई बाँधेको छ । अत: रगतको नाताको मर्म बुझ, नेपालमा अडकेका भारतीय र भारतमा अडकिएका नेपाली नागरिकको फ्नै नागरिक सरह सम्मान र मानवीय हैसियत देउ ।

प्रतिक्रिया