कोरोना भाइरसले सुम्पेको कार्यभार

डिल्ली राज गिरी

कोरोना भाइरसले सुम्पेको कार्यभार

बिश्व यतिखेर ठुलो र भयावह मानवीय क्षति को संघारमा उभिएको छ। भने अर्को तर्फ अर्थ ब्यबस्था उच्च संकटको अवस्थामा छ। लगभग प्रायः रास्ट्रहरु यतिखेर मानिसहरू को दैनिक आवागमन देखि सम्पुर्ण ब्यापारीक,आर्थिक गतिविधिहरु लगायत अत्यावश्यक काम बाहेक सबै थाती राखेर एउटा जैविक लडाईमा होमिएका छ्न।

कोरोना भाइरस सम्बन्धि हालैको बिश्व रेकर्ड हेर्ने हो,भने जम्मा ११,१९,७०२ संक्रमित संख्या छ। यसमा सामान्य अबस्थामा फर्किसकेका को संख्या २,९९,३३८ रहेको छ,भने हाल सम्म कोरोना भाइरस बाट मृत्यहुने को संख्या ५९,२४५ पुगेको छ। यसमा अहिले सम्म संक्रमणमा रहेको संख्या ८,३१,११९ छ। यसमा सामान्य अवस्थामा रहेको संक्रमण संख्या ७,९१,७१२(९५%)छ,भने गम्भीर अवस्थामा रहेको संक्रमित संख्या ३९,४०७(५%) रहेको छ। नेपालमा अहिले सम्म को आकडा हेर्दा संक्रमित संख्या ९ पुगेको छ। यो अबस्थाले के देखाउछ भने संक्रमित ठिक हुने संख्या बढी देखिन्छ। हाम्रो देशमा बिस्तारै यसको संक्रमण बढिरहेको देखिन्छ।

कोरोना भाइरसले हाम्रो समाजलाई हरेक दृष्टिकोणले बदल्दिएको छ। राजनैतिक नेतृत्वको इमान्दारीमा प्रश्न  चिन्ह खडा गरेको छ। हामीसबै  भाइचारा हौ भन्ने बोध गराएको छ। हामीलाई आत्मनिर्भर बन्न प्रेरित गर्यो। कतिपय हाम्रा लोपोन्मुख रहेको पुराना संस्कृतिहरु को जगेर्ना गरे अवसर दिलाएको छ। मानव समाजले पहिले देखिनै विभिन्न कालखण्डमा यस्ता खालका महा-प्रलय भोग्दै आएको इतिहास हाम्रा अगाडि छ। त्यसैले पनि पूर्वीय दर्शनले यस्ता संस्कृति हामीलाई छोडेर गएको छ। हामीलाई दान गर्न सिकाएको छ। त्यसकारण हामीले कोरोना को माहामारी बाट सिक्दै गरेका नयाँ नयाँ खालका अनुभवहरु लाई समाज निर्माणको दिसामा लगाउनु जरुरी छ। साथै हामीलाई कोरोना संगको लडाइँमा समेत यस्ता खालका अनुभव निकै सहि साबित हुने निश्चित प्राय छ।

यो अवस्थाबाट हाम्रो देश पनि अछुतो रहन सकेको छैन। मात्राको हिसाबमा हामी संग थोरै संक्रमित संख्या भय पनि सारमा हामीले एउटा ठुलो चुनौतीको सामना गरिराखेका छौ। दस दिन मात्र बन्द हुदा,हामीले खाद्यान्न समस्या संग लड्नु पर्छ भने यो अवस्था लम्बियो भने कस्तो अवस्था आउला!एक पटक हामीले गम्भीर भएर सोच्नु पर्ने अवस्था आयको छ। जब रास्ट्रसंग नै दिनको लागि केहि बच्दैन,त्यस पछी उत्पन्नहुने अवस्थाको पनि हामीले गम्भीर भएर सोच्नु पर्ने हुन्छ।

अबका दिनहरु हाम्रा लागि निकै महत्त्वपूर्ण हुनेछन्। सम्भवत इतिहासमै हामीले नौलो जोखिम उठाउनु परेको छ। कोरोना संग लड्नको लागि हामीले नयाँ तरीकाले सोच्नुपर्ने हुनसक्छ। एउटा बिपत्तिको बेला केहि मान्छेले अनियमितता गरेर वा गर्न खोजेर मानवीयता गुमाउँदै छ्न। एउटा मानव हुनुको कर्तव्यबाट च्युत हुदै छ्न। अझ भन्नू पर्दा देशद्रोह गर्दै छ्न। त्यस्ता देशद्रोहीहरु ले उचित समयमा ठुलो मुल्य चुकाउनु पर्ने छ,र त्यसको लागि बाताबरण तयार हुदै छ। अझ भन्नू पर्दा निकट भविस्यमै नयाँ राजनीतिक ध्रुवीकरणको सम्भावना पनि हामीले नकार्न सक्दैनौं।यावत समस्याहरु हुदाहुदै पनि कोरोना संगको लडाई दृढतापुर्बक लड्नु अहिलेको प्रमुख दायित्व हो।

त्यसकारण कोरोना भाइरस संगको लडाइँका साथसाथै हामीले केहि महत्वपूर्ण काम पनि गर्नु पर्नेछ। सर्वप्रथम त हामीले यसको रोकथामका लागि  अपनाइने सबै क्रियाकलापहरु गम्भीरतापूर्वक पालना गर्नुपर्ने हुन्छ। त्यसले हामीलाई संक्रमित हुना बाट बचाउछ। दोस्रो हामीलाई चरम खाद्यान्न संकट पैदा हुन सक्छ। यतिखेर हामीलाई बाहिरबाट खाद्यान्न आयात गर्न समस्या हुन सक्छ। किनभने यतिखेर सबै रास्ट्रहरु आर्थिक समस्यामा पर्दै गइरहेका छ्न। कुल ग्राहस्थ उत्पादनमा ह्रास आइरहेको छ। त्यसैले खाद्यान्न संकट हुन नदिन उत्पादनलाई विशेष ध्यान दिनु पर्ने हुन्छ। ताकि हामी खाद्यान्न क्षेत्रमा आत्मनिर्भर बन्न सकौ। तेस्रो अहिले लगभग सबै आ-आफ्ना काम छोडेर घर भित्र केन्द्रित भएका छौ। समस्याको समाधान तर्फ भन्दा पनि,हामी अझ समस्या जटिल बनाउने तर्फ केन्द्रित भैरहेका छौ। सामाजिक संजालहरुमा दैनिक जसो बेमौसमी टिप्पणीहरु भैरहेका हुन्छन् । त्यसले गर्दा मानिसहरुको मनोबल कमजोर बनिरहेको छ। त्यसकारण मनोबल कमजोर हुने खालका टीका-टिप्पणीहरु बन्द गर्नु पर्छ।

चौथो, कतिपय मानिसहरु ले यो अवस्थालाई अवसरको रूपमा लिएको पनि देखियो,भने कसैले मनोरञ्जनको रुपमा पनि लिएको देखियो। यसले गर्दा समाजमा अराजकताको स्थिति पैदा गर्छ र समाज नै बिकृतिमा जाने र अन्ततः समाजनै विघटनको बाटोमा जान पनि सक्छ। पाँचौ, सरकार , सामाजिक संघ संस्था , सामाजिक अभियान्ता तथा ब्यक्तिगत रुपमा हुने सम्पुर्ण सहयोग तथा राहत संकलनमा एक द्वार प्रणाली अपनाउनु उचित देखिन्छ। साथै सबै सहयोगको पारदर्शिता पनि एउटा मुलभुत पक्ष नै हो।  त्यसैले सबै क्षेत्र संयमित बन्नु आजको प्रमुख आवश्यकता हो। आफू पनि बचौ र अरुलाई पनि बचाउ।।

प्रतिक्रिया