कोरोनाको कहर राहत वितरणको रहर

अधिवक्ता : पदम पाण्डेय

कोरोनाको कहर राहतको वितरणको रहर

विश्व समुदायमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण जुन गतिमा फैलिदैछ नेपालमा त्यो भन्दा मन्द गतिमा रहेकोछ ।

त्यसको मु्ख्य कारण लक डाउन हो । सरकारले जारी गरेको लकडाउन नागरिकको जीवन रक्षाका लागि नै हो । अन्तराष्ट्रिय हवाई सम्पर्क विच्छेद गरेर विश्व समुदाय संग पहुँचमा कमी गरिएको भए पनि भारत संगको खुल्ला सिमानाका कारण मानिसहरुको आवत जावत पूर्णरुपमा रोक्न सकिने अबस्था छैन ।

जबसम्म मानिसहरुमा मानवीय सहयोग गर्नु पर्छ, आफु मात्रै बाँच्ने होईन अरुलाई बचाँउने पनि मेरो दायित्व र कर्तव्य हो भन्ने चेतनाको विकास हुदैन त्यतिवेला सम्म मानिसलाई रोकेर मात्रै स्थिति सहज हुन सक्दैन ।

संसारका अति विकसित, आर्थिक रुपमा सम्पन्न, चिकित्सा क्षेत्रमा अब्बल चिकित्सक भएका, आइसियु र भेण्टिलेटर सहितका उपकरणले सुविधा सम्पन्न अस्पताल भएका मुलुकको स्थिति नै नाजुक अवस्थामा पुगी सकेकोछ ।

नेपालका स्वास्थ्य प्रणाली, स्वास्थ्यर्कीको संख्या, अस्पतालको क्षमता, आइसियु र भेण्टिलेटरको संख्या निकै कमजोर र कम भएको अवस्थामा कोरोनाको संक्रमण बढदै गयो भने नेपालको अवस्था के होला ? कल्पना भन्दा बाहिरको कुरा हो ।

कोरनाको संक्रमण भएर अस्पताल वस्नु परेमा अवस्था बिकराल हुनेमा कुनै शंका छैन । त्यसैले सामाजिक दुरी कायम गर्नका लागि सरकारले संसारका अन्य मुलुकहरुले अपनाउदै आएको लक डाउन विधि प्रयोग गरी संक्रमण हुने सम्भावनालाई रोक्ने प्रयास गरेको हो ।

लक डाउनले आमनागरिकको दैनिकीमा समस्या परेकोछ र यसको सबैभन्दा वढि बिकराल असर गरी खाने वर्गका मानिसहरुमा पर्न गएकोछ । दैनिक रुपमा ज्यालादारी गर्दै आफु र परिवारको जीविकोपार्जन गर्ने वर्ग ठूलो मारमा परेकोछन् ।

जुनसुकै अवस्थामा पनि आफ्ना नागरिकहरुको सम्मान गर्ने, संरक्षण गर्ने र परिपुरणको गर्ने सरकारको दायित्व हो । नेपाल सरकारले आफ्ना दायित्वहरु पुरा गर्र्ने सन्दर्भमा स्थानीय सरकार मार्फत लक डाउनका कारण असहज परिस्थितिमा परेका नागरिकका लागि तत्कालका दैनिकी चलाउनका लागि राहत वितरणको व्यवस्था गर्दै आइरहेकोछ ।

राज्य संग भएको साधन स्रोतले समुचित तवरले व्यवस्थापन गर्दै नागरिकहरुको संरक्षण गर्नु पर्ने हुन्छ । राहत वितरणका लागि राज्यले आवश्यक पर्ने नीति तथा निर्देशिका वनाई कामको थालनी गरेकोछ । तर त्यसको लक्ष्य र उद्देश्य प्राप्ति गर्न सकिरहेको जस्तो देखिदैन ।

राज्यसंग उपलव्ध सिमित साधन स्रोतले नागरिकका आवश्यकता परिपुर्ति गर्नमा सहज हुने अवस्था छैन । विषम परिस्थितिमा सबैले सबैलाई सक्दो सहयोग गर्नु सह्रायिन काम हो । अझ यस्तो असहज अवस्थमा मानवीय सहयोग गर्नु राज्यलाई सहयोग गर्नु नै हो । तर त्यो सहयोग र सदभाव निस्वार्थ रुपमा मानवीय सहयोगले गरिएको हुनुपर्दछ ।

चन्द्रमालाई ट्रान्जिट र मंगल ग्रहलाई गन्तव्यको लक्ष्य लिएका मुलुकहरुलाई समेत कोरोनाले ठप्प पारेको अवस्थामा नेपाल जस्तो मुलुकमा सराकारको एक्लो प्रयासले मात्रै पार पाउने अवस्था छैन ।

सरकारले अभिभाकत्वको ग्रहण गर्दै सिमित साधन स्रोतको अधिक्तम उपयोगको नीति लिएर नागरिकको जीवनरक्षामा उपयोग गर्ने तर्फ ध्यान दिनु जरुरी छ । सरकारले नागरिकको दैनिकी चलाउनका लागि एकद्धार प्रणालीवाट राहत वितरण गर्दै जीवन यापनमा सहजीकरणको प्रयासहरुको गरी रहेकोछ ।

कतिपय स्थानमा राज्यका निर्देशित नीतिहरुको पालना नगरीकनै राहत वितरणका गतिविधि समेत भएकाछन त्यो कार्यमा संलग्न भएका व्यक्ति तथा संस्थाहरुको आफ्ना तर्क र विश्लेषण होलान । मानवीय सहयाोग जुनसुकै किसिमले गरिएको भए पनि मानवीय नै हुन्छ । राज्यले वनाएको मापदण्ड र जारी गरिएको निर्देशन नागरिकहरुको सर्बोत्तम हितलाई ध्यानमा राखेर गरेको हुन्छ ।

मानवीय सहयोगहरु स्वतन्त्र, निश्पक्ष, पारदर्शी, उत्तरादायी र आवश्यकताका आधारमा गरिनु पर्दछ । मानवीय सहयोगमा गरिने राहत वितरणका कार्यहरुमा राजनीतिक बिचारधारा, धार्मिक आस्था, पेशागत निकटता, जातीय, भाषिक, सामुदायिक विभेदको संकेत देखा पर्नु किमार्थ सुयोग्य हुदैनन् ।

त्यसतर्फ सबै राजनीतिक दल र तिनका भातृ संगठन, धार्मिक धर्मगुरु, मौलाना, पादरी र भिक्षुहरु, व्यापारिक तथा पेशागत संघ संगठनहरु, विभिन्न सामुदायिक संगठनहरुले फराकिलो मनले सोच्नु जरुरी छ । मानवीयताको कुनै बिचार, आस्था, धर्म, पेशा र जात हुदैन केबल मानवता मात्र हुन्छ ।

अहिलेको माहामारी सिङ्गो मानव जाती विरुद्धको माहमारी हो । मानव रहे मात्रै राजनीति, धर्म, पेशा, भाषा, संस्कृति, जात र समुदाय रहन्छ भन्ने तर्फ सोच्नु जरुरीछ ।

कोभिड १९ को माहामारीको संक्रमण निश्चित समयावधि सम्म मात्रै हुनेछ भन्ने छैन् । अन्य किसिमका प्राकृतिक वा मानव सृजित विपत्तिका कारण उतपन्न हुन गएको विपत्तिको समयको आँकलन गर्न सकिने अवस्था रहन्छ । बाढि पहिरो, डुवान,कटान, पटान, आँगलागी, भुकम्प, चट्याङ्ग, आधिबेरी, ज्वारभाटा, आन्तरिक वा वाह्य द्धन्द्धले निम्त्याएको आक्रमण, युद्धले उत्पन्न भएको विपत्तिको समय सिमाको आँकलन गर्न सकिन्छ ।

तर यो अदृश्य भाइरसको कारण उत्पन्न संक्रमणका कारण फैलिएको माहामारीको अन्त्यको आँकलन गर्न सकिने अवस्था छैन । शुरुमा चीनको वुहानमा गरिएको लक डाउनको सिको गर्दै करिब १४ दिनको समय सम्म कोरोना भाइरसले संक्रमण हुन सक्ने र तत्पश्चात नष्ट हुने अनुमान चिकित्सा विज्ञानले गरेको हो । यो अनुमान हो ।

वातावरणीय प्रभावले अनुमान गलत सावित गरिदिन सक्छ । विश्व परिदृश्यको वाह्य वातावरण संगै कोरोना भाइरसको संक्रमण गर्ने क्षमतामा परविर्तन आएको हुनसक्छ । वाह्य वातावरणमा जीवित रहने क्रममा एकै किसिमको क्षमता नरही आफ्नो क्षमतामा परिवर्तन गरेको हुनसक्छ । त्यसको खोजी नीति चिकित्सा विज्ञानले गर्ला ।

नेपालले लक डाउन गरेको शुरु देखि नै राहतका कार्यक्रमहरु सञ्चालन गरिएका छन । लक डाउनले गाँउघर भन्दा शहर बजार बसोवास गर्ने श्रमिक वर्ग, अति विपन्न, असहाय र विद्यार्थीहरुको दैनिकीमा असहजता ल्याएको छ । गाँउले जीवनमा अहिले नै भोकमरी ल्याउने अवस्था आइसकेको छैन गाँउघरको सामाजको बनावट सामाजवादी चरित्रको छ । सम्वन्धहरु सहयोग र सदभाव जीवन्त छन् । तर शहर बजारको समाजको वनावट पुँजीवादी चरित्रको छ । सम्बन्धहरु एकलकाटे, सहयोग र सम्बेदनाहिन छन् । यो तितो सत्य हो र गाँउघर र शहर बजारको भिन्नता पनि यही नै हो ।

लक डाउनका कारण दैनिकी चलाउन समस्यामा परेका वर्गलाई राहत वितरण गर्नु मानवीय सहयोग हो । राहत वितरण कोरोनाको संक्रमणको कहरले आहत भएका वर्गको मानवीय सहयोगको रुपमा नै कसैको रहरको रुपमा होईन । राहत वितरण निःस्वार्थ मानवीय सहयोग हो र प्रत्येक मानवको पीडालाई आफ्नो पीडा सम्झेर गरिने सहयोग नै मानवीय सहयोग हो ।

सामाजिक सञ्जालमा तस्वीर राख्न र समाजमा आफुलाई दानबीर देखाउनका लागि मात्रै गरिएको राहत वितरणको नाटक मानवता बिरुद्धको कलतिङ्क अनुहार हो । त्यस तर्फ सचेत हुँदै कोभिड–१९ ले ल्याएको माहामारीको प्रभाव लामो समय सम्म रहन सक्छ, मानवीय सहयोगका लागि राहतको आवश्यकता पर्ने वर्गको संख्यामा बढोत्तरी हुनसक्छ, अबस्था अहिलेको भन्दा भयावह हुनसक्छ र स्थिति नियन्त्रण भन्दा बाहिर जान सक्ने स्थति आउनसक्छ ।

त्यसको रोकथाम र असहज परिस्थितिको सामना गर्दै स्थितिलाई नियन्त्रित गर्नका लागि सहयोगी दाताका हातहरुलाई समेतको सहयोग र सहकार्यमा सरकारले बृहत कार्ययोजना वनाउनु जरुरी छ । त्यस तर्फ सबैको ध्यान पुगोस ।

प्रतिक्रिया