डिल्ली राज गिरी

अस्तित्वको लडाइँ एकदमै कठिन लडाइँ हो। ऐतिहासिक तथ्यहरु अध्ययन गर्दा विभिन्न कालखण्डमा अस्तित्वको लडाइँहरुको बारेमा अध्ययन गर्न पाइन्छ। पृथ्वीको उत्पत्ति संगै जीवहरु को बिकास हुने क्रम एकातिर चल्यो,भने अर्को तिर जीवहरु आफ्नो अस्तित्व रक्षा गर्दै अन्ततः अस्तित्व समाप्तिको चरण सम्म पुगे। त्यो अबस्थालाई जीव शास्त्रीहरु ले प्राकृतिक नियमको रुपमा ब्याख्या गरे। त्यसैले पृथ्वीमा एक पछी अर्को हरेक जीवहरु ले विभिन्न कालखण्डमा आफ्नो अस्तित्व गुमाउनु परिरहेको छ।
मानव जातिले आफ्नो अस्तित्व बचाउन इतिहासमा धेरै ठूलाठूला संघर्ष गर्दै आइरहेको छ। केहि संघर्ष प्राकृतिक प्रकोपहरु संग गर्नु पर्यो भने केहि मानिस आफैले सृजित बस्तु संग। जति मानिसलाई प्रकृतिसंग संघर्ष गर्नु पर्यो,त्यो भन्दा अझ बढी संघर्ष मानिस आफ्नै कारण ले गर्नु परेको छ। मानव जाति विभिन्न समयमा ठुला-ठुला महामारी,बिपत्ति तथा युद्धहरुको सामना गर्दै,आफ्नो अस्तित्वको रक्षा गर्दै यो अवस्था सम्म आइपुगेको छ।
महामारीका केही ऐतिहासिक तथ्य हेरौं,जसलाई मानव जातिले जितेर यो स्थान सम्म आइपुगेको छ। सन १६५-१८० सम्मको अबधिमा `अन्टाेनाईन पग´बाट सुरु भएको महामारीको इतिहास सन २०१९ को अन्त सम्म आइपुग्दा कोरोना भाइरस सम्म विकसित भएको देखिन्छ। `अन्टाेनाईन पग´ महामारीबाट लगभग ५० लाख मानिसको मृत्यु भएको थियो।
महामारीकै इतिहासमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको भनेको सन १३४७-१३५१ सम्म `ब्ल्याक डेथ´ बाट भएको देखिन्छ। यो महामारी बाट कम्तीमा पनि २० करोड मानिसको ज्यान गएका थिए,भने सबै महामारीबाट अहिले सम्म आउँदा करिब ४१ करोड मानिसले ज्यान गुमाउनुपरेको छ। यो मृत्यु दर हेर्दा मानिसले धेरै ठूलाठूला प्राकृतिक महामारीको सामना गरिसकेको छ,र गर्दै आइरहेको छ।
मानव जाति आफैंले सृजना गरेको बिपत्तिसंग पनि ठुलो संघर्ष गर्दै आइरहेको छ। बिश्वमा अहिलेसम्म दुईपटक बिश्व स्तरका बिश्वयुद्ध भैसकेका छ्न, भने कयौं स-साना युद्धहरु पनि भइरहेकै छ्न। पहिलो बिश्व युद्धमा लगभग २ करोड मानिसको मृत्यु भएको थियोे,भने दोस्रो बिश्व युद्धमा साडे ७ करोड मानिसको मृत्यु भएको थियोे। अहिलेसम्म सम्पुर्ण युद्धहरुमा ज्यान गुमाउने संख्या करिब १५ करोड देखि १ अरब सम्म रहेको छ। यो मृत्युदर हेर्दा युद्धमा धेरै मानिसले ज्यान गुमाएको देखिन्छ। त्यसैले युद्धले नै मानव जातिकै अस्तित्व समाप्त गर्नेमा बिश्वनै चिन्तित छ,र युद्धको विकल्पमा शान्ति तथा मेलमिलापको सिद्धान्तलाई बढी प्राथमिकता दिइएको छ।
साथै प्राकृतिक बिपत्ति बाट पनि कम्तीमा वार्षिक ६० हजार मानिसको ज्यान जाने गर्दछ। पछिल्लो चरणमा मानव जातिको निम्ति जलवायु परिवर्तन को समस्या उच्च रहेको छ। जलवायु परिवर्तनले मानिसका हरेक क्रियाकलापहरु लाई नराम्ररी प्रभाव पारेको छ। जलवायु परिवर्तनले सम्पुर्ण पृथ्वीकै गतिलाई नै चुनौती पैदा गरेको छ। उत्पादनमा ह्रास आएको छ, भने प्रदुषण अहिलेसम्मकै उच्च बिन्दुमा छ। जसले गर्दा नयाँ नयाँ रोगहरु को जन्म भइरहेको छ। हामीसंग खाद्यान्न संकट उत्पन्न भएको छ। जसले गर्दा मानव जातिकै बिकास र प्रबर्द्धनमा असर पारेको छ।
अहिलेको अबस्थामा मानिस प्रकृति बिरोधि भएको कुरा स्वीकार गर्न सकिन्छ। मानव समाजले जब प्राकृतिक महामारी वा बिपत्तिको सामना गर्नु पर्यो,त्यसपछि मात्र मानिसले प्रकृतिलाई माया गर्न थाल्यो। जब मानिसले प्रकृतिलाई माया गर्न थाल्यो अनि मात्र महामारी वा बिपत्तिमा कमी आयो। यो ऐतिहासिक तथ्यले साबित गरेको छ। त्यसैले हामीले प्रकृतिलाई रक्षा गर्नु आजको आवश्यकता हो। प्रकृतिबाट सृजित समस्या प्रकृति बाट नै समाधान हुन्छ तर यसमा हाम्रो महत्त्वपूर्ण मध्यस्थता तथा साथको जरुरी हुन्छ।
यो तथ्य संगै हामी त्यति धेरै आत्तिनु पर्ने अवस्था पनि छैन,भने ढुक्क हुने अवस्था पनि छैन। मानव समाज जति बिकास को बाटोमा अगाडि बढिरहेको,त्यस ले विभिन्न प्रकारका महामारीलाई पनि जन्म दिइरहेको छ। महामारीलाई समाप्त पार्न पनि हाम्रै भुमिका निर्णायक हुन्छ। यो संगै अहिलेको बिज्ञान र प्रबिधिको युगमा हामी संग उपलब्ध सामाग्रीहरु हरु छ्न,जसले यस्ता खालका महामारी संगको लडाईमा सहयोग गरेको छ। यो संगै हामी आफ्नो सावधानीलाई नि कायम राख्नु पर्छ। यो नै महामारीका इतिहास ले हामीलाई सिकाएको शिक्षा हो।
यसै सन्दर्भमा पछिल्लो समय मानव जाति बिश्वब्यापी रूपमा अर्को लडाईमा होमिएको छ। अहिलेसम्म का लडाइँ जित्दै आएको मानव जातिले यो लडाइँ पनि जित्ने निश्चित छ। तर यसलाई जित्न त्यति सजिलो पनि छैन। हाम्रै सावधानी र अनुशासनले यो महामारी बाट सफलता प्राप्त गर्न सकिन्छ। साथै अब हामीले जलवायु परिवर्तनका असरहरु कम गर्ने दिशामा अघि बढ्नु पर्छ। महामारीसंग को लडाई कति कठिन हुदो रैछ भन्ने शिक्षा हामीले हाम्रै पालामा सिक्न पाएका छौ। यसैबाट पाठ सिक्दै भविस्यमा अहिलेको महामारी संगै सम्भावित महामारी संग बच्न र सिंगो मानव जातिको अस्तित्वको रक्षा गर्न आफ्नो कर्तव्य पुरा गरौ। हामी संगै हाम्रो प्रकृतिलाई पनि बचाउ।।










