अमरराज शर्मा घिमिरे

विश्व अर्थ व्यवस्था दिन प्रति दिन ओरालो लागेको छ । सम्पूर्ण आर्थिक गतिविधि ठप्प छन् । हरेक व्यक्तिमा त्राश छाएको छ । त्यसमा पनि हाम्रो जस्तो देशको अवस्था झन नाजुक बनेको छ । सन् २०१२ को भूइंचालो हामीले विर्सि सक्यों ।
त्यति बेला पनि कृषि क्षेत्रले केही सहयोग पुर्याएको थियो । साथै, कृषिका क्षेत्रमा केही रचनात्मक कामको खोजि पनि भएको थियो तर केही नयाँ कुरा भएन । यस पटक पनि कृषि क्षेत्रलाई अवसर प्राप्त भएको छ, केही नयाँ कुरा गर्ने । हामी कृषि कर्मीहरुले यस तर्फ गहिरिएर सोंच्ने बेला आएको छ ।
यस्ता घटनाले बारबार हामीलाई – विकासका स्वरुप हाम्रोपनको हुनु पर्छ, अन्यत्रबाट जस्ताको त्यस्तै नक्कल गरी थोपरिएको विकासको स्वरुपले काम दिदैन यसका लागि विकाससँग सँगै अनुषन्धान पनि हुनु पर्छ भन्ने हो । कृषिका क्षेत्रमा हेर्ने हो भने तुलनात्मक लाभका क्षेत्र र अवसर लागत बढी भएका क्षेत्रको पहिचान गर्ने काम भएको छैन, कृषि बजार सरकारको नियन्त्रणमा छैन, एक जना व्यापारीले कुन सामान विक्रि गर्दा बढि नाफा हुन्छ त्यही सामान आयात अनुमति लिन्छ र स्वदेशी उत्पादनले बजार पाउँदैन । यो अवस्था रोक्न जरुरी छ । कुन सामान आयात गर्ने भन्ने निर्णय सरकारले गर्नु पर्दछ । हामीले सामान आयात गर्न सकेनौं भने समस्या उत्पन्न हुन्छ भन्ने सोंच प्रशासनिक व्यक्तिमा हावी छ ।
उपभोक्ताबादि प्रवृतिका कारण आफ्नो देशको उत्पादन प्रति मायाँ छैन । हाम्रो कृषिलाई असर गर्ने बाह्य तत्व हुन यी तत्वहरु । बर्तमान संघिय कृषि मन्त्रिज्यूले अगाडि सारेका संरक्षित कृषिलाई अव द्रुत गतिमा अगाडि बढाउन जरुरी छ । कृषिमा जनशक्तिको अभाव छ । कृषिका दरबन्दीलाई प्रदेश र स्थानियतहमा पर्याप्त मात्रामा बढाउन जरुरी छ र कृषि अनुषन्धानलाई पालीकातह सम्म पुर्याउन जरुरी छ ।
स्थानिय तहमा हुने योजना तर्जुमालाई बस्तितहमा ओराल्नु पर्दछ । बस्तितहमा एकिकृत योजना तर्जुमा गरेर अनुषन्धान र प्रसारलाई संगसंग्गै काममा लगाउनु पर्दछ । हरेक वडामा सरकार नियन्त्रित बजार स्थापना गरी खाद्यान्न भण्डारण र वितरणको व्यवस्था गर्न सकिन्छ । कुन ठाउँमा कुन बालीको खेती गर्ने ? कुन जातको खेती गर्दा बढि नाफा हुन्छ ? सो को एकिन गरेर खेति गराउनु सकिन्छ । उत्पादित बस्तु सहकारी मार्फत बेच विखनको व्यवस्था गर्नु पर्दछ ।घर घरमा प्राङ्गारीक मल- जैविक विषादी, घरेलु जडिबुटिबाट बनाउन सकिने विषादी, कम्पोस्टमल, गड्यौलि मल, झोल मल, हरियो मल, बायोचार आदि को उत्पादन र प्रयोगमा जोड दिनु पर्दछ ।
हरेक कृषि प्राविधिकलाई कम्तिमा एउटा एउटा व्यावसायिक फर्म संचालन गर्न लगाउनु पर्दछ । यसो गर्नाले कृषि नपढिकन कृषि पेशा अपनाएकालाई थप हौषला प्राप्त हुने छ । अव सवै स्थानिय तहले त्यहाँको जनसंख्यालाई पर्याप्त खाद्यान्न आपूर्ति गर्न कति उत्पादन गर्न आवश्यक छ सो को तथ्याङ्क तयार पारी कार्यक्रम संचालन गर्ने र कम्तिमा एउटा वडामा एउटा सहकारीसंस्था मार्फत कृषकको उत्पादन सङ्कलन गरी बजारीकरण गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
यीनै सहकारीका अन्तरसहकारी संजाल मार्फत बढी भएका स्थानका कृषि उत्पादन अन्य स्थानमा बजारीकरण गर्ने व्यवस्था मिलाउन सकिन्छ ।
यो विश्वव्यापि माहामारी पछि धेरै युवाको विदेशको नोकरी नफर्कन सक्छ ।
ती युवालाई कृषि कर्ममा लगाउने वातावरण सृजना गर्नु पर्दछ ।यसरी कृषि उत्पादनमा लाग्ने युवाका लागि स्थान सुहाउँदो प्रविधि विकासको काम कृषि अनुषन्धानले गर्ने र यसरी विकास गरीएका प्रविधि प्रसार कार्यकर्ताका माध्यमबाट कृषि व्यवसायी समक्ष पुर्याउने संरचना निर्माण गर्नु पर्दछ ।
अहिले चेत नआए कहिले आउने ? अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कस्ले गर्ने ?
( लेखक शर्मा बरिष्ठ कृषि प्रसार अधिकृतको रुपमा कृषि व्यवसाय प्रबर्द्धन सहयोग तथा तालीम केन्द्र, खजुरामा कार्यरत हुनुहुन्छ )










