प्रवासको नजरबाट महामारीलाई नियाल्दा

डिल्ली राज गिरी

प्रवासको नजरबाट महामारीलाई नियाल्दा

प्रवास अर्थात परको बसाई। प्रवास शब्द आफैमा केही पिडादायी शब्द हो। प्रवासमा धेरै पिडाहरु को बिच एउटा सुन्दर फुलको कल्पना गरिएको हुन्छ,सायद सुन्दर फुल कल्पना गरिए जस्तो धेरैलाई प्राप्त नहुन सकेको हुन्छ। तर पनि सुन्दर फुल प्राप्त गर्ने कोशिसमा हजारौं संघर्ष चलिरहेकै हुन्छन्। प्रवासमा अहिले स्थिति अलि फेरिएको छ। ति सुन्दर फुलको खोजीमा हिडिरहेका यात्रीहरु लाई एक प्रकारको त्रास र भयले पुरै शिथिल पारिएको छ।

मध्यपुर्बको तातो घाममा होस चाहे युरोप,अमेरिकाको चिसो चिस्यानबाट अथवा छिमेकी राष्ट्रका हरेक गल्लीमा होस। यतिखेर सबैमा एउटै त्रास र भयले मन पिरोलेको छ। सम्भवत सबैमा यतिखेर आफ्नो जन्मभूमि प्रतिको मायाले असाध्यै पिडा पैदा गरेको हुनु पर्छ। बिहानीको उषा किरण संगै सुरुभएको दैनिकी पुनः बिहानी सम्म आइपुग्दा पनि त्यही पिडाले सताउदो हो प्रवासीहरु लाई यतिखेर।

आफ्ना हजारौं संघर्षहरु को बीच रेमिट्यान्स मार्फत राष्ट्रको अर्थतन्त्र हुदै राष्ट्रको बिकासमा टेवा पुर्याउने प्रवासी , नेपाली कलाकारहरु को व्यावसायिक सारथि सम्म पनि हो। भने नेपालमा कोहि बिरामी परेको खबर सुन्नासाथ प्रवासमा रहेर आफ्नो एक छाक काटेर भएपनि सहयोग संकलन सुरु गरि हाल्ने प्रवासीहरु यतिखेर त्यो अवसर बाट बन्चित हुदै छ्न।

स्वयं आफू र आफ्नो परिवारलाई ब्यबस्थापन गर्न सकिदैन कि भन्ने चिन्ता अहिले आम प्रवासीहरु मा विदित छ।अबका दिनमा के हुने हो,आफ्नो जन्मभुमि जान पाउने हो कि हैन। यदि जान पाएन भने के हुने हो। आफू बसेको देशले निकाल्दिने होकि,मर्नु परेपनी आफ्नै जन्मभूमिमा आफ्नै परिवार संग हुन पाइदैन कि भन्ने ठुलो चिन्ता पनि त्यतिकै छ।

हालैको घटना हो। प्रवास बस्ने नेपालीहरु को आवास क्षेत्र भएर जाँदै थिए। त्यतिकैमा बाहिर पट्टि केहि मानिसहरु जम्मा भएको देखे। अलि टाढा बाट हेर्दा कुनै छलफल भैरहेको जस्तो लागिरहेको थियो। अलि नजिक पुगेर बुझ्दा एकजना रोइराखेको रहेछ। उसलाई अरु सबैले सम्झाउदै रहेछन्। सबै कारण बुझ्दा कोरोना भाइरसले प्रवास मै मर्नु पर्छ कि भन्ने पिडाले सताइएको रहेछ। त्यहाँ प्रष्ट एउटा सच्चा राष्ट्रप्रेम झल्किएको देख्ना सकिन्थ्यो।यतिखेर उसलाई अरु कुनै कुराको जरुरत थिएन। केवल केहि सान्त्वनाको जरुरी थियो।

यस्तो लाग्थ्यो कि उसलाई यी सबैकुरा गलत साबित होस। तर अबस्था त्यस्तो थिएन। कोरोना भाइरसले बिश्व माहामारी लिइसकेको थियोे। जेनतेन उसलाई सम्झाएर उ भित्रको पिडा केही कम गर्ने कोसिस भयो। तर पनि उ भित्रको डर,त्रास ले उसलाई धेरै कमजोर बनाइसकेको थियो। यो एउटा उदाहरण मात्र हो। अहिले प्रवासमा सम्भवतः सबै प्रवासी यस्तै पिडाले, सुन्दर दिनको कामना गर्दै छन्।

आज भोलि बजारमा प्रवासी नेपालीहरु लाई लिएर अनावश्यक चर्चा भइरहेको सूनिन्छ। कोहि ले युरोप,अमेरिका बस्ने प्रवासीहरु को पक्षमा बोलेको जस्तो देखिन्छ,भने मध्यपुर्वमा बस्नेहरु लाई अलि गौण सोचेको देखिन्छ। अझ भन्नू पर्दा भारतमा बस्ने हरुको लागि त कोहिपनि बोलेना भन्ने खालका बिचार हरु पनि सुनिन्छ। केहि राजनैतिक कर्मी बाट पनि यस्ता बिचारहरु सूनिन्छ। यदि यस्तो हो भने यो एकदमै निन्दा योग्य छ।

माहामारीको बेलामा राजनैतिक प्रतिशोधको भावना राख्नु,राजनैतिक नाफा घाटा को कुरा गर्नु ,राजनैतिक कर्मीहरुको अपरिपक्व मानसिकताको उपज हो। सबै प्रवासीहरु लाई हेर्ने दृष्टिकोण एकै हुनु पर्छ। चाहे प्रवासको जुनसुकै स्थानमा बसोबास गरोस्।

खासगरी नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएयता सरकारले ‘लकडाउन’को निर्णयबाहेक देखाउनलायक काम गरेको छैन। जे गरेको छ, त्यो टालटुले तदर्थवादी र विवादास्पद खालका काम गरेको छ। यस्तो ठुलो संकटका बेला पनि सरकारले असल नियतले काम नगरेर पूर्णतः अधर्मी चरित्र प्रस्तुत गरेको छ।

त्यसैले गर्दा पनि प्रवासमा बस्ने नेपालीहरु केहि समस्या आएमा सरकारको तर्फबाट उद्दार हुनेमा त्यति आशाबादी छैनन्। त्यसो भन्दैमा सरकार तथा सरकारी निकायहरु जिम्मेवार छैनन् भन्न खोजिएको हैन। अझ बढी जिम्मेवारी बोध गराउन खोजिएको हो।

आफ्नो परिवारको दैनिकीको जोहो गर्न प्रवास यात्रा तय गरेका लाखौं प्रवासीहरु का लागि यतिखेर महामारीमा ओत खोज्दै आफ्नो जन्मभुमि फर्कन चाहने देखी,आफ्नो जन्मभूमि आउन खोज्दा सिमानामा रोकिएकाहरु लाई हेर्नुहोस।

राष्ट्रियता ,देश,सरकार तथा आफ्ना आफन्तहरु के हो भन्ने कुरा। ऊनीहरु को चीत्कार आफ्नो रास्ट्र र सरकारले सुन्नु पर्छ कि पर्दैन? यो लाखौं लाख नेपाली प्रवासीहरु को आफ्नो रास्ट्र र सरकारलाई प्रश्न हो। यो अबस्थामा कुनैपनी प्रवासी लाई आफ्नो मातृभूमि चुम्ने र आफ्ना आफन्तहरु संग भेट्ने अवसर बाट बन्चित न गरियोस्। यदि यस्तो भयो भने इतिहासमा ठुलो भुल भनेर कैद हुने छ।

प्रतिक्रिया