
जापानको स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा जापानमा कोरोनाभाइरस संक्रमणका ५६८ वटा नयाँ घटना देखिएको आइतबार जनाएको छ । यो सहित जापानमा कूल संक्रमितको संख्या १० हजार ३६१ पुगेको छ ।
यस वर्षको सुरुमा टोकियोको नजिक क्वारेन्टाइनमा राखिएको यात्रुबाहक पानीजहाजका ७१२ जना समेत जापानमा ११ हजार ७३ जनामा संक्रमण देखिएको छ । कोरोना संक्रमणका कारण जापानमा हालसम्म १७४ जनाको मृत्यु भएको छ ।
अमेरिका र युरोपको तुलनामा जापानमा कोरोना संक्रमणको संख्या अझै पनि तुलनात्मक रूपमा सानो छ, तर स्वास्थ्य परीक्षणको संख्या नै कम भएकाले पनि वास्तविक विवरण ठम्याउन कठिन भएको बताइन्छ । विज्ञहरुले जापानमा कोरोना संक्रमितको संख्या अझ ठूलो हुन सक्ने दाबी गरेका छन् ।
जापानले अन्ततः टोकियो र अन्य ठाउँमा अतिरिक्त परीक्षण केन्द्रहरू स्थापना गर्न सुरु गरेको छ । पछिल्ला दिनहरुमा उपचारमा प्रभावकारिता ल्याउन प्राथमिक उपचार चिकित्सकहरूलाई संदिग्ध बिरामीहरूलाई सिधै परीक्षण केन्द्रहरुमा पठाउन अनुमति दिइएको छ ।
विज्ञहरूले संक्रमित व्यक्तिहरु पत्ता लगाउन विगतमा अपनाइएको रणनीति सफल नभएकाले परीक्षणलाई व्यापक बनाउन सुझाव दिएका छन् ।
प्रधानमन्त्री शिन्जो आबेले बिहीबार टोकियो र छ वटा शहरी क्षेत्रहरूमा मात्र सीमित राखिएको आपतकालको अवस्था देशव्यापी बनाइएको घोषणा गर्नु भएको थियो । जापानका अस्पतालहरुमा संक्रमित व्यक्तिको संख्या दिनहुँ बढ्न थालेपछि प्रधानमन्त्री आबेले आपतकाल घोषणा गर्नु भएको हो ।
जनवरीको मध्यमा पहिलो घटना पत्ता लागेदेखि यता संक्रमित व्यक्तिको संख्या एक हजार पुग्न दुई महिना लागेको छ । तर संक्रमणको प्रसार पछिल्ला हप्ताहरूमा तिब्र रुपमा बढेको छ र १० दिनभित्रै यो संख्या ५ हजारबाट दोब्बर भएको छ ।
सियोलः दक्षिण कोरियामा विगत २४ घण्टामा ८ जना नयाँ संक्रमणका घटना भेटिएका छन् । दक्षिण कोरियाली संक्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार आइतबारम्ममा देशभर १० हजार ६६१ जना संक्रमित भएका र २३४ जनाको मृत्यु भएको छ ।
केन्द्रले कोरोनाभाइरस संक्रमितमध्ये ८ हजार ४२ जना निको भएको जनाएको छ । अरु १२ हजार २४३ जनामा कोरोना संक्रमण भए नभएको बारे परीक्षण भइरहेको छ ।
दक्षिण कोरियाली अधिकारीहरुले कोरोनाभाइरस संक्रमितको संख्यामा कमी आएसँगै सामाजिक दूरीको नियममा सहजीकरण गरिएका कारण “भित्रभित्रै” कोरोना भाइरस फैलन सक्ने भन्दै चेतावनी दिएका छन् ।
रियो दे जेनेरोः ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले घोषणा गर्नु भएको राष्ट्रव्यापी लकडाउनको अवज्ञा गर्दै ब्राजिलका विभिन्न शहरमा सयौं व्यक्तिले विरोध प्रदर्शन गरेका छन् ।
ट्रक, कार र मोटरसाइकलमा आएका प्रदर्शनकारीले रियो दे जेनेरो, साओ पाउलो र राजधानी ब्रासिलिया समेतका शहरका सडकमा लकडाउनको विरोधमा हर्न बजाएर विरोध गरेका थिए । उनीहरुले हप्तौंसम्म अधिकांश पेशा व्यवसाय बन्द गर्न आदेश जारी गर्ने गभर्नरहरुलाई राजीनामा दिन माग गरेका छन् ।











