फ्रान्समा अझै एक महिना लकडाउन

फ्रान्समा अझै एक महिना लकडाउन

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउनको समय ११ मे (वैशाख २९) सम्म बढाएका छन् । कोरोना भाइरसविरुद्ध मुलुकले लडिरहेको जनस्वास्थ्य युद्धमाथि विजय हासिल गर्न लकडाउन लम्ब्याउनु जरुरी भएको उनले बताए ।

म्याक्रोंले कोरोना संक्रमित पत्ता लगाउन आम नागरिकको स्वास्थ्य परीक्षण गराउने र मे ११ सम्म अनिवार्य रूपमा मास्क लगाउनु अनिवार्य भएको पनि घोषणा गरेका छन्।

मे ११ पछि भने लकडाउन खुकुलो पारिने राष्ट्रपति म्याक्रोंले बताएका छन्। लकडाउन खुकुलो पार्ने पहिलो चरणमा चरणमा उद्योग, कलकारखाना, सामाजिक संस्था, प्राथमिक पाठशाला, नर्सरी, माध्यामिक विद्यालय र प्लस टूसम्मका कलेज खोलिने छन्। स्कुल र कलेज खुल्नाले बालबालिका स्कुल जाने र तिनका अभिभावक काममा जान पाउने हुँदा बिस्तारै रोजगार संरक्षण र अर्थतन्त्र धान्न सहयोग पुग्ने उनको भनाइ छ।

विश्वभरिका मानिसहरूले कोरोना भाइरसविरुद्ध युद्ध लडिरहेकाले फ्रान्सेलीहरूले पनि राष्ट्रको सबै सामर्थ्य लगाएर यसमाथि विजय हासिल गर्नुपर्ने उनले बताए।

राष्ट्रपति म्याक्रोंले फ्रान्समा थप १० हजार भेन्टिलेटरको व्यवस्था पनि जानकारी दिएका छन्।

कोरोना भाइरसको प्रकोपले हाल ८० लाख नगरिक बेरोजगार बनेकोले उनीहरूलाई सरकारले भत्ता दिने र बन्द भएका उद्योग, कलकारखानालाई आर्थिक सहयोग गर्ने पनि राष्ट्रपतिले घोषणा गरेका छन्। खाद्य र कृषिमा संकट आउन नदिन युद्धकालझैं उत्पादन बढाउने पनि उनले बताए।

प्रतिक्रिया