क्रान्ति दिवस

मित्रलाल सापकोटा

क्रान्ति दिवस

हिजो शुक्रबारका दिन १३१ औं अन्र्तराष्ट्रिय श्रमिक दिवस थियो । हरेक बर्ष इस्वी सम्बतको मे महिनाको १ गतेका दिन पर्ने यो श्रमिक दिवसको शुभकामना दिँदै एक दिन अगावैबाट नै समाजिक सञ्जालका भित्ताहरु रङ्गिए ।

अमेरिकाको शिकागो शहरमा सन् १८८६ मा भएको ८ घण्टा काम गर्ने मागको आन्दोलनलाई अन्तर्राष्ट्रिय मजदुर दिवसको रुपमा मनाइने चलन छ । यसै दिनको उपलक्ष्यमा नेपालमा पनि बर्षमा एक दिन उत्सव मनाउने, तमाम मजदुरहरुको हकका थुप्रै भाषणबाजी गर्ने, सुकिलामुकिला देखिने र पूँजिपतिहरु र राजनीतिक पार्टीका अलि ठूलाबडा नेताको भान्सासम्म पहुँच राख्नेहरु यिनै मजदुरका हिमायती बन्दै यिनैको नाममा दलाली गर्ने र मजदुरहरुको कल्याणको ठेक्का आफ्नो भएको भन्नेहरु नै ठूला होटलका मिठामीठा पाकवानको स्वाद फेर्दै भाषण पनि गर्ने चलन यसपटक अलि नदेखिने गरि भएको जस्तो छ ।

देशमा आएको कोरोनाको प्रकोपका बीच यस्ता कुरामा त्यति श्रमिकहरुको ठेक्का नै लिने कुरा गर्दा आज सडक सडकमा अलपत्र परेका, आफ्नो काम खोसिएर भोकै बस्न बाध्य भएका, उद्योगधन्दा बन्द भएर बेरोजगार बनेका, सीमापारी भोको पेट भए पनि आफ्नै जहान परिवार सँग मर्ने इच्छा लिएर घर फर्किन लाम लागेकाहरुको प्रश्नको उत्तर यिनीहरुसँग थिएन न त यिनका झण्डावालसँग नै थियो ।
श्रम बीना कुनैपनि कार्य सम्पन्न हुँदैन ।

मानव जीवनको सम्पूर्ण यात्रा नै श्रम हो । यसका रुप भिन्न भिन्न हुने गर्दछन् । कोहि शाररिक श्रम गर्छ भने कोहि मानसकि श्रम गर्छ । कोहि खेतमा श्रम गर्छ र संसारलाई पालनहारको काम गरिरहेको छ भने कोहि मात्रै दलाली गरेर पनि ठूलो श्रम गरेको हुँकार भरिरहेको छ । यहाँ को श्रमिक को वास्तविक शोषित भन्ने कुराका आ आफ्नै व्याख्या छन् । को बढि महत्वपूर्ण भन्ने पनि आ आफ्नै व्याख्या छन् ।

किसानको कुनै समय हुँदैन । किसानलाई त्यो माथि भनिए झैं ८ घण्टे नियम लागू हुँदैन । किसान बिहान उठेदेखि बेलुकासम्म काममा लागि रहेको हुन्छ । चाहे त्यो पशुस्याहार होस कि खेतीपाती नै जसको मिहेनत र श्रमको उपजमा उद्योग चल्छ उ उद्योगी बन्छ साहुकार बन्छ, त्यहाँ काम गर्नेहरु श्रमिक बनेर आफ्नो हकको झण्डा गाड्ने गर्छन । यी श्रमिक दिवस आदी मनाउने गर्छन । राज्य सञ्चालक पनि तिनीहरु कै कुरामा लाग्छ, उनकै कुरा सुन्छ ।

पार्टीको र राज्यको खानापूर्ति गरिन्छ जीन्दगी कृषि नगरेको उस्तै परे भित्ताबाट दुध निस्किन्छ भन्नेहरु या चामलको रुख कत्रो हुन्छ भनेर सचिवलाई सोध्ने व्यक्तिलाई किसान नेता र कृषि मन्त्री बनाएर श्रमको भाषणबाजी गरिन्छ । या काम नगरी चापलुसको पराकाष्ठा बोकेको हिजोको त्यो श्रमिकको नाइकेलाई श्रममन्त्री बनाएर श्रमिकको कल्याणको कुरा गरिन्छ । तर यहाँ त्यो अन्नदाता संसारको पालनहार त्यो माटोसँग प्रेम गर्ने श्रमिकको लागि न त कुनै दिवस आउँछ न कुनै सेवा सुविधा नै । उल्टो यिनीहरुको नाममा सत्ताको चौघेराभित्र रहेका चण्डमुण्डहरुले किर्ते कम्पनी बनाएर हुन्छ कि किर्ते किसान देखाएर हुन्छ बाँडीचुँडी खाने गरेको देखिन्छ ।

अहिले कोरोनाले सबै त्रसित छन् । शहर असुरक्षित भयो संक्रमणको सम्भावना बढि भयो भनेर होस् या फेरि शहरका ती साहुकारका दोकान बन्द भएर काम नपाएका कारण खान नपाएर गाउँको सम्झना आएको देखिन्छ । हिजो त्यहि गाउँलाई पाखे, असभ्य, गँवार आदी इत्यादीको पगरी गुँथाएर आफ्नो सम्पन्नताको राँको बाल्नेहरुलाई गाउँले आज स्वागत गरिरहेको छ त्यो पनि हाँसी हाँसी अनि खान दिएको छ त्यो पनि माया गरि गरि ।

मुठ्ठी दान दिएको छ त्यो पनि आफ्नो छाक र नाम काटेर सत्ताको नाम बचाउने गरि । के यसको मूल्य गाउँले खोजेको छ त ? के यसको दिवस मनाइदेउ कुनै होटलको कोठामा लगेर भनेको छ त ? के झण्डा गाडिदेउ मेरो नामको टुँडिखेलमा लगेर भनेको छ त ?

क्रान्ति क्रान्ति भनेर गाउँ मासियो । बालक बुढा तन्नेरीहरु लाम लागे । आहुतीको त कुनै लेखाजोखा नै छैन । आफु नखाएर त्यहि क्रान्तिहरुको पेट पाले । कुनै ८ घण्टाको परवाह गरेनन् । रातोदिन काम गरेर फलाएको अन्नको दाना दानाबाट बचाएको तिम्रो ज्यानले आज क्रान्तिको नाममा त्यहि किसान, त्यहि बालक, त्यही गोठालोको ज्यान लिने बारुद बनाएर बिछाए । आफ्नो काम बनिहाले पछि ‘नहुनु पर्ने हो कसरी भएछ ?’ भन्दै निकै सोझोसाझो बनेर उन्मुक्ति लिएर बस्दै फेरि अर्को बालक अर्को किसान मार्ने धन्दा चलाउने कर्तुतलाई नै क्रान्तिको नाम दिइएको छैन र आज ?

क्रान्तिको परिभाषा के हो त ? केहि शब्दकोषहरुले क्रान्तिलाई भैरहेको राजनीतिक आर्थिक पद्धतिलाई हिंसा या अन्य जुनसुकै बाटोबाट आमूल परिवर्तन गर्नु नै क्रान्ति भनेको पाइन्छ भने कम्यूनिष्टहरुको परिभाषामा क्रान्ति भनेको जुनकुनै पनि सत्तालाई बन्दुक गोला बारुदको बलले हटाएर पुरानो जेसुकै राम्रो नराम्रो मासेर आफ्नो सिद्धान्तको राजसत्ता स्थापित गर्नु नै क्रान्ति हो भनेर सामान्य रुपमा बुझ्ने र बुझाउने गरेको पाइन्छ । तर क्रान्तिको यो परिभाषाले र यसैमा आधारित व्यवहारले संसारमा हत्या हिँसा आतंक मात्रै उब्जेको छ । आज त राज्य भनेको नै शक्तिको केन्द्र हो र शक्ति भनेको नै बन्दुकको नालबाट निस्किन्छ भनेर यो व्यवहारमा विमती राख्नेहरुको उसिछतो काढ्ने गरिन्छ ।

जहाँसम्म क्रान्तिको यो परिभाषा अब कम्तिमा पनि नेपालले मान्नु नपरोस भन्ने कामना मात्रै गर्न खोजिएको हो । क्रान्तिको नाउँमा नेपाल र नेपालीले विगत ७० बर्षमा भोगेको कुनै सुख शान्ति होइन, कुनै समृद्धि होइन, तात्विक रुपमा नेपाली जीवनशैलीमा परिवर्तन भएको छ भने मात्रै उदण्डता अनुशासनहीनता, अनादरको नै भएको छ । घर परिवारहरु बेलगाम भएका छन् । शासनसत्ता विदेशीको अभिष्ट पुरा गर्ने साधन भएका छन् ।

आम नेपालीले पाएको भनेको आफ्नो थाततलोबाट बिस्थापन, आफ्नो धर्म सँस्कृति परम्परा भाषा र सभ्यताबाट बिस्थापन मात्रै हो । पूर्खालाई गाली गरेर आफ्नो मौलिकतालाई गाली गरेर आफ्नो गाउँ र थाततलोलाई दुत्कारेर क्रान्तिको परिभाषा खोजेको सात दशक भै सक्दा पनि नेपाल र नेपालीले आफ्नो जीवन सहज बनाउन खोइ त पाएको ?

आज अधिकारका दिवसका कुरा गरिन्छ तर केहि मनग्य अधिकार पाएकाहरुको झुण्डमा मात्रै । दिवसका कुरा गरिन्छ मात्रै केहि घरानाहरुको हितका लागि । तर शुन्यमा रहेको त्यो किसान, त्यो गाउँ आज पनि शुन्यमा नै बाँच्न बाध्य छ । आज पनि गाउँ मरेर शहर र शहरका केहि घरानाहरुलाई बचाउन आफ्नो आहुति दिँदै छ । कथित क्रान्तिका कथित महानायकहरु त्यहि गाउँको भस्म आफ्नो जिउमा घसेर शहरियाहरुको दलाली गर्दै छन् । अवोध बालकहरु आजपनि अनाहकमा मार्दै छन् अनि भन्दैछन् ‘हाम्रो क्रान्ति जारी छ, श्रमिक दिवस जिन्दाबाद ।’

प्रतिक्रिया