राप्तीसोनारीको शम्सेरगन्जमा वाइफाइ सुबिधासहित क्वारेन्टाइन

बाँके :

राप्तीसोनारीको शम्सेरगन्जमा वाइफाइ सुबिधासहित क्वारेन्टाइन

राप्तीसोनारी गाँउपालिकाले वाइफाइ सुबिधा सहितको क्वारेन्टाइन शनिबारबाट सञ्चालनमा ल्याएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शम्सेरगन्जस्थित शिवशक्ती माध्यामिक बिद्यालयमा क्वारेन्टाइन स्थापना गरिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन गाउँपालिकाले वडा नम्बर २, ८ र ९ लाई लक्षित गरेर उक्त बिद्यालयमा १५ शैया क्षमताको क्वारेन्टाइन सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो ।

भारत लगायत अन्य देशबाट फर्केर आएका राप्तीसोनारी क्षेत्रका ब्यक्तिलाई उक्त क्वारेन्टाइनमा राखिने उहाँले बताउनुभयो । वडा नम्बर ८ का वडाध्यक्ष खुमबहादुर बस्नेतका अनुसार उक्त क्वारेन्टाइनमा
३ जना स्वास्थ्यकर्मी, एक जना कार्यालय सहयोगी र खाना पकाउने जनशक्ति समेतको ब्यवस्था गरिएको छ ।

क्वारेन्टाइनमा बस्ने ब्यक्तिलाई मनोरञ्जन प्रदान गर्न इन्टरनेट वाइफाइको ब्यवस्था गरिएको उहाँले बताउनु भयो । अहिले १५ शैयाको भएपनि आवश्यकता अनुसार बढाएर एक सय शैयासम्म पुर्याउन सकिने वडाध्यक्ष बस्नेतको भनाई छ ।

‘अहिले तत्कालको लागि मात्र १५ शैयाको बनाएका छौं, आवश्यकता अनुसार अझै १ सय शैयासम्मको बनाउन सकिन्छ,’ उहाँले
भन्नुभयो । क्वारेन्टाईनमा खाना, पानी, झुल, कम्बल, टाबेल र ब्रुस,
मन्जनको ब्यवस्था पनि गरिएको उहाँले जानकारी दिनुभयो ।

रेडक्रससँगको सहकार्यमा निर्माण गरिएको उक्त क्वारेन्टाइन उद्घाटनका क्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, रेडक्रसका वरिष्ठ शाखा अधिकृत दोलख डाँगी लगायतले क्वारेन्टाइन अवलोकन गरेको बस्नेतले जानकारी दिनुभयो ।

राप्तीसोनारी गाउँपालिकाले वडा नम्बर १ देखी ९ सम्म भारत लगायत अन्य देशबाट आउने ब्यक्तिलाई निगरानी बढाएको जनाएको छ । गाउँपालिकाले विभिन्न वडामा मास्क वितरण गर्नुका साथै हात धुने ब्यवस्था मिलाएको छ ।

प्रतिक्रिया