अमरराज शर्मा घिमिरे :

अघिल्लो हप्ता कोरोनाबाट हामीले के शिक्षा लिने भनेर मेरो सानो लेख प्रकाशित भएको थियो । थुप्रै पाठकले ठिक हो भनेर सहमति जनाउनु भयो भने कतिपय पाठकहरुले यसलाई कार्यान्वयनमा लान संघ, प्रदेश र स्थानिय सरकारको समन्वय तथा सहकार्यमा काम गर्न सकिन्छ भनेर त्यस्ता गतिविधिहरु समेत टिपाउनु भएको छ । यसैको सेरोफेरोमा आज पुन यो लेख तयार पारेको छु । पाठकको प्रतिकृया प्राप्त हुने नै छ ।
यति खेर स्वास्थ्यकर्मी अग्र पङ्तिमा तथा वहाँहरुसँगै सूरक्षा निकाय र स्थानिय तहका नेतृत्व वर्ग कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन अथक परिश्रम गरी रहनु भएको छ ।
वहाँहरुलाई लाखौंलाख शुभकामना ।यहाँहरुको यो परिश्रमको सवैले तारीफ गर्नु पर्दछ र हौषला दिनु पर्दछ । स्थानिय तहका नेतृत्व बर्गलाई अन्य थप कार्यमा हामी सहयोग गर्छौं भनेर बन्दाबन्दीमा घरमा बसेर सहयोग गरीराखेका कर्मचारीले पनि भन्नु पर्ने बेला आएको छ ।
हामी सचेत कर्मचारी यस्तो बेलामा सहयोगी हुन सक्नु पर्दछ ।संघिय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले षरिपत्र गरेको छ कि यस्तो संकटको घडीमा हामीले बन्दाबन्दीको उलङ्घन नहुने गरी राहत वितरण कार्य, खाद्य सामग्री विक्रि वितरणको कार्य, अन्य अत्याबस्यक बस्तु किनबेचको कार्यलाई संक्रमण फैलिन नदिने तरीकाले व्यवस्थित गर्न सहयोग गर्न सकिन्छ ।
यसका साथै यति वेला योजना तर्जुमाको कार्य शुरु गरीसक्नु पर्नेमा नेतृत्व बर्ग संक्रमण फैलिन नदिने कार्यमा लागि राखेको अवस्थामा बाँकी अन्य जनशक्तिले योजना तयारीमा सहयोग गर्न जरुरी छ ।
दिगो उत्पादन प्रणालीको आवश्यक्ता छ भनेर हामीलाई विपदले पटक पटक भनिराखेको छ । उत्पादनका साथसाथै वितरण प्रणाली पनि दिगो हुनु जरुरी देखिएको छ । यो अवस्थामा बाहिरबाट आउने वीउहरु कस्तो आउने हो कसैले भन्न सकिने अवस्था छैन त्यसैले हाम्रै गाउँघरमा भएका वीउ व्यवस्थित गर्न सहयोग गर्ने खालका कार्यक्रम संचालन हुनु जरुरी छ । हरेक टोलमा एउटा सहकारी संस्था वा सहकारी संस्थाको समिति जस्तो संगठन निर्माण गरौं ।
यतिखेर हिउँदे बाली कटनी गर्ने बेला भएको छ । बाहिरबाट श्रमिक ल्याउनु संक्रमणका हिसावले जोखिम ह्वात्तै बढ्न सक्छ । माथि भनिएका जस्ता संगठन बाली कटानीका साथै भित्र्याउने काममा लाग्यौं भने आफ्नो र टोलबासीको सूरक्षा हुनुका साथै उत्पादित बस्तु खेर जान पाउँदैन । आगामी बर्षको कार्यक्रममा यस्ता संगठनलाई सहयोग पुग्ने खालका गतिविधि समावेश गरौं ।
जस्तै थोक बजार, हाट बजार, संकलन केन्द्र निर्माण । यस कार्यक्रममा केहि रकम स्थानिय तहबाट विनियोजन गरौं र केही प्रदेश सरकारबाट प्राप्त हुने गरी समन्वय गरौं । जग्गा बाँझो राख्न नपाइने गरी काम गरौं । यस्ता जमिनको विवरण तयार पारौं र खेती गर्न चाहनेलाई लिजमा दिने गरी कार्यक्रममा राखौं । लिजको रकम प्रदेश सरकारबाट उपलब्ध हुने गरी समन्वय गरौं ।
प्राङ्गारीक मल, गड्यौली मल, स्थानिय जडिबुटीबाट बनाउन सकिने बिषादी बनाउन तालीम संचालन गरौं । यस्ता तालीम प्रदेश मन्त्रालयबाट संचालन गरीने छ । हरेक वडामा कुन कुन व्यवसाय गरी राखेका घर कति छन् सोको विवरण संकलन गरौं । कुनै कृषि पढेर बेरोजगार बसेका व्यक्ति हुनु हुन्छ भने यसरी टोलटोलमा बनाइने संगठनमा कृषि प्रविधि पुर्याउने काम गरौं यसका लागि प्रदेश सरकारले सहयोग गर्छ ।हरेक वडामा एउटा एउटा अन्न भणडारण गर्ने गोदाम घर/ धरम भकारी निर्माण गरौं ।
कम्तिमा यो बर्षको योजना तर्जूमामा कोरोनाले दिएका शिक्षालाई लागु गर्न सकियो भने हामी विस्तारै विपद व्यवस्थापनको दिगो उपाय कार्यान्वयन गर्न सक्ने हुनेछौं । यति बेला बेकामे भएर बसेको जमातलाई यस्ता काममा सदुपयोग गर्ने योजनामा लागौं । हरपल योजनाबद्ध रुपले अगाडि बढ्न सवैमा अनुरोध गर्दछु ।
(लेखक घिमिरे कृषि व्यवसाय प्रबर्द्धन सहयोग तथा तालीम केन्द्र, खजुरामा बरिष्ठ कृषि प्रसार अधिकृत हुनुहुन्छ )










