एजेन्सी :

कोरोनाभाइरस संक्रमणका कारण चीनमा भन्दा अमेरिकामा धेरै मानिसको मृत्यु भएको छ । अमेरिकामा एकैदिन ७२६ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या तीन हजार ८६० पुगेको छ ।
जबकि चीनमा अहिलेसम्म तीन हजार ३०९ जनाको मृत्यु भएको छ ।
चीनले आफ्नो देशमा आन्तरिक रूपमा संक्रमित हुने क्रम नगन्य मात्र भएको जनाएको छ । तर, विदेशबाट आउने चाइनीजका कारण संक्रमितहरु भेटिइरहेको चीनको भनाइ छ ।
तर, अमेरिकामा भने संक्रमित र मृत्युदर उच्च छ । अहिलेसम्म त्यहाँ एक लाख ८७ हजार ९१७ संक्रमित भएका छन् । तर, चीनमा भने ८१ हजार ५१८ जना मात्र संक्रमित भएको तथ्यांक वल्र्ड व मिटरले उल्लेख गरेको छ ।
अमेरिकाको न्यूयोर्क सबैभन्दा बढी आक्रान्त छ । यहाँ सबैभन्दा बढी ९३२ जनाको मृत्यु भइसकेको छ । त्यसपछि न्यूजर्सीमा २४७ र वाशिङ्टनमा १५० जनाको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार पत्रकार सम्मेलनमा अबका दुई हप्ता अमेरिकाका लागि कष्टपूर्ण हुने बताएका छन् । उनले भनेका छन्, “हामी एक घातक भाइरसका साथ युद्ध लडिरहेका छौँ । हामी सबै मिलेर पूरा ताकतका साथ युद्ध लड्नु पर्नेछ ।”
उक्त पत्रकार सम्मेलनमा उपस्थित ह्वाइट हाउसमा कोरोनाभाइरस मामिलाका संयोजक डा. डेबोरा ब्रिक्सले अमेरिकामा एकदेखि दुई लाख ४० हजार मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएका छन् ।
ह्वाइट हाउसकै अर्का अधिकारी डा. एन्थोनी फाउचीले यो संख्या अझ बढ्न सक्ने बताएका छन् । उनले भनेका छन्, “आउँदो ३० दिनभित्र महामारी नियन्त्रणका लागि हाम्रो टास्क फोर्सले काम गरिरहेको छ । तर, हामी खराब परिस्थितिका लागि पनि तयार रहनुपर्छ ।”










