अभिषेक शाह
केन्द्रीय महासचिव -ठकुरि सहयोग संजाल

“एक हातले दिएको अर्को हातले थाह नपाओस” भन्ने पुर्बिय दर्शन अंगाल्ने नेपालीहरुमा अचेल सेवा केवल सस्तो लोकप्रियता, लागि प्रचारमुखी मानसिकता देख्दा उदेक लाग्न थालेको छ । यस्तो मानसिकता बास्तबमा कोरोना भन्दा पनि भयानक खतरनाक भाइरस हो जुन तिनीहरुको दिमागमा यसरी बसेको छ कि जुन यहाँ उल्लेख गर्न मैले शब्द नै पाइन् ।
राहत होस् या सहयोगको नाममा अहिले सामाजिक संजालमा जुन प्रकारले फोटो र भिडियो फैलिरहेको छ । यस्ता गतिविधिले समाजमा सामाजिक र मानसिक विभेदको खाडल खनिदै गएको देख्न सकिन्छ । सहयोग दिने तथा सहयोग लिनेको बिचमा एउटा हार्दिक अपनत्व कायम हुन्छ जुन मानिसले चाहेर हुने होइन ।
आदिम सभ्यता देखि नै भाइचारा तथा आपसी सद्भावको लागि दुख परेको बेलामा सहयोग गर्ने चलन थियो जसको निरन्तरता आज सम्म आइपुग्दा सहयोगको भित्रि उधेश्य फेरिइसकेको आभास हुन्छ ।
सामाजिक संजालमा नै प्रस्ट रुपमा देख्न सकिन्छ कि राहत होस या सहयोग को नाममा आफ्नो फोटो, भिडियो राखेर नौटंकी गर्नेको कमि छैन । जुनसुकै ब्यक्ति विशेष होस या स्थानीय तहका नेता कार्यकर्ता आफ्नो प्रचार गर्न या राजनैतिक भबिस्यको बीउ रोप्न नै सहयोगलाइ माध्यम बनाउनु आपत, बिपतको अवस्थामा कतिको उपयुक्त हुन्छ ?
आत्मसन्तुष्तिको लागि अन्तरमन देखि सच्चा हृदयले गरिने तथा हार्दिकताका साथ् बिना संकोच ग्रहण गरिने नै बास्तबमा सेवा र सहयोग हो ।
यहा त सहयोग दिनेले लिनेको मानसिकता नै नबुझी केवल फोटो खिचाउनको लागि मात्र सहयोग गरेको जस्तो देखिने अनगिन्ती दृश्यले बिचरा पीडितहरुको घाउमा मलम लाग्नुको सट्टा चर्याइरहेको जस्तो फोटोमा देख्न सकिन्छ ।एक छाक अन्न घर लगेर पकाउनु अघि आफुले बोकेको सामानको सस्तो प्रचार बाजी सामाजिक सन्जाल गरिनु कतिको ठिक होला ?
राहत आवस्यक छ तर प्रचार बाजी हैन ।
म भोको छु तर लाचार हैन ।
गरीब नै भए पनि स्वाभिमान र इज्जत छोडेको छैन ।
तिम्रो प्रचार बाजीमा म प्रमुख भुमिकामा छु भने
तिम्रो स्थान मेरो पापी पेट मा छ हृदयमा छैन ।










